कैलाली एमालेको नेतृत्वका लागि नेतै पिच्छे आकाँक्षी

महेन्द्रनगर । नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीन जना आकाँक्षी देखिएका छन् । अध्यक्षका लागि उनीहरुले इच्छापत्र पेश गरी आकाँक्षा राखेका हुन् । अध्यक्षका लागि कार्य वाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना आकाँक्षी छन् ।

अध्यक्ष सहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका छन्। उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा राख्दै इच्छापत्र दर्ता गराएका छन् ।

एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन् ।

आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेताले लबिङ गरेका हुन्। केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन् । साथै भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन् ।

त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन् । उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् ।

सम्बन्धित
Loading...