
महेन्द्रनगर । शुक्रबार दिउँसो एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा भीमदत्त नगर स्तरीय प्रशिक्षण कार्यक्रम चलि रहँदा एमाले नेता हिरा चन्द(डायमण्ड) कबर्ड हलमा थिए । विद्यार्थीहरुको खेल हेर्न पुगेका उनी निराश देखिन्थे ।
केही छिन कुराकानीपछि कबर्ड हल बाहिर निस्केका उनीसित पार्टी कार्यालयमा चलि रहेको प्रशिक्षणबारे सोध्दा आफू सहभागी हुन नपाएको खुलाए । ‘हो पार्टी कार्यालयमा प्रशिक्षण चलेको छ, म चाहिँ सहभागी हुन सकेन’ उनले भने ।

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी नहुनको कारण सोध्दा उनले केही जवाफ दिएनन् । भने,‘ त्यस्तो केही छैन, सहभागी हुन सकेन ।’
चन्दले अहिले आफूलाई पार्टीगत जिम्मेवारी नभएको र संगठित सदस्य मात्रै भएको बताए । उनी एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन अघि प्रदेश कमिटी सदस्य थिए । प्रदेश अधिवेशनपछि चन्द संगठित सदस्य मात्रै छन् ।
डामयण्ड २०७४ को प्रदेश सभा सदस्य निर्वाचनपछि पटक पटक निराश भएका छन् । यस पटक आफ्नै नगरको प्रशिक्षणमा सहभागी हुन नपाएपछि उनी निराश हुन पुगेका छन् ।
प्रदेश कमिटी सदस्य हुँदा चन्दले पार्टीको प्रशिक्षक प्रशिक्षण लिएका थिए । एमालेले सुदूरपश्चिम प्रदेशका सबै संघीय निर्वाचन क्षेत्रबाट २÷२ जना र तत्कालिन प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई धनगढीमा तीन दिने प्रशिक्षक प्रशिक्षण दिएको थियो । प्रशिक्षणपछि उनीहरु सबैलाई प्रशिक्षणमा खटाइने भनिएको थियो ।
एमाले नेता प्रतिनिधि सभा सदस्य प्रदिप ज्ञवालीले प्रशिक्षण दिएका थिए । एमालेको स्कुल विभागले अहिले सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरि रहेको छ । त्यसमा धनगढी प्रशिक्षणमा सहभागी अधिकाँश नेताहरु प्रशिक्षण भएका छन् ।
तीन दिने प्रशिक्षण लिएर प्रशिक्षक भएका चन्द भने आफ्नै नगरको प्रशिक्षणमा कार्यकर्ताका रुपमा समेत सहभागी हुन नपाएर निराश हुन पुगेका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी हुन नपाएपछि कबर्ड हल पुगेका हुन् ।
भीमदत्त नगरपालिका १० का चन्द एमालेमा बौद्धिक नेताका रुपमा परिचित छन् । शिक्षण व्यवसायमा आवद्ध उनले एमालेको बुद्धिजीवि परिषद् लगायतका संगठनमा जिम्मेवारी वहन गरि सकेका छन् ।
एमालेको सुुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश पदाधिकारीका दावेदार मानिएका उनी अन्तिममा सदस्यमा चुनाव लडेका थिए ।
एमाले कञ्चनपुरका दुई गुटमा उनी पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल समूहका हुन् । एमालेको आठौं जिल्ला अधिवेशनमा चन्द रावल समूहमा खुलेर लागेका थिए ।
एमालेको आगामी जिल्ला अधिवेशनमा रावल समूहबाट चन्द नेतृत्वका दाबेदारका रुपमा हेरिएका छन् । आठौं जिल्ला अधिवेशनका प्रतिस्पर्धी बीर बहादुर थापा प्रदेश सभा सदस्य भएकाले उनी उम्मेदवार हुन पाउने छैनन् ।
एमाले नेता कार्यकर्ताले चन्दलाई जिल्ला नेतृत्वको दाबेदारका रुपमा चर्चा गर्न थालेका छन् । जिल्ला नेतृत्वका दाबेदारका हेरिएका चन्द शुक्रबार पार्टी प्रशिक्षण कार्यक्रममा अनुपस्थित हुन पुगेका छन् ।
चन्द निकट नेताहरुका अनुसार प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि नगर कमिटीले जानकारी नगराएपछि उनी सहभागी हुन नसकेका हुन् । पार्टीले प्रशिक्षण दिएर प्रशिक्षक बनाएका चन्द प्रशिक्षण कार्यक्रममा जानकारी नपाउँदा खिन्न हुन पुगेका छन् ।
