ghar sansar

एमाले अधिवशेसन सर्वसम्मत बनाउन बालकोटबाट फेरि निर्देशन, अध्यक्ष मण्डलले जुटाउँदै सहमति

महेन्द्रनगर । एमाले नवौ अधिवेशनमा अध्यक्ष मण्डलले सहमतिका लागि प्रयास जारी राखेपछि निर्वाचन कार्यक्रम फेरि हेरफेर भएको छ । निर्वाचन मण्डलले विहानैदेखि छलफल थालेपछि उम्मेदवारी फिर्ताको समय ११ बजेसम्मका लागि राखिएको हो । यस अघि निर्वाचन कार्य तालिका संशोधन हुँदै आइतबार विहान ९ बजे उम्मेदवारी फिर्ताको समय राखिएको थियो ।

एमाले कञ्चनपुरका इन्चार्ज पोलिटब्युरो सदस्य नारदमुनि रानाको चार केन्द्रीय सदस्य अध्यक्ष मण्डलमा छन् । बिहीबार अधिवेशन उद्घाटन भएपछि अध्यक्ष मण्डलका सदस्य सहित एमाले नेताहरु सहमति जुटाउने प्रयास गरि रहेका छन् ।

शनिबार अध्यक्ष मण्डलले सहमति जुटाएर उम्मेदवारी दर्ता गर्ने प्रयास गरेको थियो । सहमति जुटाउन नसकेपछि शनिबार विहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारका फाराम वितरण गरी साँझ ५ बजेसम्म दर्ता गरिएको थियो ।

उम्मेदवारी दर्तापछि फेरि अध्यक्ष मण्डलले सहमतिका लागि छलफललाई जारी राखेर उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक राति ११ बजे पुगेको थियो । निर्वाचन समितिले राति उम्मेदवारको प्रारम्भिक नामावलीसंगै लगाएको संशोधित सूचनामा विहान ९ बजे उम्मेदवारी फिर्ताको समय राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटनमा अधिवेशन सर्वसम्मत बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिएपछि नेताहरु दबावमा छन् । अध्यक्ष ओली फर्किएपछि केन्द्रीय नेताहरु सहमतिका लागि सक्रिय रुपमा छलफलमा छन् ।

सहमतिका लागि चार दिनदेखिका प्रयास सफल नभएपछि आइतबार फेरि बालकोटबाट निर्देशन आएको नेताहरु बताउँछन् । बालकोटबाट निर्देशन आएपछि उनीहरु जसरी पनि सर्वसम्मत गराउनु पर्ने दबावमा परेका छन् । एमले केन्द्रीय कमिटीमा कञ्चनपुरका ६ केन्द्रीय सदस्य छन् । उनीहरु सबैले बालकोटमा अध्यक्ष ओलीलाई नवौ अधिवेशन सर्वसम्मत बनाउन प्रतिवद्धता गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...