ghar sansar

दोधारा चाँदनीका मेयरले गरीब परिवारको यसरी लगाउँदै छन् उठीबास, जसका लोग्ने स्वास्नी दुबै छन् मानसिक रोगी

वडा अध्यक्ष चन्द भन्छन्– छाप्रो हटाउँदैनौ,त्यस बाहेकको जमिनमा मात्रै वडा कार्यालय भवन बन्ने हो

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ की अमृता दमाई आइतबार दिउँसो टिनको छाप्रोभित्र बसेर ६ महिने छोरी करिश्मालाई दुध खुवाउँदै थिइन् । उनका सन्तान अर्को छाप्रो बाहिर बसेर भात खाँदै थिए । उनीहरुसित छिमेकी अन्य केटाकेटी पनि संगै थिए । जेठा छोरा विहानै मजदुरीका लागि निस्किएका रहेछन् । श्रीमान गोविन्द मजदुरीका लागि भारत गएको महिनौ भयो । श्रीमानसित फोनमा कुरा हुन्छ । उनी फर्किने टुङ्गो छैन् ।

अमृता र उनका श्रीमान दुबै मानसिक रोगी हुन् । उनका श्रीमान घर खर्चका र औषधि उपचारका लागि मजदुरी गर्न भारत लोहाघाट गएका छन् । औषधि उपचारका लागि धनगढी गएकी अमृता केही दिन अघि घर फर्किएकी थिइन् ।

lotus institite

धनगढीबाट फर्किएपछि अमृता थप तनावमा छिन् । मानसिक रोगी अमृतालाई उठीबास हुने चिन्ता छ । उनी भोक निन्द्रा हराएको बताउँछिन् । वर्षौैदेखि बस्दै आएको छाप्रो बचाउन उनी सबैसित हारगुहार गरि रहेकी छन् । स्थानीयको विरोधपछि वडा कार्यालय भवन निर्माण कार्य रोकिएको छ । दोधारा चाँदनी नगरपालिकाले गत साता गत साता उनको जमिन वडा कार्यालय भवन बनाउन जग खनेको थियो ।

‘मेरो जेठो छोरो २०÷२१ वर्षको भयो, यहाँ बस्दा त्यो छोरा पेटमा थियो, अहिले त छोरा बाहिर गएको छ’ ३६ वर्षियाा अमृताले भनिन्,‘त्यहीदेखि बसेका हौ, मेरा ससुरा पनि यही बितेका हुन् ।’

अमृताका जेठा छोरा लोकेन्द्र सहित तीन छोरी अनुस्का, आशिका र करिश्मा छिन् । करिश्मा ६ महिनाकी छन् । लोकेन्द्रले तीन कक्षा पढेर विद्यालय छाडेर मजदुरी गर्छन् । दुई छोरी महाकाली आदर्श माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्छिन् । लोकेन्द्रले मजदुरी गरी घर खर्च चलाएका छन् ।

डेढ कट्टा ऐलानी जमिनमा टिनका दुई छाप्रा बनाएर उनी दुई दशकदेखि बस्दै आएकी छन् । दोधारा चाँदनी नगरपालिकाले वडा कार्यालय भवन बनाउन २५ लाखमा गडवालिङ्ग निर्माण सेवालाई ठेक्का दिएको छ । ठेकेदार कम्पनीले गत साता उनको जमिनमा निर्माण कार्य सुरु गरेको थियो ।

 नगरपालिकाले चालु आर्थिक वर्षमा वडा कार्यालय भवन निर्माणका लागि बजेट छुट्याएको हो । वडा कार्यालय भवन निर्माण सुरु भएपछि जमिन छाड्नु पर्ने चिन्तामा उनी छिन् । दुई दशकदेखि बस्दै आएको जमिन छाड्न नसकिने उनी बताउँछिन् ।

‘यो अब कसरी छाँडु, यतिका वर्ष बसियो, एक मुठी माटो पाउला भनेर यतिका वर्ष बस्यौ, अब अहिले आएर त्यसै छाड भनेपछि कसरी छाँडुला त, अहिलेसम्म यही माटोका लागि त कुरेका हो, मलाई अहिले त्यसै हटाउने कुरा कहाँबाट आउँछ त ।’

अमृतासंगै छिमेकीहरुले पनि ऐलानी जग्गा भोगचलन गर्दै आएका छन् । उनी जग्गा पाउनेमा आशमा थिइन् । जग्गा पाउन उनले फाराम समेत भरेको बताइन् । अहिले अरुको जग्गा छाडेर आफ्नोमा भवन बनाउन थाल्दा उनी आफूले हटाउन थालेको दुखेसो गर्छिन् । ‘तलमाथि सबैका छन्, मलाई मात्रै हटाउन खोज्या छन्, किन हो थाह छैन हजुर’ उनले भनिन् ।’

अमृताको परिवार वर्षौदेखि बाजुराबाट दोधारा चाँदनी आएको हो । अमृताको विवाह यहीं घरमा भएको थियो । विवाह हुँदा उनको कच्ची घर थियो । कच्ची घर भत्किएपछि टिनका छाप्रा बनाएकी दुई छाप्रोमध्ये एउटामा एउटामा भान्सा र अर्कोमा बस्न गरिएको छ । ती दुबै छाप्राका पछाडि झाडी छन् । दुबै छाप्रामा बेसरमका बार लगाइएका छन् ।

