
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १२ चित्रपुरस्थित सरस्वती आधारभूत विद्यालयका राहत शिक्षक गंगा जोशी एक वर्ष अघि धर्म जनता माध्यमिक विद्यालयमा स्टेशनमा सरुवा भएर गइन् ।
धर्म जनता माविका शिक्षक चन्द्रा कार्की अमेरिका हिँडेपछि शिक्षक दरबन्दी रिक्त थियो । विद्यालयले नयाँ शिक्षक नियुक्ति प्रक्रिया सुरु नगरी जोशीलाई सरुवाको सहमति दियो । जोशीले सरुवा भएर अहिले धर्म जनता माविमा पढाई रहेकी छन् ।

जोशीको सरुवापछि सरस्वती आधारभूतले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबाट गत वर्ष फागुनमा नयाँ शिक्षक नियुक्तिका लागि अनुमति लिएर प्रक्रिया अघि बढायो ।
विद्यालयले हालसम्म शिक्षक नियुक्तिका लागि तीन पटक विज्ञापन गरी प्रक्रिया अघि बढाउँदा समेत शिक्षक नियुक्त गर्न सकिएको छैन । विद्यालयले चौथो पटक विज्ञापनका लागि शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा गुहारेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रजापति जोशीले तीन पटक विज्ञापन खोलेर प्रक्रिया अघि बढाउँदा परीक्षा हुन नसकेर नयाँ शिक्षक नियुक्त गर्न नसकिएको बताए ।
‘तीन पटक विज्ञापन खोल्यौ, परीक्षा हुन दिइएन’ उनले भने,‘अब चौथो पटक विज्ञापनका लागि नगरपालिका गएका छौ, नगरपालिकाले पनि केही भनेको छैन ।’
रिक्त दरबन्दीमा करार सूचीबाट राख्ने समय सकिएपछि खुलाबाट २३ जनाले आवेदन दिएका छन् ।
प्रधानाध्यापक जोशीले शिक्षक जोशी आफ्नो हिसाबले सरुवा भएर गएको बताइन् । उनी सरुवा भएर गएपछि विद्यालयमा पठनपाठन र नयाँ शिक्षक नियुक्तिको समस्या देखिएको बताए ।
‘समस्या छ, एकातिर शिक्षक नभएर पठनपाठनमा समस्या छ, अर्कोतिर नयाँ शिक्षक नियुक्तिका कारण समस्या छ’ उनले भने ।
शिक्षक दरबन्दी रिक्त भएको विद्यालय धर्म जनताले शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेमा सरस्वती आधारभूत विद्यालय नयाँ शिक्षक नियुक्ति विवादमा फसेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका शाखा अधिकृत रुप राम तिरुवा अस्थायी, राहत र करार शिक्षकको सरुवा हुने कानुनी व्यवस्था नभएको बताउँछन् ।
‘शिक्षक दरबन्दी मिलानका क्रममा मिलान गर्न सकिन्छ, त्यस बाहेक अन्य अवस्थामा अस्थायी, राहत र करार शिक्षकको सरुवा हुँदैन’ उनले भने ।
शिक्षक सरुवाको अधिकार संघ सरकार मातहतको शिक्षा विकास तथा समन्वय इकाईलाई छ । समन्वयका शाखा अधिकृत तिरुवा भने समन्वयबाट सरस्वती आधारभूत विद्यालयका शिक्षक जोशीलाई सरुवा भएकोबारे आफूलाई थाहा नभएको बताउँछन् ।
‘यसबारे मलाई थाह भएन, म सहभागी भएको बैठकबाट निर्णय भएको छैन, म बाहिर भएको बेलामा निर्णय गरेको भए मलाई थाह भएन’ उनले भने ।
शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत सुरेश भट्टले शिक्षा विकास तथा समन्वय इकाईबाट जोशीको सरुवा भएको हुन सक्ने बताए । ‘शिक्षक सरुवा गर्ने अधिकार नगरपालिकासित हुँदैन, नगरपालिकामा दोहोरो सहमति आएपछि यसमा के गर्न सकिन्छ भनेर समन्वय इकाईमा पठाएका हौ, त्यहींबाट सरुवा भएको होला’ उनले भने ।
शिक्षा विकास तथा समन्वय इकाई स्रोतका अनुसार इकाई प्रमुख दिपकराज कलौनीले शिक्षा शिक्षा समितिबाट राहत शिक्षक जोशीको सरुवा गराएका हुन् । जोशी कलौनीकी नातेदार हुन् । राहत शिक्षक सरुवाको स्पष्ट कानुनी व्यवस्था नभएपपछि उनले शिक्षा समितिमा लगेर निर्णय गरी सरुवा गरएका हुन् ।
