महाकालीमा अवैध उत्खनन हुँदा समन्वय समिति दुई वर्ष चुपचाप, ठेक्का लागेपछि दुई महिनामै दलबल सहित अनुगमन
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अघिल्लो वर्ष अवैध रुपमा महाकाली नदीको रोयल्टी संकलन गर्दा चुपचाप बसेको जिल्ला समन्वय समितिले यस वर्ष ठेक्का भएपछि दलबल सहित अनुगमन गरेको छ । यस अघि दुई वर्षसम्म महाकाली नदीमा आइआई वा इआए नगरी नदीजन्य पदार्थको उत्खनन गरी रोयल्टी संकलन गर्दा जिल्ला समन्वय समिति चुपचाप बसेको थियो ।
जिल्ला समन्वय समितिलाई नदीजन्य वस्तुको उत्खनन तथा संकलनको अनुगमन गर्ने अधिकार छ । २०७९ को स्थानीय तह निर्वाचनपछि भीमदत्तले कानुनी प्रक्रिया विपरित अमानतमा महाकाली सहित विभिन्न नदीलाबाट रोयल्टी संकलन गरेको थियो । गत आर्थिक वर्ष एक करोड १८ लाख रोयल्टी संकलन भएको थियो ।
भीमदत्त नगरपालिकाले यस वर्ष पनि अमानतमा रोयल्टी संकलन गर्ने तयारी अन्तिम अवस्थामा आएर रोकिएको थियो । भीमदत्त नगरपालिका कार्यपालिका सदस्यले विरोध गरेपछि दुई महिना अघि मात्रै रोयल्टी ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता भएपछि समन्वय प्रमुख दुर्गादत्त बोहराले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहित उप मेयर निलम लेखक जोशी, दोधारा चाँदनीका उप मेयर गंगा जोशी, प्रमुख जिल्ला अधिकारी सहितललाई महाकाली नदी अनुगमन गराएका हुन् ।
बोहरा नेतृत्वमा समितिले महाकाली नदीको भुजेलाघाट, ऐरिघाट, पिपरिया लगायतको क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा रोयल्टी संकलन गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि पनि उनीहरुसंगै देखिएका छन् ।
समन्वय प्रमुख बोहराले महाकालीबाट नदीजन्य पदार्थको उत्खनन् एवम् संकलन गर्दा नदी किनारका बस्ती, भौतिक संरचनामा असर नपर्ने गरेर, महाकाली नदीमा निर्माणाधिन पुलको माथि उत्तरपट्टि ५ सय मिटर तथा पुलको दक्षिण पट्टि १ किलोमिटर टाढाबाट मापदण्ड अनुसार नदिजन्य पदार्थ संकलन तथा उत्खन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको अनुगमनमा सहभागीले बताए ।
केही दिनदेखि स्थानीयले महाकाली नदीमा मापदण्ड मिचेर उत्खन्न भएकाले गुनासो गर्दै आएका थिए । भीमदत्त र दोधरा चाँदनी नगरपालिकाले यस वर्ष महाकाली नदीको ढुङ्गा, गिट्टी, बालुवा तथा ग्राभेलका लागि काठमाण्डौको टाईगर सगरमाथा जेभिसित भ्याट रकम सहित ७ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको छ । भीमदत्त र दोधारा चाँदनीबीच क्रमशः ५६ र ४६ प्रतिशत रोयल्टी बाँडफाँटको सम्झौता भएको छ ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उपप्रमुख तथा अनुगमन संयोजक निलम लेखक जोशी, दोधरा चाँदनि नगरपालिकाका उपप्रमुख तथा अनुगमन संयोजक गंगा जोशी, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बम, दोधरा चाँदनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, भमीदत्त नगरपालिकाका नगर प्रबक्ता पदमराज अवस्थी, बडा नम्बर १२ का वडा अध्यक्ष भुपेन्द्र रावल लगायत सहभागी भए ।