महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क रुपमा प्रदान हुँदै आएको रेबिज विरुद्धको भ्याक्सिन सकिएको छ । अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारको आपूर्ति महाशाखाबाट भ्याक्सिन आपूर्ति हुँदै आएको थियो ।
झण्डै एक सातादेखि अस्पतालमा भ्याक्सिन सकिएको हो । अस्पतालका स्वास्थ्यकर्मीहरुका अनुसार शुक्रबार दिउँसोदेखि भ्याक्सिन सकिएको हो । अस्पतालले एआरभी कक्षमा भ्याक्सिन बन्द भएको सूचना लगाएको छ । अहिले बाहिरबाट भ्याक्सिन किनेर लैजाने सेवाग्राहीलाई एआरभी कार्यकक्षमा भ्याक्सिन लगाई दिने गरिएको छ ।
‘रेबिज भ्याक्सिन अस्तिदेखि सकियो, हामीसित एभेलेबल छैन’ अस्पतालको एआरभी शाखाका स्टाफ नर्स निशा दानीले भनिन्,‘भ्याक्सिन लिएर आउनेलाई यहाँ लगाई दिइ रहेका छौ ।’
उनका अनुसार भ्याक्सिन लगाउन दैनिक २५–३० जना आइ रहेका छन् । भ्याक्सिन नभएपछि उनीहरुलाई बाहिरबाट लिएर आग्रह गर्दै आएका स्टाफ नर्स दानीले बताइन् ।
‘दैनिक रुपमा आउनु हुन्छ, पहिलो डोजन लगाउने आउनु हुन्छ, दोस्रो र तेस्रो डोज लगाउने पनि आउनु हुन्छ, वहाँहरु सबैलाई बाहिरबाट लिएर आउनु भन्नु पर्ने अवस्था छ’ उनले भनिन्,‘वहाँहरु बाहिरबाट लिएर आउनु हुन्छ, हामीले लगाई दिन्छौ ।’
अस्पतालले कुकुरले टोकेमा एन्टी रेबिज विरुद्ध निःशुल्क रुपमा भ्याक्सिन लगाउँदै आएको हो । बाहिर निजी औषधि पलसबाट किन्दा यो भ्याक्सिनको मूल्य ६ सय रुपैँया भन्दा बढी पर्छ । रेविज विरुद्ध तीन पटक भ्याक्सिन लगाउने गरिन्छ ।
कुकुरले टोकेपछि अस्पताल आउने सेवाग्राहीले बाहिरबाट भ्याक्सिन किनेर अस्पताल लैजाने गरेका छन् । केही सेवाग्राहीले स्वास्थ्यकर्मीसित भ्याक्सिन नपाएपछि असन्तुष्टि समेत पोख्ने गरेका छन् ।
बेदकोट नगरपालिका लालपुरका प्रकाश सिकर्मीले बुधबार अस्पतालमा स्वास्थ्यकर्मीसित भ्याक्सिन नहुन हेलचेक्र्याई भएको गुनासो पोखे ।
‘भ्याक्सिन कहिले आउँछ, यो त एकदमै हेलचेक्र्याई भयो’ छोरालाई भ्याक्सिन लगाउन आएका उनले एआरभी शाखाका स्टफा नर्स दानीलाई भने,‘सरकारी अस्पताल भएपछि सरकारले उपलब्ध गराउन पर्छ त ।’
सिकर्मीका छोरा अरिवरलाई केही दिन अघि कुकुरले टोकेपछि उनले चैत २४ गते पहिलो भ्याक्सिन लगाएका थिए । त्यसपछि दोस्रो लगाएका उनी तेस्रोका लागि बुधबार अस्पताल आएका हुन् ।
एआरभी शाखाका अनुसार भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा नगरपालिका लगायतका क्षेत्रबाट भ्याक्सिन लगाउने सेवाग्राही आउने गरेका छन् ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले प्रदेश आपूर्ति महाशाखाबाट नआएपछि भ्याक्सिन सकिएको बताए । ‘अस्पतालमा प्रदेश आपूर्ति महाशाखाबाट मागका आधारमा भ्याक्सिन आउने गरेको थियो, अहिले त्यहाँबाट नआएपछि भ्याक्सिन आएको छैन’ उनले भने,‘नआएपछि अहिले निःशुल्क भ्याक्सिन लगाउने कार्य गर्न सकिएको छैन ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भट्टका अनुसार आपूर्ति महाशाखाबाट अस्पताललाई १५ दिनका लागि दुई सय भाइल भ्याक्सिन उपलब्ध हुँदै आएकोमा अहिले रोकिएको हो ।
