
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनको बन्द सत्र शुक्रबार विहान सुरु हुने भएको छ । संविधान चोकमा अधिवेशन उद्घाटनपछि साँझ ६ बजदेखि बन्द सत्र सुरु गर्ने तयारी गरिए पनि शुक्रबार विहान ८ बजेदेखि सुरु हुन लागेको हो ।
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा अधिवेशनको बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा राजनीतिक, साँगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिनेछ । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित जिल्ला कमिटी चयनको प्रक्रिया सुरु हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्दै अधिवेशनलाई सर्वसम्मत बनाउन निर्देशन दिएका छन् । उनले कञ्चनपुरका ६ केन्द्रीय सदस्य सहित बसेर छलफल गरी सर्वसम्मत बनाउनु पर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनु पर्ने आवश्यकता भएको बताए ।
सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामिलामा सबैले मिलेर काम गर्न जरुरी रहेको उनको भनाइ छ ।
“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । बहुदलीय व्यवस्थामा छौँ । दलहरू फरक–फरक होलान् । विचार फरक–फरक होलान् । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ”, अध्यक्ष ओलीले भने ।
