ghar sansar

भीमदत्तमा अतिक्रमण हटाउने अभियान : खोका छाप्रामा डोजर, शक्तिशालीका सटरमा पुगेन नजर

महेन्द्रनगर । मालपोत र यातायात व्यवस्था कार्यालय अगाडिका खोका छाप्रा हटाई पनि सरकारी जमिन अतिक्रमण निर्माण गरिएका पक्की संरचनालाई वेवास्ता गरिएको छ ।

महाकाली आयुर्वेद चिकित्सालयसंगैको सरकारी जमिन समेत अतिक्रमण गरी पक्की संरचना बनाइएका छन् । होटल ओपेराका सञ्चालक खगेश्वर बोहरा सहितका व्यवसायीले त्यस क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरी संरचना बनाएका छन् । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिन अघि जनप्रतिनिधिको उपस्थितिमा सुरक्षाकर्मी लगाएर यातायात र मालपोत कार्यालय अगाडिका संरचना भत्काएको थियो । ती कार्यालयका अगाडिका संरचना भत्काएपछि मात्रै सरकारी जमिन समेत अतिक्रमण गरी बनाइएका संरचनामा रातो मार्किङ्ग गरिएका छन् ।

सटर बनाएर भाडामा लगाइएका छन् । ती सबै सटर भाडामा लगाइएका छन् । ती सटरहरुको अघिल्लो भाग सरकारी जमिन अतिक्रमण गरी बनाइएको छ । 

भीमदत्त नगरपालिकाका अमिनले केही दिन अघि रातो मार्किङ्ग गरेका थिए । खोका छाप्रा हटाएपछि मात्रै मार्केकिङ्ग गरिएको छ । खोका छाप्रा हटाउँदा भने ती संरचना हटाउन वेवास्ता गरिएको थियो । 

प्रशासनले यातायात व्यवस्था र मालपोत कार्यालय अगाडिमा चार दर्जन बढी खोका छाप्रा हटाएको छ । ती खोका छाप्राले भीमदत्त नगरपालिकालाई मासिक र दैनिक राजश्व तिर्दै आएका थिए । 

खोका छाप्रा हटाउन भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहित प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्द लगायत आफैं सहभागी भएका थिए ।

प्रशासन कार्यालयमा चैत ६ गते बसेको बैठकले पहिलो चरणमा यातायात, मालपोत, नेपाल बाल संगठन र खाद्य व्यापार कम्पनी लिमिटेडको अतिक्रमण खाली गर्ने निर्णय गरेको थियो । त्यसपछि चैत २२ गते प्रशासन कार्यालयमा बसेको अर्को सर्बदलीय बैठकले ७ दिने सूचना थप गरी खोका छाप्रा हटाउने म्याद बढाएको थियो ।

नेपाल बाल संगठन र खाद्य व्यापार कम्पनी लि.को जमिनमा भाडामा बस्दै आएका व्यवसायीले संघर्ष समिति गठन गरेपछि राजनीतिक दल र प्रशासन हच्किएका छन् । ती दुबै स्थानको खोका छाप्रा हटाउन एक महिनाको समय दिइएको थियो । २२ चैतको सर्बदलीय निर्णय अनुसार मालपोल र यातायात व्यवस्था कार्यालय अगाडिका खोका छाप्रा हटाइएका हुन् ।

प्रशासन कार्यालयले खोका छाप्रा हटाएपछि सरकारी जमिन अतिक्रमण गरी निर्मित संरचना व्यवसायी आफैंले हटाउने तयारी गरेका छन् । उनीहरुले सरकारी जमिनमा निर्मित संरचना भत्काएर पछाडि आफ्नो जमिनमा विस्तार गर्ने गरी हटाउन लागेका छन् ।

नेपाल खाद्य संस्थान अन्र्तगतको धान कुटानी पिसानी मिलको जमिन व्यवसायी बोहरा सहित हर्क बहादुर मल्ल, मनिराज पाण्डेय लगायतले केही वर्ष अघि लिलाममा किनेका थिए । उनीहरु सबै शिवशक्ति ग्रुफका सञ्चालक हुन् । सरकारी जमिन किनेपछि उनीहरुले सरकारी जमिन अतिक्रमण गरी कोठा बनाएर भाडामा लगाएका हुन् ।

चैत २२ गते प्रशासन कार्यालयम बसेको सर्बदलीय बैठकमा यो जमिनको विषयमा कुरा उठेको थियो । बैठकमा सहभागीले सरकारी जमिन कानुन मिचेर व्यक्तिको नाममा नामसारी गरिएकाले छानबिन गर्न पर्ने माग उठेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले सरकारी जमिन कानुन मिचेर व्यक्तिको नाममा लिलाम गरी बिक्री गरिएको भन्दै छानबिन गरी फिर्ता ल्याउनु पर्ने धारणा राखेका थिए ।

सर्बदलीय बैठकमा रावल बाहेक अन्यले पनि सरकारी जमिन व्यक्तिलाई बिक्री गरिएको भन्दै छानबिनको माग उठाएका थिए ।

बैठकमा सहभागीका अनुसार धान कुटानी पिसानी मिलको मिलेमतोमा लिलाम गरी कञ्चनपुर बाहिर मालपोत कार्यालयबाट नामसारी गरिएको थियो ।

सर्बदलीय बैठकमा सरकारी जमिन व्यक्तिलाई बिक्री गरिएको विषय उठे पनि प्रशासनले त्यसलाई वास्ता नगरी यातायात र मालपोत अगाडिका खोका छाप्रालाई निशाना बनाएको थियो ।

जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा यस बाहेक वन कार्यालय नजिक र कटानमा सरकारी जग्गा अतिक्रमण गरी निर्माणाधिन संरचनामा मौन बसेका छन् ।

वन कार्यालय नजिक नगर विकास समितिको जग्गा कब्जा गरी निर्माणाधिन सुदूरपश्चिम दलित छात्राबासका लागि भीमदत्त नगरपालिकाले योजना सम्झौता गरी निर्माण कार्य गरिएको छ ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी आफैंले मिठाई बाँडेर छात्राबासको छत ढलान उद्घाटन गरेकी थिइन् । उनले अवैध संरचनामा नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकी थिइन् ।

वन कार्यालय नजिक आफ्नै जमिनमा निर्माणाधिन अवैध छात्राबासमा योजना सम्झौता गरेका मेयर बोगटी यातायात र मालपोत अगाडि खोका हटाउन आफैं सक्रिय भएका छन् । छात्राबास अवैध निर्माण भएको समाचार बाहिर आएपछि उनी अहिलेसम्म त्यहाँ पुगेका छैनन् ।

बोगटी नेतृत्वको कार्यपालिका सदस्य हरिहर परियारले छात्राबास निर्माण गरि रहेका छन् । मेयर बोगटीले अवैध छात्राबासमा योजना सम्झौता गरेका छन् । भीमदत्तका नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश बहादर बमले कार्याृलय हाजिर भएपछि सबैभन्दा पहिले अवैध छात्राबासमा छत ढलानको योजना सम्झौता गरेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...