सुदूरपश्चिमका चर्चित साहित्यकार शर्माको निधन

महेन्द्रनगर । साहित्यकार डम्बर शर्मा बडूको निधन भएको छ । केही महिना अघि विरामी शर्माको सोमबार निधन भएको हो । भीमदत्त नगरपालिका ६ ऐंठपुरका शर्मा सुदूरपश्चिममा चर्चित व्यक्तित्व थिए ।

महाकाली साहित्य सङ्गमका आजीवन सदस्य शर्माको नेपाली तथा डोट्याली भाषा साहित्य र संस्कृतिमा विशिष्ट योगदान भएको संगमका अध्यक्ष हरिश प्रसाद जोशीले बताए । शर्माको निधनमा दुःख व्यक्त गर्दै उनले भाषा, साहित्य र संस्कृति क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

शर्माका विभिन्न कविता, झ्यारी डोट्याली कविता संग्रह तथा ऐना गजल संग्रह कृति प्रकाशित छन् । शर्माका तीन सन्तान छन् । साहित्यमा ऐना उपमानले परिचित शर्मा प्रगतिशिल लेखक संघमा आवद्ध थिए । उनी सुदूरपश्चिम साहित्यिक पत्रकार संघका अध्यक्ष हुन् । उनी प्रगतिशिल लेखक संघका राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन् ।

शर्मा परिवार बैतडीको दशरथ चन्द नगरपालिका ऐचेकाँडा माइखर्कबाट तराई आएको हो । शर्मा सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) बाट केही वर्ष अघि अवकाश पाएका थिए । अवकाशपछि उनी सामाजिक कार्य र साहित्य सक्रिय थिए । अवकाशपछि उनी शिवधाम क्षेत्र विकास समितिको महासचिव भएका थिए ।

शर्माको मंगलबार विहान महाकाली नदीमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिनेछ । उनको पार्थिक शरिर ऐठपुरस्थित घरमा राखिएको छ ।

सम्बन्धित
Loading...