महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ को वडा कार्यालय नजिक बाटो छेउमा बेसरम झाडीसंगे जोडिएका टिनका दुई छाप्रा छन् । ती छाप्रोमा बेसरमका भित्ता छन् । बेसरमको झाडीसित जोडिएका तीन छाप्रा लिपपोत गरिएको छैन् । वर्षौदेखि यी छाप्रोमा मानसिक रोगी अमृता दमाई बस्दै आएकी छन् । उनका श्रीमान शंकर पनि मानसिक रोगी छन् । उनी मजदुरी गर्न भारत गएका छन् । दमाई परिवारका चार सन्तान छन् । यी दुई छाप्रोमा अमृताले चार सन्तानको भविष्य देखेकी छन ।
दमाई परिवार महाकाली नदी किनारमा डेढ कट्टा जमिन भोगलचलन गरी छाप्रो बनाएर दमाई बस्दै दुई दशक पुगेको छ । सरकारले जग्गा दिएर व्यवस्थापन गर्ने आशमा दमाई परिवार अहिले छाप्रो छाड्नु पर्ने बाध्यतामा पुगेको छ । दोधारा चाँदनी नगरपालिकाले वडा कार्यालय भवन बनाएर हटाउन खोजेपछि अमृताको होस हवास गुमाउनु पर्ने अवस्थामा पुगेकी छन् ।
‘म घरमा थिएन, केही नभनेर खनेर गएका रहेछन्’ उनले भनिन्,‘अब म त के गरु, हाम्रा लागि केही पनि गरेन त, मसित कहीँ जाने बाटो छैन्, अब म के गरु त, मेरो त व्यवस्था गरि दिनु परयो नि ।’
अमृताले जग्गाको लागि सुकुम्बासी फाराम भरे पनि जग्गा पाउन नसकेको बताइन् । ‘फाराम त भरेको थिए, तर केही मिलेन’ उनले भनिन् ।
अमृताको परिवारसित ऐलानी डेढ कट्टा बाहेक अन्य सम्पत्ति केही छैन । मजदुरी गरी साँझ विहानको छाक टार्ने गरिएको छ । उनका छोरा लोकन्द्र पढाई छाडेर मजदुरी गर्छन् । माइतीबाट सहयोग पाएकी छन् । केही वर्षदेखि उनी राति माइती घरमा बस्ने गरेकी छन् ।
छाक टार्न समस्या भएकाले बिग्रिएको हेण्ड पम्प समेत बनाउन सकेकी छैन । कमजोर आर्थिक अवस्थाले उनी घर जग्गा किन्ने सपना समेत नदेखेको बताउँछिन् ।
‘जेठो छोरो २०÷२१ वर्षको भयो, यहाँ बस्दा त्यो छोरा पेटमा थियो, अहिले त छोरा बाहिर गएको छ’ ३६ वर्षियाा अमृताले भनिन्,‘त्यहीदेखि बसेका हौ, मेरा ससुरा पनि यही बितेका हुन्,अहिलेसम्म कहीबाँट जग्गा पाउन सकेको छैन, अझै पनि कहाँबाट आउला त ।’
नगरपालिकाले वडा कार्यालय बनाउन थालेपछि सरकारबाट जग्गा पाउने आश पनि उनलाई मर्न थालेको छ । नगरपालिकाले वडा कार्यालय भबन बनाउन थाले पनि छाडेर अन्यत्र जान नसक्ने अवस्था भएको उनी बताउँछिन् ।
‘यो अब कसरी छाँडु, यतिका वर्ष बसियो, एक मुठी माटो पाउला भनेर यतिका वर्ष बस्यौ, अब अहिले आएर त्यसै छाड भनेपछि कसरी छाँडुला त, अहिलेसम्म यही माटोका लागि त कुरेका हो, मलाई अहिले त्यसै हटाउने कुरा कहाँबाट आउँछ त ।’
नगरपालिकाले आफ्नो जग्गामा मात्रै भवन बनाउन थालेको देखेर उनी नगरपालिकासित गुनासो गर्छिन् । उनका छिमेकी अन्य परिवारले पनि ऐलानी जमिनमा भोगचलन गर्दै आएका छन् । छिमेकीले घेरबार गरी जमिन प्रयोगमा ल्याएका छन् । नगरपालिकाले अन्य परिवारका जमिन छाडेर अमृताको जमिनमा वडा कार्यालय भवन बनाउन थालेको हो ।
