महेन्द्रनगर । आठ विषयमा स्नातकोत्तर(डिग्री) गरेका शिक्षण र राजनीति क्षेत्रमा परिचित हिरा चन्दले विद्यावारिधि (पीएचडी) गरेका छन् । चन्दले कुमाउ विश्वविद्यालयबाट राजनीतिक शास्त्र अन्र्तगत नेपालको राजनीतिक संस्कारमा विद्यावारिधि हासिल गरेका हुन् ।
यस अघि उनले कुमाउ विश्वविद्यालयबाट राजनीतिक शास्त्र, अर्थशास्त्र, समाज शास्त्र र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका हुन् । उत्तराखण्ड खुला विश्वविद्यालयबाट योगाचार्य गरेका उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एलएलबी गरेका छन् ।
महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसबाट बीएड गरेका उनले केही दिन अघि कुमाउ विश्वविद्यालयमा विद्यावारिधि गरेका छन् । उनी अब डा. हिरा चन्द भएका छन् ।
सिद्धनाथ विज्ञान क्याम्पसबाट आइएस्सी गरेका चन्दले गड्डाचौकीस्थित सिद्धनाद्ध अमर माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन् । गड्डाचौकीमा कक्षा ९ र १० पढेका उनको कक्षा ८ सम्म पठनपाठन पुख्र्यौली बैतडीमा भएको थियो ।
बैतडीको शिवनाथ गाउँपालिका ५ कपाडी सिमलमा जन्मिएका चन्दको प्रारम्भिक शिक्षा उदय मावि कफाडीमा भएको थियो । उनी उदय माविका पहिलो ब्याचका विद्यार्थी हुन् ।
विशालपुर मावि रोकटामा कक्षा ६ र ७ का पढेका उनले कक्षा ८ को पढाई विजय मावि तितावैमा गरेका थिए । कक्षा ८ पछिको तराई उनले तराईमा गरेका छन् ।
गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीका संस्थापक चन्द विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी डायमण्ड नामले परिचित छन् । प्याब्सन केन्द्रीय समितिमा सल्लाहकार भएका उनी महाकाली साहित्य संगममा सदस्य र समाज कल्याण बाल अञ्चल अनाथालयमा उपाध्यक्ष छन् ।
एमनेस्टी इन्टरनेशनमा सदस्य र पतञ्जली योग समितिमा उनी सल्लाहकार छन् । गड्डाचौकीस्थित सृृजनात्मक बचत तथा ऋण सहकारी संस्थामा सदस्य भएका उनी विभिन्न संघ संस्थामा आवद्ध छन् ।
चन्द स्वर्गिय सुनादेबी चन्द र गोपी चन्दका सातौ सन्तान हुन् । एमाले राजनीतिमा सक्रिय उनी नवौ अधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए । एमालेको नेपाल बुद्धिजीवि परिषद्को केन्द्रीय सदस्य उनी यस अघि सुदूरपश्चिम प्रदेश कमिटी सदस्य थिए ।
एमालेमा उनी बौद्धिक नेताको रुपमा परिचित छन् । उनले नयाँ वर्षको अवसर पारी पुख्र्यौली शिवनाथमा प्रारम्भिक शिक्षा हासिल गरेको उदयदेब र मूल देवता उदय देवको नाममा अक्षय कोष स्थापना गर्ने भएका छन् । स्वर्गिय आमा बुवा र दाईको सम्झनामा अक्षय कोष स्थापना गर्ने चन्दले बताए ।