
पञ्चकृत बैजनाथ माविको वार्षिकोत्सवमा मदन पुरस्कार विजेता साउँदलाई सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित पञ्चकृत बैजनाथ माध्यमिक विद्यालयले मदन पुरस्कार विजेता कृषि प्राविधिक नर बहादुर साउँदलाई सम्मान गरेको छ । विद्यालयको ४१ औं वार्षिकोत्सवको अवसरमा साउँदलाई सम्मान गरिएको छ । साउँद कार्यक्रममा सहभागी हुन नसकेपछि घरमा गएर उनलाई सम्मान गरिने भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोबिन्द सिह पुजाराले साउँदलाई सम्मान ग्रहणका लागि आमन्त्रण गरेका थिए । उनी कार्यक्रम अनुपस्थित भएपछि प्रधानाध्यापक पुजाराले साउँदको घरमा गएर सम्मान प्रदान गरिने बताएका हुन् ।

भीमदत्त नगरपालिका २ उल्टाखामका साउँदले नेपालका बालीनाली र तिनको दिगो खेती पुस्तकका लागि २०६७ मा मदन पुरस्कार २०६६ पाएका थिए ।
विद्यालयले बिहीबार अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तितलाई सम्मान गरेको छ । मदन पुरस्कार विजेता साउँदलाई अन्यबाट सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोसी साउँद ऐरीले मदन पुरस्कार विजेता साउँद देशका लागि प्रेरणा भएकाले सम्मान गरिएको बताइन् ।
बैतडीको रिममा २०१९ जन्मिएका साउँद सरकारी सेवामा भएका बेला सवारी दुर्घटनामा परेका थिए । त्यसपछि शारीरिक रुपमा अशक्त भएका उनले घरमा बसेर किताब लेखेका थिए ।
