महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलका एक परिवार दृष्टि बन्धक राखिएको जमिन लिलाम चढेपछि सुकुम्बासी हुने अवस्थामा पुगेको छ । ती परिवार अहिले जमिन फिर्ता गराउन हारगुहार गरि रहेका छन् ।
श्रीकृष्ण टोलका थम बहादुर विक पार्कीको तीन कट्टा ११ धुर जमिन १२ वर्ष अघि उनका दाई कमल पार्कीले लक्ष्मण विष्टबाट ८ लाख रकम लिएर दृष्टिबन्धक गरेका थिए । विष्टले दृष्टिबन्धकपछि आफ्नो नाममा पास गरी चन्द्र गिरीलाई बेचेपछि बैंकिङ्ग कारोबार भएर जमिन लिलाम हुन पुगेको हो ।
विष्टबाट १८ लाखमा जमिन किनेका गिरीले केही वर्ष अघि कुमारी बैंक(तत्कालिन एनसीसी ) जमिन धितो राखेर ४५ लाखमा जग्गा कारोबारका लागि ऋण लिएका थिए । केही समय ब्याज र किस्ता बुझाएका गिरी सम्पर्क विहीन भएपछि दुई महिना अघि ५७ लाख ५० हजारमा जमिन लिलाम गरेको थियो ।
स्थानीयका अनुसार अहिले त्यस जमिनको चलनचल्ती मूल्य डेढ करोड बढी छ । विक परिवारले जमिन आफ्नो भएको र फिर्ता पाउनु पर्ने माग राख्दै बैंक पुगेका छन् ।
‘यो जमिन हाम्रो हो, हामी यसमा २०२२ सालदेखि बस्दै आएका छौ, मेरा बुवालाई ठूला बुवाले कुरा गरी विष्टजीबाट ८ लाख रुपैँया लिएर दृष्ट बन्धक गरेका हुन्, त्यहीं जमिन विष्टजीले आफ्नो नाममा गरी पछि आफ्नो रकम अशुली गर्न चन्द्र गिरीलाई बेचेर अहिले लिलाम हुने अवस्थामा पुगेको छ’ विकका छोरा प्रकाश पार्कीले भने,‘दृष्टि बन्धकपछि यो जमिन कसरी मालपोत कार्यालयमा पास भयो, कसरी गिरीलाई बेचियो, त्यो हामीलाई केही पनि थाह छैन, यो जमिन हाम्रो, त्यसैले बैंकले हामीलाई फिर्ता गर्नु पर्छ ।’
पार्कीका बुवा थम बहादुरको पाँच वर्ष अघि मृत्यु भएको थियो । बैंकले जमिन लिलाम प्रक्रिया अघि बढाएपछि विक परिवारले जमिन बिक्री गरी बैकमा राखिएको थाह पाएका थिए ।
‘मलाई त केही पनि थाह थिएन, बंैकबाट यो जमिन गिरीजीको हो भनेर मान्छे गएपछि मात्रै थाह पाएका हौ’ प्रकाशकी आमा राधादेबीले भनिन्,‘सुरुदेखि बस्दै आएका जमिन एकाएक अर्काको हो भनेपछि होस हवास नै उड्यो, अरु के भयो त्यो त थाह नै भएन ।’
मलापोतमा विष्टका नाममा दृष्टि बन्धक गरिएको जमिन नामसारी भएको थाह पाएपछि २०७२ मा जिल्ला प्रहरी कार्यालयमा जग्गा फिर्ता गर्ने कागज बनेको थियो । दृष्टि बन्धक राखिएको जमिन घर परिवारलाई जानकारी विना पास गरिएको भन्दै विकका छोरा प्रहरी कार्यालय पुगेका थिए ।
त्यसपछि विष्टले तीन महिनाभित्र आफ्नो रकम लिएर रकम दिएर जमिन फिर्ता गर्ने कागज बनेको थियो । बेदकोट नगरपालिकाको सुडाका रामचन्द्र ओड सहितले तीन महिनाभित्र रकम बुझाएर जमिन फिर्ता गर्न हस्ताक्षर गरेका थिए । विष्टबाट लिएको ८ लाख रकम ओड सहितले खर्च गरेका थिए ।
ओड सहितले रकम तिरी जमिन फिर्ता हुने आशमा बसेका विक परिवारलाई थाह नदिएर विष्टले आफ्नो सावा र ब्याज गरी १८ लाखमा गिरीलाई बेचेका थिए । गिरीले किनेपछि तत्कालिन एनसीसी बैंक (कुमारी) बैंकको अत्तरिया शाखामा जग्गा धितो राखेर ऋण लिएका थिए । भीनपा १८ का गिरीले केही वर्ष अघिसम्म महेन्द्रनगरमा अल स्पोर्टस हाउस सञ्चालन गरेका थिए ।
कुमारी बैंकको अत्तरिया शाखाले केही महिना अघि जग्गा लिलामको सूचना अघि बढाएपछि गत पुस १८ गते बोलकबोल गरिएको थियो । विक परिवारले जमिन आफ्नो भएको र आफूहरुलाई रकम तिरीले फिर्ताका लागि बैंक गुहार गरेका थिए ।
