नवकिरण बचत तथा ऋण सहकारीको १२ औं बार्षिक साधारण सभा, ८ हजार सदस्य र एक करोड शेयर पूँजी पुगाउने लक्ष्य
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाको शनिवार १२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको साधारण सभाको नगर प्रमुख रण बहादुर महरा र उप प्रमुख कल्पना पन्तले संयुक्त रुपमा उद्घाटन गरेका छन् । साधारण सभामा बोल्दै नगर प्रमुख महराले थोरै समयमा प्रगति गरी सहकारी प्रदेश स्तरको संस्थाको रुपमा परिणत भएको बताए ।
उनले रचनात्मक कार्य गरी सहकारीलाई राष्ट्रिय स्तरको संस्था भएको हेर्न चाहेको बताए । उनले पिछडिएका वर्गलाई एकवद्ध गरेर सहकारीले जीवनस्तर उकास्नमा मद्दत पुरयाएको बताए ।
नगर उप प्रमुख कल्पना पन्तले सहकारीका सदस्यहरुको जीवन स्तर माथि उठाउन सहकारीको महत्वपूर्ण योगदान रहेको बताए । गरीबि हटाउन सहकारीको भूमिका अहम् छ उनले भने, ‘सहज रुपमा कर्जा प्रवाह गर्ने व्यवस्था गरी उत्पादनशिल क्षेत्रमा सहकारीले लगानी गर्नु पर्छ ।
सहकारीका सचिव बालसुग्रीव रानाले वार्षिक प्रगति प्रतिवेदन साधारण सभामा पेश गर्दै गत आबमा १३ करोड ४८ लाख ९४ हजार ७ सय ४० रुपैयाको कारोबार गरेको सहकारीले २ करोड ९१ लाख २ हजार ३ सय ३१ बचत गरेको बताए ।
सहकारीले गत आर्थिक वर्षमा ४ लाख ३ हजार ४ सय ३७ नाफा आर्जन गरेको छ । उनका अनुसार गत आर्थिक वर्ष २०७९÷०० मा रु ६ करोड ८० लाख ८६ हजार ७ सय ऋण लगानी भएको छ । संस्थाको कुल शेयर पूँजी ४४ लाख ८३ हजार ६ सय रहेको छ ।
सहकारीका अध्यक्ष धन बहादुर चौधरीको सभापतित्वमा गरिएको कार्यक्रममा कञ्चन सहकारीका दीपक भट्ट, सृजनशिल सहकारीका केपी पाण्डेय, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि लगायतले सहकारीको सफलताको कामना गरे ।
सहकारीले साधारण सभाका अवसरमा ४ जना शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा बाल बचतकर्तातर्फ एनिसा भट्ट,असल कारोबारी सिमा चौधरी,उत्कृष्ट बचतकर्ता भरत बहादुर विष्ट र ज्येष्ट नागरिक बचतकर्ता तर्फ गोर सिंह बुढा छन् । उनीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ ।
सहकारीका सञ्चालक समिति सदस्य खडक सिंह साउँदले स्वागत मन्तव्य राखे । कार्यक्रमको सञ्चालन सहकारीका प्रवन्धक प्रमुख लक्ष्मी सेठीले गरेकी थिइन् ।
सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जनमा टेवा पुरयाउन छ करोड लगानी सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जनमा टेवा पुरयाउन ६ करोड ८० लाख ८६ हजार सात सय रकम लगानी गरेको छ ।
मुक्त कमैंया, आरक्ष विस्थापीत, दलित, गरिव परिवारलाई संगठित गराई सञ्चालन गरिएको सहकारीले व्यवसायी गर्ने व्यक्तिहरुलाई एक करोड ५२ लाख ७३ हजार दुई सय १५, कृषि सम्बन्धी व्यवसायीक खेती गर्नेलाई दुई करोड २१लाख ३४ हजार एक सय २२, आवास निर्माणका लागि १९ लाख ४० हजार तीन सय रकम लगानी गरेको छ ।
यसैगरी, कुखुरापालका लागि २१ लख १५ हजार २७, बङगुर पालनका लागि २५ लाख १८ हजार ९५०, उच्च शिक्षा पढने विद्यार्थीलाई शैक्षिक कर्जा अन्र्तगत १५ लाख ३० हजार आठ सय ९० र आकस्मिक कर्जा १३ लाख २१ हजार पाँच सय ९२ रकम लगानी गरिएको सहकारीका अध्यक्ष धन बहादुर चौधरीले बताए ।
“कर्जा १४ देखि १६ प्रतिशत व्याज लिने गरी लगानी गरेका छौं” उहाँले भन्नु भयो, “लगानी गरिएको कर्जा मध्ये रु चार करोड ६८ लाख ३४ हजार ९६ रकम असुली गर्न बाँकी छ ।”
सहकारीमा आवद्ध सदस्य अधिकांस विपन्न परिवारका भएकाले व्यवसायीक कार्यमा लगानी गर्नका लागि रकम कर्जाका रुपमा प्रदान गरिएको अध्यक्ष चौधरीले बताए ।
युवा स्वरोजगार कोषबाट सहुलियत दरमा कर्जा लिई सहकारीमा आवद्ध विपन्न परिवारका २५ जना बेरोजगार युवाहरुलाई कर्जा प्रदान गरी स्वरोजगार बनाईएको उनले बताए ।
अझै २७ जना युवाहरुलाई कोष मार्फत स्वरोजगार बनाउका लागि रकम लगानी गर्नका लागि प्रकृया अगाडी बढाईएको उनको भनाई छ । सुदूरपश्चिम प्रदेशको स्वरोजगार कार्यक्रम अन्र्तगत प्राप्त रु ८० लाख कर्जाको रकम ३० जना युवालाई प्रदान गरी स्वरोजगार उन्मुख गराईएको छ ।
सहकारीमा आवद्ध चार हजार तीन सय १५ सदस्य मध्ये दुई हजार बढी सदस्यले ऋण लिएर व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुन थालेको सहकारीका प्रवन्धक लक्ष्मी सेठीले बताइन् ।
उनका अनुसार आब ०७९÷८० मा सहकारीले १३ करोड ४८ लाख ९४ हजार सात सय ४० रकम बचत गरेको छ । दैनिक, मासिक, खुत्रुके, ऐच्छिक, जेष्ठ नागरिक र गृहणी बचत खाता मार्फत उक्त रकम बचत गरिएको छ । बचत गरिएको रकम मध्ये सहकारीमा हाल दुई करोड ९१ लख ८२ हजार तीन सय रकम छ ।
सहकारीलाई व्यवस्थित रुपमा अघि बढाउन पञ्च वर्षिय रणनीति योजना निर्माण गरिएको छ । “योजनामा सहकारीलाई विस्तृत रुपमा विश्लेषण गर्ने कोशिष गरेका छौं” प्रवन्धक सेठीले भनिन्, ‘कर्मचारी र सहकारीका पदाधिकारीले कार्यान्वयनका लागि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै अउनु भएको छ ।”
सहकारीले समुह जमानीका आधारम विना धितो दुई लाखसम्म कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । संस्थाका सदस्यको निधन भएमा किरिया खर्च वापत १० हजार रकम प्रदान गर्दै आएको छ । सहकारीले शेयर सदस्यमा वृद्धि गरी आठ हजार पुरयाउने लक्ष्य लिएको छ । शेयर पूजिँ ८० लाख पुरयाउने लक्ष्य राखेको छ ।