महेश्वर मावि सुकासालका हेडसरले बाँड्छन् गरीब र जेहेन्दार विद्यार्थीलाई आफूले पाउने भत्ता

गोमती पाल
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक प्रसाद जोशीलाई जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको छ । विद्यालयका माध्यमिक तह अंग्रेजी विषयका शिक्षक जोशी पाँच वर्षदेखि कार्यरत छन् ।

झण्डै तीन दशक अघि २०५२ मा शिक्षण पेशा थालेका जोशी दार्चुलाबाट सरुवा भएर महेश्वर मावि आएका हुन् । महेश्वर माविमा उनी माध्यमिक तहका एक्ला स्थायी शिक्षक हुन् । विद्यालयका तत्कालिन प्रधानाध्यापक देबेन्द्र बहादुर चन्द अवकाश भएपछि जोशीलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो । विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्म ६ सय ७२ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको शैक्षिक उपलब्धि ५२ दशमलव ६६ भएको प्रधानाध्यापक जोशी बताउँछन् । विद्यालयको ५६ औं वार्षिकोत्सव समारोहमा उनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक उपलब्धि सहित विद्यालयका समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।

भीमदत्त नगरपालिका ६ ऐठपुरका जोशी प्रधानाध्यापक भत्ता आफू खर्च गर्दैनन् । उनी प्रधानाध्यापक भत्ता वापत मासिक पाँच सय रुपैँया पाउँछन् । वर्षभरिको भत्ता रकम ६ हजार रुपैँया उनी विद्यालयका गरीब, जेहेन्दार, उत्कृष्ट विद्यार्थीका लागि खर्च गर्दै आएका हुन् ।

प्रधानाध्यापक भएको पहिलो वर्ष १० जना र यस वर्ष १२ जनालाई सहयोग गरिएको उनी बताउँछन् । उनले विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

प्रधानाध्यापक जोशीले विद्यार्थीहरुलाई हौसलाका लागि सहयोग गरिएको बताए । ‘यो कुनै ठूलो सहयोग होइन, विद्यार्थीलाई हौसला होस भनेर प्रधानाध्यापक भत्ताको रकमबाट केही समान किनेर सहयोग गर्छु’ उनले भने ।

विद्यालयमा २० जना शिक्षक कर्मचारी छन् । विद्यालयका सह प्रधानाध्यापक हर्क बहादुर चन्दलेृ प्रधानाध्यापक जोशीको सहयोग सराहनीय भएको बताए । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहायक प्रधानाध्यापक चन्दले प्रधानाध्यापक जोशीले भत्ता रकम विद्यार्थीलाई सहयोग गर्दै आएको जानकारी गराएका थिए ।

सहायक प्रधानाध्यापक चन्दले वार्षिकोत्सव कार्यक्रम सञ्चालन गरेका थिए । प्रधानाध्यापक जोशीले विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकता दिएर अघि बढेको बताए । विद्यालयले यस शैक्षिक सत्रदेखि कक्षा १ मा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ । प्रधानाध्यापक जोशीले आगामी शैक्षिक सत्रदेखि अन्य कक्षामा पनि अंग्रेजी माध्यममा पठनपाठन गरिने बताए ।

विद्यालयमा सबैभन्दा बढी शिशु कक्षा बालबालिका अध्ययनरत छन् । विद्यालयले वार्षिकोत्सव सुमारोहमा सार्वजनिक प्रतिवेदन अनुसार शिशु कक्षामा ८४ बालबालिका अध्ययनरत छन् ।

कक्षा १ मा ४४m २ मा ४४, ३ मा ५८, ४ मा ६७, ५ मा ६४, ६ मा ५२, ७ मा ७४, ८ मा ७५, ९ मा ५० र १० मा ६० विद्यार्थी अध्ययनरत छन् । माध्यमिक तहमा प्रधानाध्यापक जोशी मात्रै स्थायी शिक्षक छन् । विद्यालका प्रावि र निमावि तहका शिक्षकले माध्यमिक तहमा पढाउँदै आएका छन् । प्रावि र निमावि तहमा दरबन्दी अनुसार शिक्षक छन् ।

माध्यमिक तहमा पढाउने शिक्षकलाई वार्षिकोत्सवमा कार्यक्रममा सम्मान गरिएको थियो । प्रधानाध्यापक जोशीले निजी स्रोतका शिक्षक व्यवस्थापन, सिसिटीभी क्यामेरा जडान, जस्तापाता भएका पूराना भवनको सट्टा नयाँ भवन बनाउनु पर्ने आवश्यकता भएको बताए ।

सम्बन्धित
Loading...