
महेन्द्रनगर । नेकपा एमालेले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष एबम् जिल्ला कमिटी सदस्य रबिन्द्र प्रसाद देवकोटामाथि कुटपिटमा संलग्न सबै नेता कायकर्ताको कारवाही फुकुवा गरेको छ । गत साउन अन्तिम साता राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा एमाले पार्टी कार्यालयमा वडा अध्यक्ष देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट गरिएको थियो ।
युवा संघका अधिवेशनमा निर्वाचन समितिका सदस्य देवकोटामाथि कुटपिट भएपछि एमाले कञ्चनपुरको सचिवालय सदस्यले जिल्ला कमिटी सदस्य सहित युवा संघका नेतालाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो ।
एमाले केन्द्रीय कमिटीले कारवाहीको गरिएको पाँच महिनापछि उनीहरु सबैको निलम्बन फुकुवा गरेको हो । उनीहरुलाई उचित जिम्मेवारी दिन एमाले कञ्चनपुरलाई निर्देशन सहित पत्र आएको छ ।
एमाले जिल्ला कमिटीका सदस्यद्वय कमल रोकाया र केशव चन्द सहित ल राधाकृष्ण जोशी, रमेश भट्ट, राष्ट्रिय युवा संघका रोहित कुँबर, नविन चन्द, र प्रविन बोगटीलाई सदस्यता समेत नरहने गरी पार्टीबाट कारवाही गरिएको थयो । कारवाही फुकुवापछि एमाले जिल्ला कमिटी सदस्य रोकाया एमाले अखिलको सुदूरपश्चिम प्रदेश सचिव भएका छन् । एमालेले पुस तेस्रो साता उनीहरुको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
एमाले कञ्चनपुरका एक नेताले पार्टी केन्द्रीय कार्यालयबाट कारवाही गरिएका सबै नेता कार्यकर्ताको निलम्बन फुकुवा गरिएको निर्णय सहितको पत्र आएको बताए । एमाले केन्द्रीय कमिटीले गरेको कारवाही फुकुवाप्रति वडा अध्यक्ष देवकोटाले असन्तुष्टि राखेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेर असन्तुष्टि राखेको नेताहरु बताउँछन् ।
अध्यक्ष ओलीले वडा अध्यक्ष देवकोटालाई पार्टीमा अन्तर संघर्ष हुने र नेता कार्यकर्ताबीच लामो समय तिक्तता राख्न राम्रो नहुने भनेर सुझाव दिएको नेताहरुको बताउँछन् । वडा अध्यक्ष देवकोटाले कारवाही फुकुवाप्रति औपचारिक रुपमा भने असन्तुष्टि पोखेको छैनन् ।
एमालेले कारवाही फुकुवा गरेका ८ जना विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा विचाराधिन छ । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई जनही ५०÷५० हजार धरौटीमा छाडेको थियो ।
वडा अध्यक्ष देवकोटामाथि कुटपिटपछि राष्ट्रिय युवा संघले पनि संघका चार नेतालाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको थियो ।
युवा संघका महासचिव सुमन पुरीले विज्ञप्ति सार्वजनिक गरी केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई साधारण सदस्य समेत नहरने गरी कारवाही गरिएको सार्वजनिक गरेका थिए ।
एमाले पोलिटब्युरो सदस्य एबम् युवा संघका इन्चार्ज महेश बस्नेतले साउन २६ गते अधिवेशन उद्घाटन गरेपछि साँझदेखि सुरु बन्द सत्रमा संघका दुई समूहबीच विवाद भएको थियो । दुई समूहबीच विवाद बढेर अर्को दिन मतदान कार्यक्रम बनाउने क्रममा पार्टी कार्यालयमा वडा अध्यक्ष देबकोटालाई मरणासन्न हुने गरी कुटपिट गरिएको थियो ।
वडा अध्यक्ष देवकोटामाथि कुटपिटपछि संघका इन्चार्ज महेश वस्नेत सहित एमाले नेता कार्यकर्ताको टोली भारतको नैनिता भ्रमणमा निस्केको थियो । एमाले अध्यक्ष ओलीको ग्रिन सिग्नलपछि कुटपिटमा संलग्न नेता कार्यकर्तालाई कारवाही गरिएको थियो ।
एमालेले उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा समिति गठन गरी कुटपिट घट्नाको छानबिन गरेको थियो । समितिले महेन्द्रनगर आएर घट्ना सम्बन्धि एमाले नेता कार्यकर्तासित बयान लिएको थियो ।
