बेदकोटमा बगुन खोलाका अवैध ढुङ्गालाई वैध बनाएर फर्कियो नगरपालिकाको टोली, रोयल्टी लिएर तीन दिनभित्र हटाउने सहमति

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ बगुन खोलाबाट अवैध उत्खनन गरिएका ढुङ्गा नियन्त्रणमा लिन गएको नगरपालिकाको टोली रित्तो हात फर्किएको छ । बगुन खोलाबाट अवैध उत्खनन गरी खोला किनार र सामुदायिक वन क्षेत्रमा राखिएका ढुङ्गा नियन्त्रणमा लिन सोमबार विहान प्रहरी सहित नगरपालिकाको टोली बगुन खोला गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली लिएर गएको नगरपालिकाको टोली स्थानीयसित छलफलपछि ढुङ्गा नियन्त्रणमा नलिएर फर्किएको छ ।

स्थानीयका अनुसार नगरपालिका र स्थानीयबीच अवैध उत्खनन गरिएका ढुङ्गा रोयल्टी काटेर खाली गर्ने सहमति भएपछि ढुङ्गा नियन्त्रणमा लिने कार्य तत्काल रोकिएको हो । प्रहरी सहितको टोली खोलामा पुगेपछि केही समय स्थानीयसित भनाभन भएको थियो ।

स्थानीयसित विवाद बढेपछि नगरपालिकाले रोयल्टी काटेर तीन दिनभित्र खाली गर्ने मध्यमार्गी बाटो अपनाएको छ । खोलाबाट अवैध ढुङ्गा उत्खनन गरिएको गुनासो बढेपछि वन कार्यालयले नगरपालिकालाई ढुङ्गा हटाउन तीन दिनको निर्देशन थियो । त्यही अनुसार नगरपालिकाको टोली सोमबार विहान ढुङ्गा व्यवस्थापनका लागि जेसिभी लगायतका साधन सहित खोलामा पुगेको थियो ।

बगुन खोलाबाट स्थानीयले वर्षौदेखि अवैध रुपमा ढुङ्गा लगायतका नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् । ती ढुङ्गा खोला किनार र सामुदायिक वन क्षेत्रमा राखिएका छन् । वन कार्यालयले सामुदायिक वनलाई ती ढुङ्गा हटाउन पटक पटक निर्देशन दिएको थियो । सामुदायिक वनले ढुङ्गा खाली गर्न गन वर्षदेखि स्थानीयसित छलफल गर्दै आएको छ ।

बेदकोट नगरपालिका कार्यालयमाथि पछिल्लो पटक ढुङ्गा हटाउन दबाव परेको थियो । त्यससपछि नगरपालिकाले वडा कार्यालयलाई ढुङ्गा व्यवस्थापनका लागि पटक पटक निर्देशन दिएको थियो । वडा कार्यालयले ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि नगरपालिका सोमबार प्रहरी टोली सहित खोलामा गएको थियो ।

बेदकोट नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहरा सहितका वडा अध्यक्ष, नगरपालिका कर्मचारी र प्रहरी टोलीमा सहभागी भएका थिए । बेदकोट नगरपालिका ४ का वडा अध्यक्ष बोहरा नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन, बिक्री वितरण समितिका संयोजक पनि छन् । उनी बेदकोटको सामाजिक विकास समितिका पनि संयोजक छन् । बोहराको वडामा नदीजन्य पदार्थको अवैध कारोबार रोक्न नगरपालिकालाई प्रहरी टोली लिएर जानु पर्ने अवस्था आएको हो ।

बेदकोट ४ को बगुन र अर्को साझगाड खोलाबाट अवैध उत्खनन हुने गरेको स्थानीय बताउँछन् । ती दुबै खोलाको चुरे क्षेत्रबाट पनि ढुङ्गा उत्खनन बिक्री विरण हुँदै आएको स्थानीय बताउँछन् । ती दुबै खोलामा जनप्रतिनिधि आफंै अवैध उत्खननमा संलग्न भएको स्थानीयले बताए ।

अवैध उत्खननमा संलग्नले स्थानीय प्रहरीलाई आफ्नो पक्षमा लिएका छन् । दैजीस्थित अस्थायी प्रहरी चौकीलाई वडा अध्यक्ष बोहराले आफ्नो मोटरसाइकल दिएका छन् । बेदकोट नगरपालिकाले वडा कार्यालयलाई दिएको मोटरसाइकल प्रहरीले प्रयोग गर्दै आएको छ ।

स्थानीय प्रहरीको मिलमेतो भएकाले नगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालयसित सहयोग माग गरेको थियो । प्रहरी कार्यालयले प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा टोली पठाएको हो । प्रहरी निरीक्षक चन्दले नगरपालिकाले खोलामा समस्या भएपछि प्रहरीलाई लिएर गएको बताए । ‘त्यहाँ खोलामा केही समस्या रहेछ, त्यसपछि हामी गएको हो, त्यहाँ दुबै पक्षबीच कुराकानी भएपछि फर्कियौ’ उनले भने ।

बेदकोट नगरपालिकाले यस वर्ष बगुन खोलाबाट अमानतमा रोयल्टी संकलन गरि रहेको छ । स्थानीयले खोलाको आइइई भए नभएकोबारे पनि आशंका गर्दै आएका छन् ।

सम्बन्धित
Loading...