‘तलमाथि सबैका छन्, मलाई मात्रै हटाउन खोज्या छन्, किन हो थाह छैन हजुर’ उनले भनिन्,‘अहिलेसम्म त केही गरेन, अहिले वडा बनाउँदैछन, बरु मलाई घर बनाई दिए हुन्थ्यो’ उनले भनिन् ।
।’
अमृता चार सन्तान सहित दिननभरि छाप्रोमा बस्छिन् । अहिले उनका जेठा छोरा लोकेन्द्र विहानदेखि साँझसम्म मजदुरी गर्छन् । अन्य छोरी अनुस्का, आशिका र करिश्मा छिन् । करिश्मा ६ महिनाकी छन् । दुई छोरा कक्षा २ मा पढ्छन् । जेठा लोकेन्द्रले कक्षा ३ पढेर पढाई छाडि सकेका छन् ।
बाजुरा पुख्र्यौलीकी अमृताको विहे यही घरमा भएको थियो । यस अघि छाप्रो नजिक कच्ची घर थियो । कमजोर आर्थिक अवस्थाले कच्ची घर बनाउन नसकेपछि टिन सहयोग मागेर छाप्रो बनाइएका हुन् । उनलाई सञ्चो नहुँदा उनकी आमाले छाप्रोमा आएर बालबालिकाको हेरचाह गर्दै आएकी छन् । उनी मानसिक रोगी छन् । औषधि उपचारका लागि धनगढी गएकी उनी गत साता घर फर्किएकी हुन् ।
वडा कार्यालय भवन निर्माण कार्य रोकिएपछि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु निर्माण स्थलमा आएका छन् । जनप्रतिनिधि र स्थानीय सहित निर्माण स्थलमा आएपछि उनले फेसबुकमा अमृतालाई अतिक्रमणकारीको संज्ञा दिएका छन् ।
उनले फेसबुकमा लेखेका थिए, ‘वडा नं. १ को कार्यालय भवन निर्माण कार्यमा केही साथीहरूद्वारा अबरोध सृजना गरिएको अवस्था । अतिक्रमित जग्गा जुन आरक्षले आफ्नो भनिराको छ र स्थानीय सरकारले हाम्रो भनिराको अवस्थामा अतिक्रमण गरि बस्नेहरूले व्यक्तिको हुनु पर्छ भनेर काम रोकिदिएको छ । विकास गर्न सहयोग जनताले नगरे स्थानीय सरकारले एक्लै कसरी गर्न सक्छ होला सबैले बुझ्न जरूरी छ’ मेयर लिम्बुको फेसबुक स्टेटशमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिमा प्रदेश सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार लगायत स्थानीयले वर्षौदेखि बस्दै आएको परिवारलाई जबरजस्ती हटाउन नहुने अडान लिएपछि वडा कार्यालय भवन निर्माण रोकिएको थियो । दोधारा चाँदनी नगरपालिकाले २५ लाखमा ठेक्का सम्झौता गरेपछि अमृताको परिवारलाई नसोधी भवन निर्माण सुरु गरिएको थियो ।
दोधारा चाँदनीमा नेकपा एमालेका नेता लिम्बु मेयर छन् । उनले केही महिना अघि अमृताको घर नजिक जमिनमा फनपार्क बनाउने घोषणा गरेका थिए । फनपार्क बनाउने घोषणा गरेको केही महिनापछि उनले वडा कार्यालय भवन बनाउन थालेका हुन् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बिक्रम चन्दले अमृताको परिवार बस्दै आएको छाप्रा छाडेर बाँकी जमिनमा वडा कार्यालय भवन बनाउन थालिएको बताए ।
‘त्यहाँ सार्वजनिक जग्गा अतिक्रमणमा थियो, त्यहाँ त्यो छाप्रोको नल यताको जमिनमा मात्रै वडा कार्यालय बनाउन थालिएको छ’ उनले भने, ‘ती छाप्रो हटाउने भन्ने छैन ।’
स्थानीय सुनारले वषौैदेखि भोगचलन गरेको जग्गाबाट अमृताको परिवारलाई हटाउन नहुने स्थानीय शंकर सुनारले बताए । ‘यतिका वर्षसम्म बसेको जमिनबाट यसरी हटाउन हुँदैन, हटायो भने हामी सबै त्यस विरुद्ध हुन्छौ’ उनले भने ।