
महेन्द्रनगर । एमाले कञ्चनपुरको अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा र अशोक कुमार चन्दले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले कञ्चनपुरको नवौ अधिवेशनमा शनिबार साँझ उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन समितिले दिउँसो उम्मेदवारको फाराम वितरण गरेको थियो । त्यसमध्ये बुढा र चन्दले अध्यक्षको फाराम दर्ता गराएका हुन् ।
कार्य वाहक अध्यक्ष बुढा आठांै अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अर्का उम्मेदवार चन्द आठौंमा सचिवमा पराजित भएका थिए । बुढा र चन्द दुबै निर्वाचन क्षेत्र नं. २ का हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अधिवेशन उद्घाटन सत्रमा कार्य वाहक अध्यक्ष बुढालाई अधिवेशनबाट नेतृत्व दिनु पर्ने आशयको अभिव्यक्ति दिएका थिए । अध्यक्ष ओलीको अभिव्यक्तिपछि नेतृत्वका अन्य आकाँक्षी पछि हटे पनि चन्दले उम्मेदवारी दिएका छन् ।
आठांंै अधिवेशनमा सचिव पराजित भएपछि एमाले छाडेर एकीकृत समाजवादी भएका चन्द २०७९ को निर्वाचन अघि एमाले फर्किएका थिए ।
अध्यक्ष ओलीको निर्देशनपछि कञ्चनपुरका केन्द्रीय सदस्यहरु सहमतिका लागि निरन्तर छलफलमा छन् ।
