महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रका २२ सटर फागुन पहिलो साता हटाउने भएको छ । दुई वर्ष अघि एडिबी सहयोगमा निर्माणाधिन सडक क्षेत्रमा सटर परेपछि भत्काउने प्रक्रिया सुरु गरिएको थियो ।
भीमदत्त नगर विकास समितिमा मातहतका ती सटर भत्काउन नसकेपछि सडक निर्माण कार्य अवरुद्ध भएको छ । व्यवसायीहरुले नगरपालिकालाई सटर भत्काउन दबाव दिँदै आएका छन् । भीमदत्त नगरपालिका नगर प्रवक्ता पदम अवस्थीले मंगलबार फागुन पहिलो साता ती सटर भत्काइने बताए ।
‘२२ सटर टुट्ने प्रक्रियामा अन्तिम चरणमा छ, चाँडो भन्दा चाँडो हुन्छ, यो फाइनल हो’ उनले भने,‘फागुन पहिलो हप्ता टुट्छ ।’
नगर प्रवक्ता अवस्थीले मंगलबार पत्रकारहरुसित परिचयात्मक कार्यक्रम राखेका थिए । उनले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिइएको बताए ।
‘विगत भन्दा केही न केही फरक पाउनु हुन्छ, सेवा प्रवाहमा केही न केही फरक ल्याउँछौ’ नगर प्रवक्ता अवस्थीले भने,‘भीमदत्तका जनप्रतिनिधि, कर्मचारी सबैलाई सेवाग्राही सन्तुष्ट हुने गरी मुस्कान सहितको सेवा दिन निर्देशन दिइएको छ ।’
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले अवस्थीलाई नयाँ प्रवक्ता नियुक्त गरेका हुन् । उनी भीनपा ५ का वडा अध्यक्ष हुन् । गत महिना नगर प्रवक्ता महेन्द्र खड्काको निधन भएको थियो ।
कार्यक्रममा अवस्थीले स्वर्गिय खड्काको कार्यकालमा भएका अधुरा सबै कामलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले नगरपालिका र मिडियाबीच आपशी सम्बन्धलाई सधैं बलियो बनाउने लाग्ने बताए ।