बैंकका अधिकारीहरुले सुरुमा रकम जम्मा गरे जमिन फिर्ता दिने आश्वासन दिएर अन्तिममा अर्कैै व्यक्तिसित मिलमेतो गरी लिलाम गरिएको प्रकाश पार्कीले बताए ।
‘यो जमिन हाम्रो हो, जे जसरी पनि भएर लिलाम गए पनि त्यो पैसा हामी तिर्छौ, बिड गर्र्छौ, फिर्ता गर्नुहोस भनेर अत्तरिया र काठमार्डांैसम्म पुग्यौ’ उनले भने,‘सुरुमा हुन्छ भन्यो, त्यसपछि पैसा खोजेर बैंकमा गएर बिड गर्न खोज्दा आलटाल गरी अर्कै व्यक्तिसित मिलोमतो गरी लिलाम गरियो, यसमा बैंकको नियत ठिक देखिएन, नत्र हामी हाम्रो जमिन फिर्ता पाउँथ्यौ ।’
बंैकको अत्तरिया शाखा प्रबन्धक किसन पाल र केन्द्रीय कार्यालयमा रिकभरी अफिसर भुवन पाण्डेयका कारण जमिन फिर्ता पाउन नसकेको उनको भनाई छ ।
बैंकको केन्द्रीय कार्यालयका रिकभरी अफिसर पाण्डेयले सुरुमा जग्गा फिर्ताका आश्सान दिएर अन्तिममा आफूलाई रोकेर अर्कैलाई हाल्न लगाएको उनले बताए ।
‘दुई दिन अघि निवेदन दिएपछि दुई तीन चार दिनमा जम्मा गर्न न भन्यो, त्यस अनुसार पैसा खोजेर बैंकमा गए, त्यहाँ के कुरा भएको रहेछ, आलटाल गरियो,’ उनले भने,‘त्यसपछि त उनले बिड हाल्न पाइदैन, अब जे जे गर्न मन छ, गर्न, अबदेखि फोन नगर्नु भनेर भन्यो ।’
बंैकले जमिन फिर्ता दिने आश्वासन दिएपछि उनी ५७ लाख रकम बोकेर बंैकको महेन्द्रनगर शाखा पुगेका थिए । शाखाका कर्मचारीले रिकभरी अफिसर पाण्डेयको निर्देशनमा आफ्नो रकम जम्मा नगरिको बताए ।
‘मलाई त्यो दिन कर्मचारीले तलदेखि माथि र माथिदेखि तल जानु भनियो, मैले थाह पाइ सकेको थिए, पाण्डेयजीजलाई फोन गर्दा एक छिनपछि हुँदैन भनि हाल्यो’ उनले भने ।
जग्गाधनी प्रकाशले कुमारी बैंकका अत्तरिया शाखा प्रमुख पाल र रिकभरी अफिसर पाण्डेयको मिलेमतोमा आफूलाई बिड हाल्न नदिएको आशंका गरेका छन् । बैंकको लिलाम सरकार गर्ने प्रकाश भट्टले केही दिन अघि गएर धम्की दिएको उनकी आमा राधादेबीले बताइन् ।
‘म एक्लै थिए, एक जनाले आएर यो मेरा जमिन हो भन्यो,१५ दिनभित्र मेरी श्रीमतिको नाममा हुन्छ भन्यो, नछाडे प्रहरी लगाएर भगाउँछु भन्यो’ उनले भनिन्,‘मेरै जमिनमा मलाई नै धम्की दिइयो, तर म मरे पनि यो जमिन छाड्ने छैन, मेरो लाश होला केही छैन ।’
शुक्रबार कुमारी बैंकको कार्यालय पुगेर उनी सहित आफन्तले आफूहरुको जग्गा फिर्ताका लागि पहल गरि दिन शाखा प्रबन्धक खडक सिह मडैलाई आग्रह गरे । उनीहरुले कुनै पनि हालतमा जग्गा नछाड्ने शाखा प्रबन्धक मडैलाई जानकारी दिए ।
स्थानीय गणेश विकले बैंकले सहज रुपमा जग्गा फिर्ता गर्न आनाकानी गरे अप्ठेरो अवस्था आउन सक्ने बताए । ‘अर्काको सम्पत्तिमा यस्तो गरी हडप्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन’ उनले भने ।
बैंकले लिलाम गरेको जग्गा वडा कार्यालयले घर बाटो सिफारिश नदिएपछि नामसारी रोकिएको छ । बैंकले लिलाम गरेपछि विक परिवारले वडा कार्यालयमा निवेदन दिएका थिए । त्यस अघि उनीहरुले बैकमा लिलाम प्रक्रिया रोक्न निवेदन दिएका थिए ।
बैंकले विक परिवारका निवेदनलाई वेवास्ता गर्दै लिलाम प्रक्रिया अघि बढाएको थियो । बैंकका शाखा प्रबन्धक खडक सिह मडैले बंैकले कानुन अनुसार ५७ लाख ५० हजारमा जग्गा लिलाम गरेको बताए ।
‘राष्ट्र बैंकको नियमानुसार जग्गा लिलाम गरिएको हो, एक वर्ष माथि किस्ता र ब्याज नआएपछि लिलाम प्रक्रियामा जान सकिने व्यवस्था छ’ उनले भने,‘यो बंैकको अत्तिरया शाखाबाट प्रक्रिया अघि बढेर लिलाममा गएको हो ।’