
बाल संगठनले सार्वजनिक सूचना लगाएपछि भाडामा बस्दै आएका वासिन्दा संगठित, खड्काको नेतृत्वमा संघर्ष समिति गठन
महेन्द्रनगर । नेपाल बाल संगठन बाल मन्दिरको जमिनमा भाडामा बस्दै आएका वासिन्दाले आफूहरुलाई अतिक्रमणकारी भनेर हटाउन सार्वजनिक सूचना जारी गरिएकोमा आक्रोश पोखेका छन् । उनीहरुले आफूहरु अतिक्रमणकारी नभएर बाल संगठनलाई भाडा बुझाएको बस्दै आएको बताएका हुन् ।
बाल संगठनले पाँच दिन अघि आफ्नो जमिनमा बस्दै आएका सबैलाई घर हटाएर खाली गर्न सार्वजनिक सूचना लगाएको थियो । गृह मन्त्रालयले सार्वजनिक सरकारी जग्गाको अतिक्रमण हटाउने निर्देशन अनुसार संगठनले प्रशासनसित समन्वय गरी वस्ती खाली गर्न सूूचना लगाएको हो ।
बाल संगठनको सूचनापछि भाडामा बस्दै आएका वासिन्दाले संघर्ष समिति बनाएका छन् । उनीहरुले डम्बर खड्काको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् ।
आइतबार संघर्ष समितिले पत्रकार सम्मेलन गरी बाल संगठनले आफूहरुलाई जानकारी नदिई अचानक सूचना लगाएको भन्दै आक्रोश पोखे ।
‘हामीहरु २०५४ सालदेखि सम्झौता गरेर नै यो जमिनमा बस्दै आएको छौ । २०६४ देखि सम्झौता नभए पनि भाडा तिर्दै आएका छौ’ संघर्ष समितिका संयोजक खड्काले भने,‘संगठनले नै हामीलाई जमिन दिएर भाडामा बसालेको हो, अहिले अतिक्रमणकारी भनिरहेका छन, तर हामी होईनौँ ।’
पत्रकार सम्मेलनमा उनीहरुले अतिक्रमण गरिएको जमिन खाली गरिनु पर्ने बताए । उनीहरुले सार्क स्कुल र अपि फर्निचरलाई भाडमा दिने निर्णय यथावत राखिएको समेत आपत्ति जनाए ।
‘अतिक्रमण भएको जमिन हटाएर हामी स्वत हट्छौँ, ‘उनले भने, ‘पहिल्यै हामीमाथि अन्याय नहोस’ खड्काले भने ।
बाल संगठनले सूचना जारी गरेपछि खड्का लगायतका वासिन्दाले दुई दिन अघि भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीलाई भेटेर समस्या राखेका थिए ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले शनिबार एक कार्यक्रममा एसएलसी चलेका बेला एकाएक आएर बाल मन्दिर र वसपार्क पछाडिको वस्ती हटाउने कुरा गरिएको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।
मेयर बोगटीले चैत २२ गते प्रशासनले कार्यालयले गर्ने सर्बदलीय बैठकमा आफैं जाने घोषणा गरेका थिए ।
