

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित विपीन पेट्रोल पम्पको आँगन जोगाउन ढल सडकको दुबै किनारतिर निर्माणाधिन नालीलाई मोड्ने प्रयास गरिएको छ । भाँसीको जगन्नाथ टोल भएर निर्माण गरिएका नालीलाई पम्प नजिकबाट मोडेर अर्को नालीमा मिलाएर ढल निकास गनए लागिएको छ ।
एशियाली विकास बैंंक(एडिबी) को अनुदान सहयोगमा भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास योजना पूर्व पश्चिम राजमार्ग किनारसम्म ढल सहितको सडक निर्माण अघि बढेको हो । त्यही सडक किनारमा निर्माणाधिन नालीलाई विपिन पेट्रोल पम्प नजिकबाट अर्को साइडको नाली मिसाउने गरी मोड्ने तयारी छ । अहिले नाली मोड्ने स्थानसम्म ढल निर्माण भई रहेको छ ।

सडकको अर्को साइडको नाली स्थानीय केशव भट्टको घर छेउ हुँदै सडक किनारसम्म पुगाइने भएको छ । विपीन पेट्रोल पम्पबाट नाली मोडेर भट्टको घर हुँदै निर्माणाधिन नालीसम्म मिसाउन लागिएको छ । यस अघि स्थानीयले नाली मोडेर बनाउन नहुने भन्दै विरोध गरेपछि रोकिएको थियो । अहिले भट्ट परिवारले सहमति दिएपछि नालीलाई मोडेर अर्कोमा मिसाउने कार्य गरिएको छ ।
स्थानीयका अनुसार भट्ट परिवारले नाली मोड्न् सहमति दिएका छन् । भीमदत्त नगरपालिकाका जनप्रतिनिधिको दबावमा परी भट्ट परिवार नाली मोड्न दिन बाध्य भएको स्थानीय बताउँछन् ।
भीमदत्त नगरपालिकाबाट नक्सापास गरी भट्ट परिवारले बनाएको घर छेउ भएर अर्को साइडमा नाली निर्माण भई रहेको छ । भट्टको उत्तर पूर्वी कुनामा नालीलाई जोडे्ने गरी मोड्ने कार्य हुन लागेको छ ।
घरधनी भट्टले भने नाली मोड्न लागिएकोबारे केही जवाफ दिएनन् । उनले घर अगाडि ढल निकास नहुँदा समस्या परेको बताए । ‘ढल निकास नभएर समस्या छ, ढलको गन्धले बस्न सकिने अवस्था छैन’ उनले भने ।
विपीन पेट्रोल पम्पका सञ्चालकले नाली मोड्न भीमदत्त नगरपालिका ३ का जनप्रतिनिधि, एडिबी र ठेकेदार सबैलाई आफ्नो पक्षमा पारेका छन् ।
उनीहरुको सबैको साथ पाएपछि भट्ट परिवारलाई बाध्य पारेर नाली मोड्ने कार्य अघि बढेको छ । त्यसका लागि केही पम्प सञ्चालकले भट्ट घर अगाडिको ढल बनाउने आश्वासन दिएर नगरपालिका कार्यालयसम्म पुगाएका छन् । पम्पका सञ्चालक तरुण लखेराले भट्टलाई नगरपालिका ल्याएर मेयर पदम बोगटीलाई भेटाएका छन् ।

निर्माणाधिन सडकको नाली नमाडेर निर्माण गरिए पम्पको आँगन हुँदै सडक किनारको ढल निकासम्म पुग्नेछ । नाली मोडेर बनाउन नसकिए पम्पमा इन्धन आपूर्ति गर्ने ढुवानी साधन आउन जान समस्या हुने उनीहरुको भनाई छ ।
ढ्वानी साधनले नाली फुट्न सक्ने भनेर नालीलाई एडिबीका प्राविधिक मोडेर बनाउन लागेको पम्पका सञ्चालक लखेराले बताए । ‘एडिबीका प्राविधिकले भनेर यहाँबाट नाली मोडेर बनाउन लागिएको छ’ उनले भने,‘यसमा हाम्रो केही पनि छैन ।’

नाली मोडेर नबनाउँदा आफूलाई केही समस्या नहुने र पम्पले नाली निर्माणमा अवरोध नगरेको उनले बताए । ‘नाई हामीलाई केही समस्या छैन, हामीले केही भनेका छैनौ, बनाउँदा हुन्छ’ उनले भने ।
निर्माणाधिन नाली मोडिएको केही दुरीबाट सडकको जग्गा आउँछ । अहिले विपीनको अर्को पम्प सरकारी जग्गामा छ । त्यहीं पम्पको नजिक भएको अर्को पम्प हुँदै सिधा आउनु पर्ने नालीलाई मोडेर अर्र्को नालीमा मिसाउन लागिएको छ ।
पम्प मालिकको बलियो आर्थिक हैसियतले नाली मोड्ने कार्यलाई रोक्न सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । ‘डेढ दुई महिनासम्म रोकिएको काम एकाएक कसरी सुरु हुन्छ, यहाँ त जोसित पैसा छ, जे पनि हुने रहेछ भन्ने देखियो’ ती स्थानीयले भने ।
भीमदत्त नगरपालिकाको इन्धन विपीनबाट खरिद हुने भएकाले नगरपालिका विपिनसित कुरा गर्न सक्ने आफूहरुलाई विश्वास नभएको उनीहरु बताउँछन् ।
यसबारे जानकारी लिन भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन सिह धामीलाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन । उनी नाली रोकिएपछि पटक पटक पम्पमा आएको स्थानीय बताउँछन् ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले पम्पमा नाली मोडेर बनाउन लागिएको जानकारी कार्यालयमा नभएको बताए । उनले पम्पसित सडकको जमिन जोडिएकाले समस्या भएर सडकसित समन्वय गरी हल गरिने बताए ।
‘नाली मोडिएको विवाद कार्यालयमा आएको छैन, त्यो पम्पको जग्गा सडकसित जोडिएको छ, केही समस्या भए सडक डिभिजन कार्यालयसित समन्वय गरी हल गर्न सकिन्छ’ उनले भने ।

