परशुरामका प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमणमा संलग्नलाई कानुनी कारवाही गर्न एकीकृत सरकारी कर्मचारी संगठनको माग
महेन्द्रनगर । एकीकृत सरकारी कर्मचारी संगठनले परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि आक्रमणको छानबिन गरी संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
संगठनका सुदूरपश्चिम महासचिव पुरुषोत्तम भट्टले विज्ञप्ति प्रकाशि गरी व्यक्तिगत स्वार्थपूर्ति नभएको झोकमा प्रमुख प्रशासकीय अधिकृतमाथि गुण्डागर्दी शैलीमा हमाल गरिनु कानुनी राज्यको उपहास भएको भन्दै निन्दा गरेका छन् ।
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा बिहीबार उप मेयरको नेतृत्वमा कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते जोशीको टाउको चोट लागेको छ । टाउको तीन टाँका लागेका जोशी अहिले अस्पताल भर्ना छन् ।
उप मेयर सहितका कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कुर्सी प्रहार गरी आक्रमण गरेका थिए । आक्रमणमा संलग्न सबै सत्तारुढ माओवादी केन्द्र सम्बद्ध कार्यपालिका सदस्य छन् ।
एकीकृत सरकारी कर्मचारी संगठनले कार्यपालिका बैठकमा भएको घट्नालाई अमर्यादित, अमानवीय, अपराधिक भन्दै ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि आक्रमण लगायतका घट्नाबाट राष्ट्र सेवक कर्मचारीहरुको मनोबल खस्किने भएको उल्लेख गर्दै संगठनले घट्नाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । संगठनले कर्मचारीको कार्यस्थल र जिउज्यान सुरक्षाका लागि सरकारसित माग गरेको छ ।
कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशीले शिक्षा शाखा प्रमुख लक्ष्मी विष्ट कार्कीको काज फिर्ता गराउन नसकिने जवाफ दिएपछि उनीमाथि आक्रमण गरिएको थियो । बैठकको सुरुवात भएपछि विरोधमा उत्रिएका उनीहरुले विष्टको काज फिर्ता गर्न पर्ने माग राखेका थिए । बिहीबार आक्रमणमा संलग्न कार्यपालिका सदस्यहरु केही दिनदेखि विष्टको काज फिर्ता माग गर्र्दै आएका छन् ।
नगरपालिकाले एक विद्यालयको शिक्षक नियुक्ति गरिएपछि कार्यपालिका सदस्यहरु शिक्षा शाखा प्रमुख विष्टको काज सरुवाको माग गर्दै आएका छन् । कर्मचारीहरुका अनुसार एक कार्यपालिका सदस्यका आफन्तलाई शिक्षक बनाउन नसकिएपछि शिक्षा शाखा प्रमुख कार्यपालिका सदस्यको निशानामा परेकी छन् ।