
महेन्द्रनगर । जिल्ला समन्वय समितिले स्वास्थ्यकर्मी विरेन्द्र प्रसाद तिवारी नेतृत्वको समितिलाई ह्वाइट हाउसमा सरसफाई गर्न रोक लगाएको छ । समितिले ह्वाइट हाउसको प्रवेशद्वारमा तालाबन्दी गरी सरफाई गर्न रोक लगाएको हो ।
समन्वय समिति मातहतको ह्वाइट हाउस दुई दशकदेखि वेवारिशे बनेपछि तिवारीले सरसफाई समिति गठन गरी माघ १ गतेदेखि शनिबार सरसफाई गर्दै आएका थिए । तिवारीको सरसफाई अभियानलाई विभिन्न क्षेत्रका व्यक्तिले साथ दिएको थियो ।
अघिल्लो शनिबार प्राध्यापक सहित बुद्धिजीवि र समन्वय प्रमुख दुर्गादत्त बोहरा लगायतसित ह्वाइट हाउसमा छलफल गरिएको थियो ।
छलफलमा उनीहरुले समन्वय प्रमुख बोहरालाई ह्वाइट हाउस मर्मत सम्भार गरी संग्राहलय वा पुस्तकालयका रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए । समन्वय प्रमुख बोहराले भने ह्वाइट हाउस भत्काएर नयाँ बनाउने कार्य थालिएको जानकारी दिएका थिए ।
समन्वय प्रमुख बोहरासितको त्यही छलफलपछि ह्वाइ हाउसको प्रवेशद्वारमा ताला लगाइएको छ । माघ १ गतेदेखि सरसफाई अभियान सुरु हुन अघिसम्म भने प्रवेशद्वार सबैका लागि खुला थियो ।
शनिबार तिवारी लगायतका विभिन्न क्षेत्रका व्यक्ति बाहिर छलफल गरी फर्किएका छन् । समन्वय समितिले शनिबार भवन निर्माण स्थल भनेर ह्वाइट हाउसमा पेन्टिङ्ग गराएको छ । त्यस अघि सुरक्षाकर्मीले सरसफाई गरेको तिवारीले बताए ।
सरसफाई अभियानका संयोजक तिवारीले समन्वय समितिले आफैले सरसफाई गर्ने भनेर ह्वाइट हाउसमा ताला लगाएको जानकारी आएको बताए ।
‘हामीले नागरिक स्तरबाट स्वस्फूर्त रुपमा सरसफाई गरि रहेका थियौ, अहिले समन्वयले आफैं गर्छु भनेपछि धन्यवाद दियौ’ उनले भने । सरसफाई अघि तिवारी र अर्का सुरेश विष्टले प्रवेशद्वारमा भरिएको माटो हटाएर भित्र जान सक्ने बताएका थिए ।
वेवारिशे ह्वाइट हाउसमा अश्लिन गतिविधि र लागु औषध प्रयोगकर्ताको अखडा बनेपछि नागरिक स्तरबाट सरसफाई गरी संरक्षण थालिएको तिवारीले बताए ।
