
डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर क्षेत्र तथा राजमार्ग किनारमा फोहरका कारण सर्वसाधारणले हैरानी व्यहोर्न परेको छ ।
दैनिक ठुलो मात्रामा निस्कने फोहर स्थानिय तथा बजारका वासिन्दाले जथाभावी फाल्दा यसले विकराल समस्या लिने देखिएको छ । फोहरका कारण मानव स्वास्थ्यमा हुने समस्या र यसले पर्यटन लगायतका क्षेत्रमा समेत नकारात्मक असर पर्ने हुदा जनचेतनाका लागी प्रजातन्त्र दिवसको अवसर पारेर महेन्द्रनगरमा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।
भीमदत्त नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, विभिन्न गैर सरकारी संस्थाहरु लगायतको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
सरसफाई गर्ने सरकारको मात्रै जिम्मेवारी नभएको र सबै स्थानियले पनि लाग्नु पर्ने बताउँदै नगरपालिका क्षेत्र भएर बग्ने विभिन्न खोला नालामा स्थानीयले बढी फोहर फ्याक्ने गरेको पाईएका हुनाले पालिका र समन्वयले अब उपरान्त कडा रुपमा प्रस्तुत भएर काम गर्ने र सबैको नैतिक जिम्मेवारी भएकाले नगरवासी सम्पूर्ण पनि सरसफाई गर्ने अभियानलाई निरन्तर साथ दिनुपर्ने जिल्ला समन्वय समिति अध्यक्ष दुर्गा दत्त बोहराले बताए ।
अहिले सडकमा प्लाष्टिक जन्य बढी फोहरहरु रहेको र त्यसलाई उचित व्यवस्थापन गर्न नसक्दा समुदायमानै विभिन्न समस्या आउने देखिन्छ ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले भीमदत्त नगरपालिकाले सडकमा नालामा फोहर फाल्ने स्थानिय व्यापारीहरु सबैलाई निगरानीमा राखेर कडा भन्दा कडा कारवाही गरिने बताईन् । जनस्वास्थ्यसंग प्रत्यक्ष जोडियो यो विषयलाई लागु गर्नका लागी सबैले आआफनो क्षेत्रबाट समुदायमा फोहर गर्नु हुँदैन सरसफाई गरौ भनेर आफनो दायित्व वोध गर्न आग्रह गरिन् ।
महेन्द्रनगरमा मात्रै दैनिक ९ टन फोहर जम्मा हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले चेतनाको विकास गर्न र आफनो वरपर मात्रै पनि सरसफाई गरियो भनेपनि सरसफाई देखिने फोहर हराउँदै जाने जनमानसमा सकारात्मक सन्देश दिनका लागी यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने र जिल्लाका सवै पालिकाले पनि कडाईका साथमा राम्रो गर्नेलाई पुरस्कार दिने र फोहरमैला गर्ने लाई दण्ड सजायको व्यवस्था स्थानिय निकाय सञ्चालन ऐनमा राखिनुपर्नेमा जोड दिएका छन ।
स्थानियहरुले आफुले प्रयोग गर्ने चिजबस्तु वाट दैनिक जसो निस्कने फोहर अस्त व्यस्त रुपमा फालिदिदा जनस्वस्थ्यमा गम्भिर असर पर्ने भएकाले मानव स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले पनि कडा रुपमा प्रस्तुत हुने समय आएको भीमदत्त नगर प्रवक्ता पदमराज अवस्थीले बताए ।
पर्यटन व्यवसायी परमानन्द भण्डारीले सडकको छेउछाउमा बसेका व्यवसायीहरुले पनि आफनो दायित्व नभुलेर फोहरलाई जथाभावी नफाली आफनो वरपर मात्रै पनि सरसफाई गरियो भने फोहर पनि नहुने र पर्यटन प्रर्वद्धनमा समेत सकारात्मक परिवर्तन हुने बताए ।
सरसफाई अभियन्ता विरेन्द्र प्रशाद तिवारीले सरसफाई अभियानलाई विषेश दिन मात्रै नभएर हरेक दिन सञ्चालन गरिनु पर्ने बताए । एकदिन मात्रै सरसफाई अभियान गरेर सरसफाईको कुनै औचित्य नहुने र यसलाई नगरपालिका तथा स्थानियहरुले संयुक्त रुपमा हरेक दिन सञ्चालन गरे मात्रै सवै क्षेत्रमा तथा समुदाय स्तरमा सन्देश पुग्ने बताए ।
