महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्चको तेस्रो सम्मेलन सकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा मन्त्री देउवाले दोधारा चाँदनी सुदूरपश्चिमको मुख्य नाका भएर सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा अघि बढेको बताएका छन् । मन्त्री देउवाले दोधारा चाँदनीको विकासका लागि प्रदेश सरकार सधैं प्रतिवद्ध भएको उल्लेख गरे ।
‘यस ठाउँको विकासका लागि हामी सधैं प्रतिवद्ध छौ, दोधारा चाँदनी सुदूरपश्चिमको प्रमुख नाकाका रुपमा विकास हुँदैछ’ उनले भने,सुख्खा बन्दरगाह बन्दैछ, हाम्रो छिमेकी राष्ट्रले बनाउँदैछ, महाकालीमा चार लेन पुल बन्दैछ’ उनले भने,‘सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा दोधारा चाँदनी अघि बढेको छ ।’
दोधारा चाँदनी सहित कञ्चनपुुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या भएको उल्लेख गर्दै उनले संघ सरकारले बर्सेनी विनियोजन गर्दै आएको बजेटले नियन्त्रण हुन नसकेको बताए ।
‘प्रत्येक वर्ष संघ सरकारले नदी खोला नियन्त्रणका लागि बजेट दिन्छ, त्यसले नियन्त्रण हुन सकेको छैन, त्यो बजेट डुप्लिकेसन भएर आउँछ’ उनले भने । तराई क्षेत्रमा साना खहरे खोलाले पनि बर्सेनी समस्या पार्दै आएको मन्त्री देउवाको भनाई थियो ।
भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने कार्यक्रमका अध्यक्ष एवम दोधारा चाँदनीका मेयर किशोर कुमाल लिम्बुले बताए । चौथो सम्मेलन शुक्लाफाँटाका नगरपालिकामा हुनेछ । मेयर रण बहादुर महराले सम्मेलन गर्ने घोषणा गरेका हुन् ।