
महेन्द्रनगर । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना थालिएको दुई सातापछि भीमदत्त नगरपालिकाले संस्थागत विद्यार्थीलाई शुल्क र पाठ्यपुस्तकका लागि निर्देशन दिएको छ ।
भीमदत्तले शुक्रबार नगरपालिकाका सबै संस्थागत विद्यालयलाई संस्थागत विद्यालयले लिने शुल्क सम्बन्धि परिपत्र गर्दैै निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएर दिइएको तीन बुँदे निर्देशनमा शिक्षण शुल्क गत शैक्षिक वर्ष भन्दा बढी लिन नपाउने, पाठ्यपुस्तक परिवर्तन गर्न नपर्ने, बाध्यतात्मक अवस्थामा नगरपालिकाको स्वीकृति लिएर परिवर्तन गर्न सकिने र नगरपालिकामा शुल्क वृद्धिको प्रस्ताव पेश गरी स्वीकृति गर्न सकिने उल्लेख गरिएको छ ।
भीमदत्तले संस्थागत विद्यालयमा चर्को शुल्क अशुली गरि रहेको र हरेक वर्ष पाठ्यपुस्तक फेरि रहेको गुनासो आएकाले नियमका लागि निर्देशन अनुगमन र दोषी देखिए कारवाही समेत गर्न सकिने अनुरोध गरिएकाले निर्देशन दिइएको उल्लेख गरिएको छ ।
भीमदत्त नगरपालिकाले शुल्क निर्धारण लगायतका कार्यका लागि हालसम्म गर्नु पर्ने संस्थागत विद्यालययको वर्गीकरणको काम समेत हुने सकेको छैन । संस्थागत विद्यालयले वर्गीकरणका आधारमा शुल्क लिन पाउने कानुनी प्रावधान छ ।
विद्यालय वर्गीकरण नभएपछि संस्थागत विद्यालयले आफ्नो विद्यालय सञ्चालक समितिको निर्णय अनुसार शुल्क लिँदै आएका छन् ।
भीमदत्त नगरपालिकाको शिक्षा तथा युवा खेलकूद शाखाका प्रमुख कलावति मिश्र भट्टले संस्थागत विद्यालयको वर्गीकरण र शुल्क निर्धारण भएको बताइन् ।
‘विद्यालय वर्गीकरणका आधारमा शुल्क लिन पाउने कानुनी प्रावधान छ’ उनले भनिन्,‘विद्या्लय वर्गीकरण भएका छैनन्, वर्गीकरण नभएपछि त्यस अनुसार शुल्क तोक्ने कुरा भएन ।’
भीमदत्तको नगर शिक्षा समितिका सदस्य डबल बहादुर विष्टले संस्थागत विद्यालय नियमनका लागि आग्रह गर्दै आएको बताए । ‘संस्थागत विद्यालय आफूलाई नियमनका लागि आग्रह गरि रहेका छन्, हामीले जान सकेका छैनौ’ उनले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुन अघि नै स्थानीय तहलाई संस्थागत विद्यालयको शुल्क निर्धारणका लागि परिपचत्र गरेको थियो । मन्त्रालयको परिपत्र अनुसार संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न भीमदत्तमा हालसम्म छलफल समेत गरिएको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले चैत ९ गते जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहका प्रमुख उप प्रमुख र शिक्षा शाखा प्रमुखसित छलफल निर्देशन कार्यान्वयनका लागि निर्देशन दिएकी थिइन् ।
भीमदत्तले नयाँ शैक्षिक सत्रका लागि बैशाख १ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको हो ।
