
महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार र एमाले नेता कर्ण बहादुर चन्दको सार्वजनिक कार्यक्रममा प्रशंसा गरेका छन् । दोधारा चाँदनीका पूर्व मन्त्री सुनारलाई लेखकले राजा भनेर प्रशंसा गरेका छन् ।
महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथि साँसद लेखकले आफ्नो मन्तव्यको क्रममा सुनार चन्दको नाम लिएर प्रशासन गरेका छन् ।
‘डा. दिपकले पनि कुरा उठाउनु भो , मान बहादुर राजा यही हुनु हुन्छ, कर्ण बहादुर चन्द, वहाँलाई म सानैदेखि चिन्छु, वहाँको कुरा आलोचनात्मक चेतले भरिएको हुन्छ’ उनले भने ।
लेखकको मन्तव्य अघि बोलेका सुनार चन्दले महाकाली नदीमा निर्माणाधिन चार लेन पुल, सुख्खा बन्दरगाह, मझगाउँ विमानस्थल, महाकाली कोरिडोर लगायतका विकास निर्माणका कार्यका लागि साँसद लेखकको ध्यानाकर्षण गराएका थिए ।
एमाले कञ्चनपुरका उप सचिव चन्दले एडिबी अनुदानको क्षेत्रीय सहरी विकास निर्माणका काम अपेक्षित गतिमा बढ्न नसकेको उल्लेख गर्दै त्यसका लागि पनि लेखकको ध्यानाकर्षण गराएका थिए ।
पूर्व राज्यमन्त्री सुनारले महाकाली बहुप्राविधिक शिक्षालयमा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा कर्मचारी एबम् शिक्षालयका पूर्व संयोजक पंकज रावल, आफू र त्यसपछि सुरेन्द्र विष्टको पहल भएको उल्लेख गर्दै सबैको साथ सहयोग भएको उल्लेख गरेका थिए । त्यस अघि नेकपा माओवादी केन्द्रको प्रतिनिधि भएर बोलेको रावलले शिक्षालय उद्देश्य अनुसार सञ्चालन हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।
पूर्व राज्यमन्त्री सुनारले रावलको भनाईलाई समर्थन गर्दै मन्तव्य सुरु गरेका थिए । भीमदत्त नगरपालिकाका तत्कालिन मेयर विष्टले आफ्नो कार्यकालमा शिक्षालय स्थापना गरेका थिए । शिक्षालय स्थापना भएपछि रावल शिक्षालय संयोजक भएका थिए ।
उनले शुक्रबार शिक्षालयको वार्षिकोत्सव समारोहमा माओवादी केन्द्रको प्रतिनिधि भएर मन्तव्य राखेका छन् । उनले माओवादी केन्द्र र काँग्रेसले शिक्षालय स्थापना गरेको कार्यक्रममा उल्लेख गरे । त्यसपछि बोलेको पूर्व राज्यमन्त्री सुनारले शिक्षालय स्थापनामा सबैभन्दा बढी भूमिका रावल र आफ्नो र त्यसपछि मात्रै विष्टको भएको आशय सहितको मन्तव्य राखे ।
वार्षिकोत्सव समारोहमा भीमदत्तका निवर्तमान मेयर विष्ट अनुपस्थित थिए । काँग्रेस संसदीय दलका लेखकले एमाले नेता चन्दले एडिबी कार्यक्रम सम्बन्धि उठाएको प्रशंगलाई समेत उल्लेख गर्दै भीमदत्तमा ९० प्रतिशत भन्दा बढी काम भएको उल्लेख गरे ।
