महेन्द्रनगर । भारत उत्तराखण्डको नैनीताल बेतालघाट क्षेत्रमा जीप भीरमा खसेर सात नेपालीको मृत्यु भएको छ । नैनितालमा खानेपानी आयोजनाको काम सकेर घर फर्किँदै बर्दियाका ७ नेपाली कामदार सवारी गाडी भीडमा खसेर उनीहरुको ज्यान गएको छ । दुर्घटनामा जीप चालकको मृत्यु भएको छ ।
बिहान खानेपानी आयोजनाको काम सकिएपछि उनीहरु सबै गाडी बुक गरेर हल्द्वानी निस्किन थालेका थिए । स्थानीय प्रहरीका अनुसार जीप चल्न सुरु भए लगत्तै भीरमा खसेको हो ।
युके ०४ सीसी ०४९५ नम्बरको बुलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी छन् ।
दुर्घटनामा घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ ।