सुदूरपश्चिम प्रदेशमै विज्ञान विषयका लागि छानियो प्रवेश परीक्षा गरी विद्यार्थी भर्ना गर्ने साधारण स्कुल

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) विज्ञान विषयका लागि सुदूरपश्चिम प्रदेशमा छनौट गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र महाशाखाले सुदूरपश्चिम प्रदेशमा कक्षा ११ र १२ मा विज्ञान विषय पढाई हुने माविमध्ये महेन्द्रनगर मावि प्रदर्शन(डिमोस्ट्रेसन) अन्र्तगत छनौट गरेको हो । देशभर सात प्रदेशका एक विद्यालय छनौट हुँदा सुदूरपश्चिममा साधारण छनौटमा परेको छ ।

प्रदेश स्तरमा छनौट परेपछि साधारणले सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री लगायतका सुविधा पाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले बताए ।

‘माध्यमिक तह कक्षा ११ र १२ मा विज्ञान विषयको पढाई हुने विद्यालयको रुपमा सुदूरपश्चिममा छनौट गरिएको छ, यो विद्यालयका लागि गौरबको विषय हो’ अध्यक्ष विष्टले भने, ‘यो सफलताका लागि विद्यालय परिवार सहित प्रत्यक्ष अप्रत्यष रुपमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।’

कञ्चनपुरमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत साधारणमा डेढ दशकदेखि कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन हुँदै आएको छ । अहिले विद्यालयमा विज्ञान विषयका झण्डै दुई सय विद्यार्थी छन् ।

साधारणमा विज्ञान बाहेक कानुन, व्यवस्थापन, शिक्षा र प्राविधक धारतर्फ इन्जिनियरिङ्ग विषयको पठनपाठन हुने गर्छ ।

अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुने साधारणमा प्रवेश परीक्षा गरी विद्यार्थी भर्ना लिने गरिएको छ । गत शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी संख्या झण्डै तीन हजार थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले यस शैक्षिक सत्रका लागि बैशाख १० गते प्रवेश परीक्षा तोकिएको बताए ।

‘अहिले फाराम संकलन गरि रहेका छौ, बैशाख १० गते प्रवेश परीक्षा हुन्छ, त्यसपछि विद्यार्थी भर्ना गर्छौ’ उनले भने ।

साधारणमा हाल देबराज भट्ट प्रधानाध्यापक छन् । अंगे्रजी माध्यममा पठनपाठन गरिएपछि विद्यालयमा विद्यार्थी चाप बढेको हो । केही वर्ष अघिसम्म विद्यार्थी खोज्न भौतारिनु पर्ने अवस्था थियो । अहिले अभिभावकहरु भर्नाका लागि विद्यालय खोजेर आउने गरेका छन् ।

कञ्चनपुरमा २ सय ६१ सामुदायिक विद्यालय छन् । त्यसमध्ये भीमदत्त नगरपालिकामा मात्रै ५७ सामुदायिक विद्यालय छन् ।

सम्बन्धित
Loading...