ghar sansar

तत्कालिन नेशनल ट्रेडिङ्गको जमिन भाडामा दिँदा ठेकेदारले पगडी भन्दै करोडौ रकम अशुली गरेको खुलासा, प्रशासनको सर्बदलीय बैठकमा उठ्यो फिर्ताको कुरा

महेन्द्रनगर । खाद्य व्यापार व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाली गर्न वसपार्क पछाडिको जमिनमा बस्दै आएका व्यवसायीबाट अवैध रकम अशुली गरिएको खुलासा भएको छ । तत्कालिन नेशनल ट्रेडिङ्ग कम्पनीबाट जग्गा भाडामा लिएपछि भीमदत्त नगरपालिका ४ का महेश जोशीले ५० हजारदेखि तीन लाखसम्म रकम लिएको बाहिर आएको हो ।

जोशीले २०७० मा नेशनल ट्रेडिङ्गबाट पाँच वर्षका लागि जग्गा भाडामा लिएका थिए । उनले जग्गा भाडामा दिए वापत पगडी भन्दै जमिनको रकम लिएका छन् । व्यवसायीहरुका अनुसार उनीहरुले जोशीलाई ४० करोड बढी रकम बुझाएका छन् । त्यस क्षेत्रमा झण्डै दुई सय जना जग्गा भाडामा लिएर खोका छाप्रा बनाएका छन् । जोशीलाई रकम बुझाएपछि उनीहरुले निश्चित भाडा तिर्ने गरी आफैंले संरचना बनाएका हुन् ।

अहिले यो जग्गाको स्वामित्व खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मातहत आएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सर्बदलीय बैठकमा सहभागीहरुले व्यवसायीहरुबाट लिएको रकम फिर्ता हुनु पर्ने बताए ।

सरकारी जमिन भाडामा दिएपछि नगद रकम लिएर दिइएकाले तत्कालिन ठेकेदारले रकम फिर्ता गर्नु पर्ने उनीहरुको भनाई थियो । सहभागीहरुले व्यवसायीहरुलाई हटाउन अघि उनीहरुलाई लिइएको रकम फिर्ता गर्न प्रशासन कार्यालयले गम्भीर हुनु पर्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोका छाप्रा खाली गर्न सूचना लगाएपछि व्यवसायीहरुले नयाँ बजार संघर्ष समिति बनाएका छन् । समितिले केही दिन अघि प्रशासन कार्यालय सहितका निकायलाई बुझाएको ज्ञापन पत्रमा पनि जोशीलाई ५० हजारदेखि दुई लाखसम्म रकम बुझाएको उल्लेख गरिएको थिये । प्रशासनको सर्बदलीय बैठकमा ३ लाखसम्म रकम बुझाइएको सहभागीहरुको भनाई थियो ।

नयाँ बजार संघर्ष समितिले कम्पनीले खाली गर्ने सूचना रद्द गर्नु पर्ने माग गरेको छ । बिहीबार प्रशासन कार्यालयमा बसेको बैठकमा खोका छाप्रा हटाउन १५ दिन थप म्याद दिने निर्णय गरिएको छ ।

कम्पनीको झण्डै डेढ बिगाहा जमिनमा खोका छाप्रा निर्माण गरिएका छन् । जोशीपछि दुई जनाले जग्गा भाडामा लिएका छन् । जोशीपछि प्रगति कन्स्ट्रक्सनका बीर बहादुर बुढाथोकीले भाडामा लिएका थिए । बुढाथोकीको म्याद असार मसान्तमा सकिएको थियो ।

कम्पनीले कार्तिक २७ गते भूमिराज ढुवानी सेवाका प्रेम बहादुर विष्टलाई दुई वर्षका लागि जग्गा भाडामा दिएको थियो । विष्टको सम्झौता अवधि वर्ष दिन नपुग्दै कम्पनीले चैत १५ गते सार्वजनिक सूचना आव्हान गरेको थियो ।

सर्बदलीय बैठकमा यस विषयमा कुरा उठे पनि निर्णय भएको छैन । बैठकले उनीहरुलाई १५ दिन थप म्याद दिने निर्णय गरेको छ ।

बैठकमा तत्कालिन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमण खाली गर्ने विषयले प्राथमिता नपाएर बिहीबार पनि नेपाल बाल संगठन, खाद्य व्यापार कम्पनी र यातायाता व्यवस्था कार्यालयका खोका छाप्रा हटाउने विषयलाई फेरि प्राथमिकता दिएको छ ।

गृह मन्त्रालयले सरकारी सावर्जनिक जग्गाको अतिक्रमण खाली गर्न निर्देशन दिएपछि चैत ६ गते प्रशासन कार्यालयमा बसेको सर्बदलीय बैठकले अतिक्रमण खाली गर्ने निर्णय गरेको थियो । त्यस दिनको निर्णय अनुसार बाल संगठन, खाद्य व्यापार कम्पनी र यातायात व्यवस्था कार्यालय अगाडिका खोका छाप्रा हटाउने निर्णय गरी सार्वजनिक सूचना गरिएको थियो ।

प्रशासन कार्यालयले ७ दिनभित्र खोका छाप्रा हटाउन सात दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना अनुसार खाली नभएपछि बिहीबार प्रशासन कार्यालयमा बसेको बैठकले फेरि ७ दिने सूचना जारी गर्ने निर्णय सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले खोका छाप्रो हटाउने अन्तिम मौका दिएको सूचनामा उल्लेख गरेका छन् । उनले खोका छाप्रा हटाउन अटेर गरिए कानुन अनुसार हटाइने चेतावनी दिएका छन् ।

प्रशासन कार्यालयले बिहीबार अतिक्रमण हटाउने गरिएका प्रयासहरुको समीक्षा गर्न सर्बदलीय बैठक गरेको हो । बैठकमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, भीमदत्त नगरपालिकाका मेयर सहित जनप्रतिनिधि र विभिन्न कार्यालयका प्रमुख सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...