महेन्द्रनगर । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयको निर्देशन संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको ठहर गरेको छ ।
सञ्चार माध्यम नियमनको दायित्व प्रेस काउन्सिलको रहेको स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमै डेस्क स्थापना गरेर सञ्चार माध्यमसमेतलाई निगरानीमा राख्ने प्रावधानसहितको निर्देशन गृहले जारी गरेको छ ।
‘सञ्चारमाध्यममा आएका सामग्रीको नियमन गर्ने दायित्व प्रेस काउन्सिल नेपालको रहेको र काउन्सिलले त्यस्तो अभ्यास गरिरहेको अवस्थामा प्रशासनिक निकायलाई कारबाहीसम्मको अधिकार दिनु पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको ठाडो उल्लङ्घन हो’, महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघले गृह मन्त्रालयको निर्देशन तत्काल फिर्ता लिन पनि माग गरेको छ ।