दिनभरि छाप्रामा बस्ने अमृता केही वर्षदेखि साँझ परेपछि माइती घर फर्किन्छन् । विहान फेरि छाप्रोमा आउँछिन् । दिनभरि बसे साँझ फर्किने दैनिकी केही वर्षदेखि निरन्तर छ । केही वर्ष अघि भएको घट्नाले कारण उनी राति छाप्रोमा बस्न नसकेको स्थानीय शंकर सुनारले बताए । ‘पहिला त यतै बस्थे, त्यो घट्नापछि राति बस्दैनन्,’ उनले भने ।

स्थानीयका अनुसार केही वर्ष अघि अमृता छाप्रोमा बलात्कारमा परेकी थिइन् । त्यस घट्नापछि उनी राति छाप्रोमा बस्न छाडेकी हुन् । उनी घर बाहिर हुँदा उनकी आमा माइतबाट आमा आएर छाप्रोको हेरचाह गर्छिन् ।

वडा कार्यालय भवन बनाउन थालिएपछि अमृता बेचैन छन् । छाप्रो नजिक वडा कार्यालय गएर पीडा सुनाउने उनी बताउँछिन् । उनीसित अन्त पनि ओत लाग्ने ठाउँ छैन । ‘यहाँबाट हटाए के गरुला, कही पनि छैन, हटाए पनि म यहीं बसुला नि’ उनले भनिन् ।

घर जग्गा पाउने अहिलेसम्म छाप्रोमा बस्दै आएकी उनी सरकारले व्यवस्था गर्नु पर्ने बताउँछिन् । ‘अहिलेसम्म त केही गरेन, अहिले वडा बनाउँदैछन, बरु मलाई घर बनाई दिए हुन्थ्यो’ उनले भनिन् ।

साँझ पख हात मुख जोड्न धौधौ छ अमृतालाई । उनी जग्गा किनेर घर बनाउन नसकिने बताउँछिन् । ‘यो बिग्रिएको नल त बनाउन सकेका छैनौ, घर जग्गा किन्न सक्ने कुरा छैन’ उनले भनिन् ।

दोधारा चाँदनी नगरपालिका १ का वडा अध्यक्ष बिक्रम चन्दले अमृताको परिवार बस्दै आएको छाप्रा छाडेर बाँकी जमिनमा वडा कार्यालय भवन बनाउन थालिएको बताए ।

‘त्यहाँ सार्वजनिक जग्गा अतिक्रमणमा थियो, त्यहाँ त्यो छाप्रोको नल यताको जमिनमा मात्रै वडा कार्यालय बनाउन थालिएको छ’ उनले भने, ‘ती छाप्रो हटाउने भन्ने छैन ।’

वडा कार्यालय भवनको जग खनेपछि दलित समुदायको घर भत्काउन लागिएको भन्दै विरोध भएर काम रोकिएको वडा अध्यक्ष चन्दले बताए । ‘विरोध भएपछि काम रोकिएको छ , भोलि मेयर उप मेयर सहित सबै बसेर छलफल गरी टुङ्गोमा पुग्छौ’ उनले भने ।

वर्षौदेखि भोगलचन गर्दै आएका परिवारको जग्गामा वडा कार्यालय भवन बनाउन थालिएपछि विरोध भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्य मन्त्री मान बहादुर सुनार लगायतका जनप्रतिनिधिले छलफल गरी अघि बढाउनु पर्ने बताएपछि निर्माण कार्य रोकिएको हो ।

वडा अध्यक्ष चन्दका अनुसार वडा कार्यालय भवनमा ४ कोठा सहित सभा कक्ष र बरण्डा लगायतका संरचना निर्माण हुने छन् ।

भवन निर्माण कार्यको विरोध भएपछि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुकमा जग्गामा मध्यवर्ती क्षेत्र र नगरपालिका दुबैको दावी भएको उल्लेख गर्दै अतिक्रमण गरी बस्नेले व्यक्तिको हुनु पर्ने भनेर काम रोक्का गरेको उल्लेख गरेका थिए ।

‘वडा नं. १ को कार्यालय भवन निर्माण कार्यमा केही साथीहरूद्वारा अबरोध सृजना गरिएको अवस्था । अतिक्रमित जग्गा जुन आरक्षले आफ्नो भनिराको छ र स्थानीय सरकारले हाम्रो भनिराको अवस्थामा अतिक्रमण गरि बस्नेहरूले व्यक्तिको हुनु पर्छ भनेर काम रोकिदिएको छ । विकास गर्न सहयोग जनताले नगरे स्थानीय सरकारले एक्लै कसरी गर्न सक्छ होला सबैले बुझ्न जरूरी छ’ मेयर लिम्बुको फेसबुक स्टेटशमा उल्लेख गरिएको छ ।

स्थानीय सुनारले वषौैदेखि भोगचलन गरेको जग्गाबाट अमृताको परिवारलाई हटाउन नहनुे बताए । ‘यतिका वर्षसम्म बसेको जमिनबाट यसरी हटाउन हुँदैन, हटायो भने हामी सबै त्यस विरुद्ध हुन्छौ’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...