‘भ्याक्सिन सकिएपछि महाशाखामा पठाएका छौ, त्यहाँबाट पनि आएको छैन, आपूर्ति महाशाखाबाट पनि संघबाट आएको छैन भन्ने जानकारी आएको छ’ उनले भने,‘आपूर्तिबाट नआएसम्म सेवा दिन सक्ने अवस्था छैन ।’
अस्पतालमा भ्याक्सिन आउने समय यकिन नभएको डा. भट्टले बताए । संघ सरकारले भ्याक्सिन खरिद प्रक्रिया अघि बढाएकाले केही समय लाग्ने जानकार्ी आएको उनले बताए ।
‘माथि टेण्डर प्रक्रिया अघि बढेको छ भन्ने जानकारी आएको छ, त्यो प्रक्रियाबाट भ्याक्सिन खरिद भएपछि मात्रै आउने हो’ उनले भने,‘त्यस कारण कम्तिमा डेढ दुई महिनामा भ्याक्सिन आउँछ होला ।’
अस्पतालको तथ्याङ्क अनुसार हालसम्म मासिक रुपमा २ सयदेखि २ सय ५० जनाले निःशुल्क रेविज विरुद्धको भ्याक्सिन लगाएका छन् ।
छाडा कुकुरको बिगबिगगी र रेबिजले अकाल ज्यान जाने चेतना बढेपछि अस्पतालमा भ्याक्सिन लगाउने सेवाग्राहीको संख्या बढेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट भट्टले रेविज विरुद्धको बढेको जनचेतनाले भ्याक्सिन लगाउने सेवग्राही बर्सेनी बढेका छन् । ‘रेबिज लागेपछि भ्याक्सिन लगाउने बाहेक अन्य कुनै बच्ने उपाय छैन’ उनले भने ।
गत वर्ष कञ्चनपुरमा रेविज रोग लागेर दुई जनाको ज्यान गएको थियो । गत वर्ष असारदेखि दुई महिना भ्याक्सिन लगाउन बन्द भएको थियो ।
अस्पतालमा भ्याक्सिन सकिने समस्यालाई गम्भीर रुपमा लिनु पर्ने भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले बताए । ‘यो स्वास्थ्यसंग संवेदशिल विषय हो, अस्पतालमा भ्याक्सिन सकिन निकै दुःखद कुरा हो’ उनले भने,‘सरकारले छिटो भन्दा छिटो भ्याक्सिन उपलब्ध गराउन पर्छ ।’
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले रेविज विरुद्धको भ्याक्सिन प्रदेश सरकारको आपूर्ति महाशाखाबाट आएपछि मात्रै उपलब्ध गराउन सकिने बताए ।
‘यो प्रदेश आपूर्ति महाशाखाबाट उपलब्ध हुने हो, यो अस्पतालको हातमा होइन, सेवाग्राही मारमा परेका छन्, सेवा रोकिँदा हामीलाई राम्रो लागेको छैन’ उनले भने,‘हामीले पनि भ्याक्सिनका लागि हारगुहार गर्ने निकाय नै आपूर्ति महाशाखा हो, त्यहाँ पनि छैन भन्ने जानकारी आएको छ, त्यही भएर आपूर्ति महाशाले नदिएसम्म सेवा सञ्चालन गर्ने अवस्था छैन ।’
महाकाली प्रादेशिक अस्पताल बाहेक धनगढीको सेती प्रादेशिक अस्पतालमा पनि भ्याक्सिन सकिएको छ । सेती प्रादेशिक अस्पतालले केही दिन अघि भ्याक्सिन बन्द भएको र सेवाग्राहीले बाहिरबाट किनेर ल्याएर लगाई दिने व्यवस्था गरिएको सूचना सार्वजनिक गरेको थियो ।