महेन्द्रनगर । नेकपा एमाले बैतडीको अध्यक्ष सहित पदाधिकारीमा सहमति जुटेको छ । अध्यक्षका आँकाक्षीलाई अध्यक्ष सहित पदाधिकारी जिम्मेवारी दिएर सहमति जुटाइएको हो । अध्यक्षमा सोमबार राति सहमति जुटे पनि अन्य पदाधिकारीमा दिउँसो सहमति जुटेको हो । अध्यक्ष नरेश विकमा राति नै सहमति जुटेको थियो ।
बन्द सत्रबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत भएका हुन् । उनीहरुमध्ये भण्डारी र साउँद अध्यक्षका आकाँक्षी छन् । अध्यक्षका अर्का आकाँक्षी गोबिन्द गिरी भने पछि हटेका छन् ।
गृहलाई पछि हट्न एमाले केन्द्रीय कमिटीबाट दबाव आएको नेताहरु बताउँछन् । उनलाई अखिलको केन्द्रीय अध्यक्ष बनाउने आश्वासन दिइएको छ ।
एमाले केन्द्रीय सदस्य दामोदर भण्डारी सहित नेताहरुले छलफल गरी पदाधिकारी सर्वसम्मत गरेका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री भण्डारी सोमबार विहान काठमाडौं हिँडेका छन् । मन्त्री भण्डारीका गृह नगरका विक र भण्डारी पदाधिकारी भएका छन् ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्षका आकाँक्ष साँउद जिल्ला कमिटी सचिव भएका छन् । उनी प्रदेश अधिवेशनमा सहमति उम्मेदवारी फिर्ता लिएर मैदानबाट बाहिरिएका थिए ।
बैतडीको पाटनमा आइतबार नवौ अधिवेशन सुरु भएको हो । जिल्ला कमिटी सदस्यमा पनि छलफल गरी सर्वसम्मति गराउने प्रयास नेताहरुले गरि रहेका छन् ।
आठौं अधिवेशनमा मन्त्री भण्डारीले एकलौटी गरेपछि जिल्ला कमिटी चयन गरेको आरोप लागेको थियो । त्यसपछि जिल्ला अध्यक्षका उम्मेदवार गोरख बहादुर चन्द लगायतका नेताहरु असन्तुष्ट भएका थिए ।