बैजनाथका विद्यार्थीको सोच्नै नसकिने यस्तो प्रेरणादायी सहयोग

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालय(अंग्रेजी माध्यम) को कक्षा ८ मा अध्ययनरत एन्जिला रतौकी कक्षा मोनिटर हुन् । उनी विद्यार्थीलाई अनुशासन बसाउन हरेक दिन सक्रिय हुन्छिन् । कक्षा कोठामा अनुशासन पालना नगर्ने विद्यार्थी जरिवनाको भागिरदार हुन्छन् । एन्जिनाले अनुशासन उल्लङ्घन गर्ने विद्यार्थीबाट जरिवना रकम लिन्छिन् ।

‘कक्षा कोठामा अनुशासन नमान्ने, रफ बोल्ने, नेपाली बोल्ने, ड्रेस नलगाउने, होम वर्क नगर्ने विद्यार्थीबाट जरिवना लिन्छौ’ उनले भनिन्,‘म मोनिटर भएकाले त्यो जरिवाना रकम लिन्छु ।’

एन्जिलाले अंग्रेजी माध्यममा पठनपाठन हुने कक्षा ५ देखि ९ कक्षाका विद्यार्थीहरुलाई अनुशासन पालना गराउन जरिवना लगाइएको बताइन् । उनका अनुशासन नमान्ने विद्यार्थीका लागि ५ देखि २० रुपैँयासम्म जरिवना तोकिएको छ । यस वर्षदेखि बैजनाथ माविले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको हो । एन्जिला पठनपाठन भएपछि कक्षा मोनिटर भएकी हुन् ।

एन्जिलाका अनुसार कक्षा अनुशासन पालना नगर्ने विद्यार्थीबाट हालसम्म ५ हजार एक सय रुपैँया जरिवना संकलन गरिएको छ ।

विद्यार्थीहरुले आइतबार जरिवना रकमबाट शैक्षिक सामाग्री खरिद गरी समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई सहयोग गरेका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहित अनाथालय आएर उनीहरुले आइतबार पुसे पन्ध्रेको अवसर पारी सहयोग हस्तान्तरण गरेका छन् ।

‘आज सबै साथी भाई, शिक्षक सहित यहाँ आएर सहयोग गर्न पाउँदा हामी सबै खुसी छौ’ एन्जिालले भनिन् । उनीहरु विद्यार्थीलाई फलफूल र मिठाई समेत बाँडे ।

समाज कल्याण बाल अनाथलका विद्यार्थीहरु बैजनाथमा अध्ययनरत छन् । अनाथलयमा हाल २२ बालबालिका छन् ।
अनाथालयमा गरिएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत राज कलौनीले विद्यार्थीहरुले अनौठो तरीकाले रकम संकलन गरी अनाथ बालबालिकालाई गरेको सहयोगले आफू निकै प्रभावित भएको बताए ।

‘म त यसरी पनि सहयोग गर्न सकिन्छ होला भनेर सोच्नसम्म सकेको छैन, विद्यार्थीहरुले एकदमै क्रियटिभ काम गरे, बालबालिकाले यस्तै रचनात्मक कार्यमा दिमाग लगाउने हो’ उनले भने,‘यो सहयोगले आजका बालबालिका भविष्यका कर्णधार र केही न केही गर्न सक्छन् भन्ने देखाएको छ, यसका लागि म सबै भाई बहिनीलाई धन्यवाद दिन चाहन्छु ।’

विद्यालयका प्रधानाध्यापक हरिराज विष्टले विद्यार्थीहरुले सहयोग संकलन गरी अनाथ बालबालिकालाई गर्न प्रशंसनीय कार्य भएको बताए ।

विद्यार्थीहरु रकम संकलन गरी कसरी खर्च गर्ने भनेर आफूसित सल्लाह माग्दा आउँदा आश्चर्यमा परेको प्रधानाध्यपाक विष्टले बताए । ‘यो विद्यार्थीहरुले संकलन गरेको रहेछ, अब यो रकमबाट के गरौ भनेर मकहाँ आए, म के गर्ने नगर्ने, कसो गर्ने भनेर एक छिन त आश्चर्यमा परे’ प्रधानाध्यापक विष्टले भने ।

प्रधानाध्यापक विष्टले समाज कल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई अनाथलयमा पढाउन विद्यालयले सहयोग गर्ने बताए ।

‘यो अनाथालय र विद्यालयको पर्खाल जोडिएको छ, यहाँका बालबालिका पनि हाम्रो विद्यार्थी हुन्, यी बालबालिकालाई कोचिङ्ग पढाउन परे विद्यालयले सहयोग गर्छ, त्यसका शिक्षकको व्यवस्था गछौै’ उनले भने ।
विद्यालयका अभिभावक पुस्तक व्यवसायी नवराज भट्टले विद्यार्थीहरुले सहयोग गरी सामाजिक सेवाको सुरुवात भएको बताए ।

अनाथालयका सचिव लवराज भट्ट सहित अधिकारकर्मी भगवती थापा, बैजनाथ माविका संयोजक दिनेशराज भट्ट, लेखा अधिकृत लक्ष्मण दत्त भट्ट लगायतका शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

अनाथालयका सचिव भट्ट र अधिकारकर्मी थापाले विद्यार्थीहरुको सहयोगले अनाथ बालबालिकालाई शिक्षा आर्जनमा सहयोग पुग्ने बताए ।

बैजनाथ माविका लेखा अधिकृत भट्टले कार्यक्रम सञ्चालन गरे । अनाथ बालबालिकालाई कापी, पेन्सिल, डटपेन, इरेजर, फाइल लगायतका सामाग्री सहयोग गरिएका हुन् ।

कञ्चनपुरको सबैभन्दा पूरानो विद्यालय बैजनाथ माविले यस वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन गरेको हो । कक्षा नर्सरीदेखि ९ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । अंग्रेजी माध्यममा तीन सय बढी विद्यार्थी अध्ययनरत छन् ।

 

सम्बन्धित
Loading...