महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आफ्नो ४६ औं वर्ष पाँचौ स्थापना दिवस मनाएको छ । भीमदत्त नगरपालिका कार्यक्रम गरी विभिन्न क्षेत्रका व्यक्तित्वलाई पुरस्कार वितरण, सम्मान, शुभ कामना मन्तव्य लगायतका कार्यक्रम स्थापना दिवसमा गरिएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा उप मेयर निलम लेखक जोशी सहित जनप्रतिनिधि, कर्मचारी सहभागी भएका छन् ।
कार्यक्रममा विभिन्न १४ बिधामा पुरस्कार वितरण गरिएको छ । उनीहरुमा पत्रकार लक्ष्मी जोशीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, समाजसेवी कल्पना केसीलाई सहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, किसान जगन्नाथ रानालाई सहिद भीमदत्त पन्त किसान पुरस्कर प्रदान गरिएको छ ।
यसैगरी समाजसेवी भवानीदत्त जोशीलाई सहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार र कलाकार लालबहादुर धामी (अछामी बड्डा)लाई पहलमान सिंह स्वाँर साहित्य पुरस्कार प्रदान गरिएको छ ।
खेलाडी आकाश सैजुवाललाई बाकावीर खेलकुद पुरस्कार, पूर्व शिक्षक नरेन्द्र भण्डारीलाई द्वारिकादेवी ठगुरानी शिक्षा पुरस्कार, सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन ई. किसनदत्त भट्टलाई विज्ञान प्रविधि पुरस्कार, समाजसेवी रवीन्द्र सुनारलाई असहाय सेवा पुरस्कार, धूम्रपान निषेधका अभियन्ता मदन चन्दलाई वातावरण संरक्षण पुरस्कार र व्यवसायी जयप्रकाश अग्रवाललाई उत्कृष्ट करदाता पुरस्कार प्रदान गरिएको छ ।
भीमदत्तले विद्यार्थी ललित सार्कीलाई एनडी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समूहलाई प्रेमसिंह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा भीमदत्तका पूर्व कर्मचारी गोरख बहादुर सिंह र खरिदार चेतराम पनेरूलाई सम्मान गरिएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा वडा निर्वाचित खड्काको पुस २६ गते मृत्यु भएको थियो । उनी भीमदत्त नगरपालिकाका नगर प्रवक्ता थिए । कार्यक्रममा सहभागीहरुका अनुसार स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली समेत अर्पण नगरी कार्यक्रम समापन गरिएको थियो ।