बाल मन्दिरमा बबालको संकेत, सार्क स्कुल र अपि फर्निचर निशानामा

महेन्द्रनगर । बाल मन्दिर बाल संगठनले आफ्नो जमिनमा बस्दै आएका खोका छाप्रा व्यवसायीलाई खाली गर्न सार्वजनिक सूचना जारी गरेपछि सार्क स्कुल र अपि फर्निचरमाथि प्रश्न उठेको छ ।

बाल मन्दिरको जमिन लिजमा लिएर खोका छाप्रा बनाएर बस्दै आएका वासिन्दाले आइतबार पत्रकार सम्मेलन गरी सार्क र फर्निचरलाई यथावत राखेर आफूहरुलाई मात्रै हटाउन लागिएको भन्दै आक्रोश पोखेका छन् ।

बाल मन्दिर खोका छाप्रा संघर्ष समितिका संयोजक डम्बर खड्काले आफूहरु गरीब भएकाले हटाउन खोजिएको बताए ।

‘हामी पनि भाडामा दिएपछि बस्दै आएका छौ, त्यो सार्क र फर्निचरलाई केही पनि भनिएको छैन’ उनले भने,‘हामी गरीब भएर हटाउन खोजिएको छ, हामी अतिक्रमणकारी होइनौ, भाडामा जमिन दिएर बसेका हौ ।’

बाल मन्दिरले २०५४ मा लिजमा जमिन दिएपछि खोका छाप्रा सञ्चालनमा आएका हुन् । उनीहरुले २०६४ पनि नविकरण नभएर बाल मन्दिरलाई भाडा बुझाउँदै आएको बताएका छन् ।

बाल मन्दिरको जमिनमा सार्क र अपि फर्निचरलाई भने हटाउन सूचना जारी गरिएको छैन । ती दुबैलाई २०÷२० वर्षका लागि भाडामा दिइएको बताइन्छ ।

खोका छाप्रामा बस्दै आएका वासिन्दाले बाल मन्दिरको सबै जमिन खाली गरिनु पर्ने बताएका छन् । उनीहरुले आफूहरुलाई मात्रै हटाउन नहुने भन्दै संघर्ष समिति बनाएका छन् ।

संघर्ष समितिको मागलाई राजनीतिक दलका नेताहरुले समर्थन गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य रामचन्द्र रेग्मीले सार्क स्कुल र अपि फर्निचरलाई २०÷२० वर्ष भाडामा लिएर गरीबलाई जबरजस्ती हटाउने निर्णय मान्य नहुने बताए ।

माओवादी केन्द्रका नेता पदमराज जोशीले बाल संगठनले नै दिएको जमिनमा बस्दा अतिक्रमणकारीको बिल्ला भिराउने काम निन्दनिय भएको बताए । नेता जोशीले निमुखा जनतामाथि अन्याय गर्न नहुने र वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि डण्डा बजाउनु पर्ने बताए ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव लाल बहादुर कुँवरले वास्तविक सरकारी जमिन अतिक्रमणकारीमाथि एक्सन गर्नुपर्नेमा सम्झौता अनुरुप सरकारी निकायले नै बसालेका जनतालाई उचित व्यवस्थापन गरेर अघि बढ्नु पर्ने बताए ।

नेपाल बाल संगठनका अध्यक्ष राम बहादुर बुढाले उक्त जमिन बाल संगठनको योजना अनुरुप बाल उद्यान बनाउनका लागि खाली गर्न लागेको बताए । ‘सार्क र अपिको छुट्टै समस्या हो, ‘उनले भने, ‘खोकाछाप्राको सम्झौता सकिएको हो, अपि र सार्कको बाँकी छ ।’

सम्बन्धित
Loading...