शुक्लाफाँटा प्राविधिक शिक्षालयको भवन उद्घाटन अगावै विवाद, माओवादी केन्द्रका नेता ऐरले पोखे व्यापक असन्तुष्टि
महेन्द्रनगर । सत्तारुढ माओवादी केन्द्रका युवा नेता नवराज ऐरले शुक्लाफाँटा प्राविधिक शिक्षालयको भवन उद्घाटनमा व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार शिक्षालय उद्घाटन गर्ने भएपछि ऐरले सामाजिक सञ्जाल फेसबुकमा शिक्षालय भवन उद्घाटन प्रक्रिया संगत नभएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
नेता ऐरले पूर्व प्रधानमन्त्रीले शिक्षालय भवन उद्घाटन गराउने कार्यक्रम राम्रो भए पनि निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दै उद्घाटन गरिएकाले प्रक्रियामा असन्तुष्टि जनाएका छन् ।
‘शुक्लाफाटा बहुप्राविधिक शिक्षालय कंचनपुर झलारीको निर्माणाधीन भवन उद्घाटन गर्न हुने र नहुने कुरा सामाजिक सञ्जालमा बहस सुनियो । सोफान अनुसार प्रक्रिया मिलेको अवस्थामा पूर्व प्रधामन्त्रीद्वारा उद्घाटन गराउने कुरा सबल पक्ष नै मानिन्थ्यो’ ऐरले फेसबुकमा भनेका छन्, ‘स्थापना कालदेखि हालसम्म जुत्ता फटाएको मान्छे हुनुको नाताले मलाई कुनै जस लिनु छैन तर चासो स्वभाबिक रहन्छ । निर्माण कम्पनीले कार्यसम्पन्न गरि साचो हस्तान्तरण गर्न बाँकी रहेको, सम्बन्धित सिटिइभिटीको केन्द्रदेखि सम्बन्धित अफिसको सेडुल नहुनु र प्रमुख जिल्ला अधिकारि अध्यक्ष रहेको संस्था भएको हुँदा जिल्ला प्रशासनको समेत कुनै नियमित उदटनको कार्यक्रम नभएको अवस्थामा राजनीतिक दबाबमा पारि शिलालेखलमा नाम मात्रै लेखाउने कार्य गर्नु भनेको धरहराको उद्घाटन पछि पनि हालसम्म हामीलाई जिस्काइरहनु जस्तो मात्र हो । त्यसैले उद्घाटन जुन नेताबाट जहिले गराएपनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्न÷नगराउन र मेरो पार्टीको तर्फबाट असहमति रहेको जानकारी गराउँदछु ।’
नेता ऐरले फेसबुकमा असन्तुष्टि पोखरेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले भवन उद्घाटन गर्ने निर्णय गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट भवन उद्घाटन गराउने निर्णय भएको छ ।
एमाले कञ्चनपुरको नवौ अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली बिहीबार आउन लागेका छन् । एमाले नेताहरु अध्यक्ष ओलीबाट शिक्षालय भवन उद्घाटन गराउन सक्रिय रुपमा लागेपछि ऐरको धारणा बाहिर आएको थियो । माओवादी केन्द्रका नेता ऐर स्थानीय तह निर्वाचनमा शुक्लाफाँटामा मेयर रण बहादुर महरासित पराजित भएका थिए ।