अहिले प्रशिक्षण कार्यक्रममा सहभागी हुन नपाएका चन्दलाई यस अघि प्रदेश अधिवेशनमा प्रदेश प्रतिनिधिमा रोक्न प्रयास गरिएको थियो । नेताहरुका अनुसार एमालेको जिल्ला संस्थापनले रावल समूहबाट चन्द बाहेक अन्यलाई प्रतिनिधि बनाउन सकिने अडान लिएको थियो । रावल समूहको प्रतिरोधी अडानले चन्द अन्तिममा मात्रै प्रदेश प्रतिनिधि भएका थिए ।
चन्द २०७४ को स्थानीय तह निर्वाचनपछि एमालेबाट राजकीय पदका लागि आकाँक्षी छन् । २०७४ मा उनले प्रदेश सभा सदस्यमा दावी गरेका थिए । कञ्चनपुर वा पुख्र्यौली जिल्ला बैतडीबाट प्रदेश सभा सदस्यको उम्मेदवार हुने चन्दको आकाँक्षा थियो ।
पाँच वर्षपछि २०७९ मा भएको स्थानीय र प्रदेश सभा सदस्य निर्वाचनमा फेरि चन्द आकाँक्षी देखिए । भीमदत्त नगरपालिकाको मेयरमा अन्तिमसम्म उम्मेदवार हुने आशमा बसेका थिए । त्यसपछि उनी प्रदेश सभा सदस्य निर्वाचनमा पनि उम्मेदवार देखिए ।
भीमदत्तको मेयरमा टिकट नपाएका उनी निर्वाचन क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यमा आकाँक्षी भए । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसित चुनावी तालमेल गरेपछि चन्दको चुनाव लड्ने सपना भङ्ग भएको थियो ।
नेता चन्द आफू निकट कार्यकर्ताहरुसित आफूलाई उम्मेदवार रोक्न प्रदेश सभा सदस्यमा राप्रपासित चुनावी तालमेल गरिएको गुनासो गर्दै आएका छन् । पत्रकारहरुसित भने उनी आफू पार्टीको नेता कार्यकर्ता भएको र पार्टीको नीति अनुसार चल्ने बताउने गरेका छन् ।
जेठ मसान्तसम्म एमालेले जिल्ला अधिवेशन गरि सक्नु पर्ने छ । अहिले एमालेमा जिल्ला अधिवेशनमा लिएर नेता कार्यकर्ताबीच बहस हुन थालेको छ । जिल्ला अधिवेशमा एमालेका दुई गुटबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । दुई गुटको टक्करमा चन्द पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नपाउने अवस्था आएको नेताहरुको भनाई छ ।
दोधारा चाँदनीमा एमाले जिल्ला कमिटी सदस्य दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु दुई दिन अनुपस्थित भएका छन् । नगर प्रशिक्षणको तयारी बैठकमा सहभागी उनी नगर बाहिर नभएर पनि सहभागी नभएका हुन् । लिम्बु पनि पोलिटब्युरो सदस्य रावल समूहका हुन् ।
एमालेको जिल्ला संस्थापनले उनलाई पनि तिकडम गरी प्रदेश अधिवेशन बन्न रोकेको थियो । लिम्बुलाई प्रदेश अधिवेशन प्रतिनिधि बनाउन चुनावी प्रक्रिया रोकेर उम्मेदवार भएका नेताको सहमति गरी प्रतिनिधि बनाइएको थियो ।
दोधारा चाँदनीका मेयर लिम्बुपछि भीमदत्तमा चन्द आफ्नै पार्टी प्रशिक्षणमा सहभागी नभएपछि एमालेका दुई गुटको शक्ति संघर्ष फेरि सतहमा आएको नेताहरु बताउँछन् ।
भीमदत्त र दोधारा चाँदनी दुबै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा पर्छन् । स्थानीय र संसदीय निर्वाचनले यस क्षेत्रमा एमालेको धेरै कमजोर नतिजा हात पारको थियो ।
पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी नभएका नेता चन्दले पनि भीमदत्त र दोधारा चाँदनी दुबै पालिकामा बलियो बनाउनु बाहेकको विकल्प नभएको बताए ।
‘नेताहरुबीच आपशी मनमुटानव र तुष धेरै पालेर पार्टीलाई फाइदा हुँदैन, कमीकजोरी सबै समीक्षा गरी अब पार्टीलाई बलियो बनाएर अघि बढ्यौ भने मात्रै हामी सबै नेताहरुको भविष्य हुन्छ’ उनले भने ।