‘राहत शिक्षकको हकमा सरुवा गर्ने नगर्ने भन्ने केही छैन, त्यही अस्पष्ट कानुनी प्रावधान टेकेर शिक्षा समितिमा लगेर सरुवा गर्ने निर्णय गरिएको हो’ समन्वय इकाई स्रोतले भन्यो ।
यस अघि पनि समन्वय इकाईले शिक्षा समितिका पदाधिकारी र समन्वय इकाईका अधिकारीका आफन्त र नातेदारलाई शिक्षा समितिबाट निर्णय गराएर सरुवा गराएका थिए ।
डेढ दशकदेखि सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक जोशी घर पायक खोजेर धर्म जनता आएकी हुन् । शिक्षा विकास समन्वय इकाई प्रमुख कलौनीले जोशीलाई धर्म जनता माविमा सरुवा गराउन शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सबैको साथ पाएका छन् ।
शिक्षा समितिमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा अध्यक्ष छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख समितिमा सदस्य सचिव हुन्छन् । शिक्षा समिति अध्यक्ष बोहराले शिक्षा समितिका माइन्युट आफैंसित लगेर जाने गरेको समन्वयका अधिकारीहरु बताउँछन् ।
शिक्षा समन्वय इकाई प्रमुख कलौनी पनि स्पष्ट कानुनी व्यवस्था नभएकाले शिक्षा समितिले सरुवा गर्न पाउने बताउँछन् । ‘यसमा सरुवा नगर्न भनेर कही लेखेको छैन, एक पालिकाको एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्न पाउँछ’ उनले भने,‘त्यसका लागि शिक्षा समितिको निर्णय चाहिन्छ ।’
सरस्वतीबाट धर्म जनतामा सरुवाबारे भने आफूलाई थाहा नभएको बताए । उनले यसबारे सबै कुरा शाखा अधिकृत रुप राम तिरुवालाई जानकारी हुने र सबै कुरा तिरुवालाई सोध्नु पर्ने बताए ।
शाखा अधिकृत तिरुवाले जोशीको सरुवा पालिकाले गरेको हुनु पर्ने बताए । सरस्वती आधारभूत विद्यालयले पछिल्लो पटक २०८० मंसिर २७ गते परीक्षा रोको थियो । त्यसका लागि समन्वय इकाईले विद्यालयको सिफारिश अनुसार प्रजापति नेगी र देबी कुमारी शाहलाई विज्ञ पठाएको थियो ।
विद्यालयले २०७९ फागुनमा पहिलो पटक नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन गरेको थियो । कुरार सूचीबाट नियुक्तिका लागि खोलिएको विज्ञापनको म्याद सकिएपछि खुला नियुक्तिका लागि सात दिने सूचना जारी गरिएको थियो ।
शिक्षा विकास समन्वय इकाईका अनसार त्यति बेला करार सूचीमा ३२ जना शिक्षक थिए । खुला विज्ञापनमा आवेदन दिएका २३ जनामध्ये अधिकाँशले नियुक्तिका लागि विद्यालयमाथि दबाव दिएका छन् । उनीहरुको दबावका कारण परीक्षा हुन नसकेर चौथो पटक विज्ञापन खोल्ने तयारी गरिएको छ ।
शिक्षा विकास समन्वय इकाईले भने शिक्षक नियुक्तिमा कार्यालयले केही गर्न नसक्ने जवाफ दिएको छ । इकाईका सूचना अधिकारी राजेन्द्र भट्टले विद्यालयले शिक्षा नियमावली अनुसार परीक्षा गरी नयाँ शिक्षक नियुक्त गर्न पर्ने बताए ।
‘जसरी पनि त्यो दरबन्दी खाली छ, त्यसमा छिटो छिटो नयाँ शिक्षक नियुक्ति गरिनु पर्छ,’ उनले भने,‘त्यसका लागि नियम अनुसार परीक्षा सञ्चालन गरिनु पर्छ ।’
शुक्लाफाँटा नगरपालिका ७ स्थि धर्म जनतामा सरुवा भएका शिक्षक जोशीलाई पनि फिर्ता पठाउन विद्यालयमाथि दबाव परेको छ ।
केही दिन अघि स्थानीयले विद्यालयमा पुगेर जोशीलाई फिर्ता गरी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाृउन दबाव दिएका छन् ।
शुक्लाफाँटा नगरपालिका ७ का निवर्तमान अध्यक्ष वडा अध्यक्ष जगत बहादुर सिहले काुनन मिचेर शिक्षक सरुवा हनु गलत भएको बताए । ‘धर्म जनताले रिक्त दरबन्दीमा शिक्षक नियुक्ति अघि बढाउनु पथ्र्यो,’ उनले भने,‘अझै पनि उताबाट शिक्षकलाई फिर्ता गरी नयाँ शिक्षक नियुक्ति अघि बढाउनु सकिन्छ ।’
