

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गर्ने रोग शुक्लाफाँटा नगरपालिकासम्म पुगेको छ । यस अघि शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई टिकाउने स्थानीय तहको परिचय बनाएको थियो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा सफाई पाएका उप सचिव खेमराज विष्टलाई प्रमुख प्रशासकीय अधिकृत बनाएको हो । शुक्लाफाँटाका मेयर रण बहादुर महराले सोमबार विष्टलाई कार्यालयमा स्वागत गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रमुख प्रशासकीय अधिकृत विष्ट भ्रष्टाचार मुद्दामा मुछिएका थिए । विशेष अदालतले सफाई दिएपछि उनी शुक्लाफाँटाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन् ।
शुक्लाफाँटाको अघिल्लो कार्यकालमा मेयर दिल बहादुर ऐरको कार्यकालदेखि कार्यालयमा शिक्षा शाखाका उप सचिव टिकेन्द्रराज भट्ट प्रमुख प्रशासकीय अधिकृत थिए । शुक्लाफाँटाले प्रमुख प्रशासकीय अधिकृत भट्टलाई हटाएर विष्टलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याएको हो ।
शुक्लाफाँटाका नयाँ प्रमुख प्रशासकीय अधिकृत विष्ट कार्यालयमा हाजिर भएपछि आलोचनामा परेका छन । शुक्लाफाँटाका नगर प्रवक्ता लाल बहादुर ऐरले उनीसित असन्तुष्टि पोख्दै कसैसित हात नमिलाउने खोटो कर्मचारी आएको भन्दै आलोचना गरेका छन् ।
शुक्लाफाँटामा मेयर महरालाई प्रमुख प्रशासकीय अधिकृत भट्टलाई हटाउन वडा अध्यक्षले सुरुदेखि दबाव दिँदै आएका थिए । पछिल्लो सयम मेयर महरा नजिकका केहीले भट्टलाई हटाउन निरन्तर दबाव दिएका थिए । उनीहरुमध्ये केहीले भट्टलाई प्रमुख प्रशासकीय अधिकृत भट्टलाई चौतर्फी दबाव बढाउन थालेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रका केही नेताहरुले उनीहरुलाई सहयोग गरेका थिए । माओवादी केन्द्रका एक नेताले मेयर महरा नजिकका एक जनाले पिपलाडी स्वास्थ्य चौकीका चिकित्सक नियुक्ति प्रकरणमा आफूसित प्रमुख प्रशासकीय अधिकृत भट्ट विरुद्ध विज्ञप्ति निकाल्न आग्रह गरेको बताएका छन् ।

शुक्लाफाँटाका नगर प्रवक्ता ऐरले भने आफूले आवेगमा आएर फेसबुकमा स्टेटश लेखेको र हाकिम हेरफेरमा कार्यालयको कुनै भूमिका नभएको बताए । ‘यो मन्त्रालयले नै पठाएको हो, यसमा नगरपालिका कार्यालयका कुनै भूमिका छैन’ उनले भने ।
शुक्लाफाँटामा पनि नयाँ हाकिम आएपछि कञ्चनपुरमा हाकिम हेरेफेर गर्ने स्थानीय तह चार पुगेको छ । बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा सबैभन्दा बढी हाकिम हेरेफेर भएका छन् । अहिले कृष्णपुर नगरपालिका र शुक्लाफाँटा त्यसमा थपिएका छन् ।
बेलौरी र कृष्णपुरमा हाकिम बनाउन प्रशासन र शिक्षा सेवाका कर्मचारी नभएपछि पुश सेवाका प्राविधिकले प्रमुख प्रशासकीय अधिकृत भएर कार्यालय सञ्चालन गरि रहेका छन् ।
कृष्णपुरले पशु सेवाका प्राविधिकलाई प्रमुख प्रशाकीय अधिकृत बनाएपछि मेयर हेमराज ओझा चौतर्फी आलोचनामा परेका छन् । कृष्णपुरका कार्यपालिका सदस्यले मेयर ओझाको आलोचनामा उत्रिएका छन् ।
बेलौरीका मेयर चौधरी प्रमुख प्रशासकीय अधिकृत टिक्न नदिनेमा सबैभन्दा अगाडि छन् । बेलौरी नगरपालिकाकामा चौधरीको दुई कार्यकालमा पशु सेवाका प्राविधिक सबैभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत भएर टिकेका छन् ।
बेलौरीमा प्रशासन सेवाका उप सचिव र अधिकृत टिक्न नसकेपछि प्रशासकीय अधिकृतलाई हाकिम बनाएर कार्यालय सञ्चालन गरिएको थियो । प्रशासकीय अधिकृत पनि सरुवा भएपछि पशु प्राविधिकलाई हाकिम बनाइएको हो ।
लालझाडी गाउँपालिकामा बेलौरीपछि सबैभन्दा बढी हाकिम फेरिएका छन् । लालझाडीमा यस अघिका हाकिम तीन महिनामै सरुवा भएका थिए ।
बेलडाँडी गाउँपालिकामा अहिलेसम्म प्रशासन सेवाका अधिकृतले कार्यालय सञ्चालन गरेका छन् । यस अघिका हाकिम दुई महिनामा फेरिएका थिए । उनी आफ्नो इच्छाले गाउँपालिकाबाट फर्किएका थिए ।
स्थानीय तहको राजनीतिक नेतृत्वले गैर कानुनी कामका लागि दिएका दबाव अस्वीकार भएपछि प्रमुख प्रशासकीय अधिकृत हेरेफेर हुने गरेको स्थानीय सरकारका जानकारहरु बताउँछन् ।
