

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवा ललित सार्कीले कमजोर आर्थिक अवस्थाका कारण घरमा पढेर चिकित्सा शास्त्र संकाय(एमबीबीएस) अध्ययनका लापग प्रवेश परीक्षा पास गरेका छन् । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रत्तृत्तिमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका हुन् ।



प्रवेश परीक्षा उत्तीर्णपछि उनी आर्थिक अवस्थाका कारण काठमाडौं जान सकेका छैनन् । भीमदत्त नगरपालिकाले आइतबार स्थापना दिवसमा पुरस्कृत गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । नगरपालिकामा पुरस्कृत भएपछि उनी सम्बन्धि समाचार बाहिर आएपछि अहिले उनी सबैको नजरमा परेका छन् ।

दलित समुदायका अगुवाले मंगलबार उनलाई खुला मञ्चमा बोलाएर सहयोगका लागि छलफल गरेका छन् । उनीहरुले छलफलपछि विद्यार्थी सार्की सहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सहयोगको आग्रह गरेका छन् ।
दलित समुदायका अगुवासित उनले आर्थिक अभावले आफ्नो डाक्टर बन्ने सपना अधुरै हुने चिन्ता भएको सुनाए ।
