महेन्द्रनगर । बेदकोट नगरपालिकामा परीक्षा अनुमगनमा निस्किएका जनप्रतिनिधि र कर्मचारीका कारण परीक्षामा बाधा पुगेको गुनासो आएको छ । परीक्षाथी, शिक्षक र अभिभावकले परीक्षा अनुगनमका क्रममा फोटो खिचेर परीक्षार्थीलाई समस्यामा पारेको गुनासो गरेका छन् ।
बेदकोटमा जनप्रतिनिधिहरु कक्षा १ देखि ९ सम्मको परीक्षा अनुगमन गरि रहेका छन् । उनीहरुले परीक्षा सञ्चालन भई रहेको बेला कक्षा कोठामा जाने, तस्बिर खिच्ने, कक्षा कोठा बाहिर सामूहिक फोटो सेसन चलाउने, कुराकानी गर्ने लगायतका कार्यले परीक्षामा वाधा पुुगेको शिक्षकहरु बताउँछन् ।
जनप्रतिनिधिहरु हुल बाँधेर अनुगमनमा आउँदा केन्द्रमा होहल्ला हुने र परीक्षार्थीलाई डिस्टर्ब समेत भएको उनीहरुको भनाई छ । जनप्रतिनिधिहरुसंगै परीक्षा अनुगमनमा खटिएका नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरु पनि फोटो खिच्न व्यस्त छन् ।
‘यतिका मान्छे अनुगमनमा आउँछन्, अनुगमनमा पनि यति मान्छे त नआउनु पर्ने, हुल बाँधेर आउँछन्, यतिका मान्छे आउँदै नै परीक्षा डिस्टर्ब भइ हाल्छ, त्यसपछि बाहिर फोटो खिच्दा बच्चाहरुको ध्यान यताउता भइ हाल्छ’ एक विद्यालयका प्रधानाध्यापकले नाम उल्लेख नगर्न आग्रह गर्दै भने,‘अब यस विषयमा नगरपालिकामा जानकारी गराउँछौ, यो त हाम्रो परीक्षाको मर्यादाभित्र पर्दैन ।
स्थानीय तहमा नगर प्रमुखको अध्यक्षतामा शिक्षा समिति हुन्छ । समितिमा सदस्य नहुने उप मेयर जनप्रनिधि र कर्मचारीलाई लगेर अनुगमन गरि रहेकी छन् । स्थानीय तहमा उप मेयरलाई विकास निर्माण अनुगमनको जिम्मेवारी दिइएको छ । त्यस विपरित उप मेयरहरु जनप्रतिनिधि र कर्मचारीलाई लिएर दैनिक अनुगमनमा निस्कने गरेका छन् ।
अनुगमनमा सहभागी जनप्रतिनिधि र कर्मचारीले खाजा सुविधा वापत केही रकम पाउँछन् । बेदकोटका अधिकाँश कार्यपालिका सदस्यले परीक्षा अनुगमन गरेका छन् ।
बेदकोटमा उप मेयर तुलसी जोशीको नेतृत्वमा सामुदायिक र संस्थागत विद्यालयका परीक्षा अनुमगन गरिएका छन् । केही विद्यालयमा मेयर भोजराज बोहराले पनि परीक्षा अनुगमन गरेका छन् ।
बेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापाले अनुगमनका क्रममा अभिलेखका लागि परीक्षार्थीलाई वाधा नपुग्ने गरी तस्बिर खिच्न नराम्रो नभएको बताइन् ।
‘यो अभिलेख पनि हुन्छ, त्यहाँ सबै सरोकारवाला हुन्छन्, डिस्र्ट गर्ने काम हँुदैन, क्लासभित्र गएका होइनन्’ उनले भनिन्,‘डिस्टर्ब गर्न नराम्रो हो, बाहिर फोटो खिच्न त नराम्रो भएन ।’