महेन्द्रनगर । सत्तारुढ गठबन्धका एमाले र माओवादी केन्द्रका नेताले मझगाउँ विमानस्थल निर्माण कार्य सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री हितमान तामाङ्गलाई दबाव दिएका छन् ।
काठमाडौंमा मन्त्रालयमा मन्त्रीसित भेटघाट गरी नेताहरुले सैनिक अवरोधले रोकिएको विमानस्थल निर्माण कार्य तत्काल सञ्चालनका लागि मागपत्र बुझाएका छन् । उनीहरुले विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रीलाई आग्रह गरेका छन् ।
मन्त्री तामाङ्गले विमानस्थल निर्माण कार्य पुनः सञ्चालनका लागि सहयोग गर्ने आश्वासन दिएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताए ।
‘राजनीतिक दल, जनप्रतिनिधि, पूर्व मन्त्री, साँसदज्यू सहितको टोलीले मन्त्रीज्यूलाई मागपत्र बुझायौ, त्यसमा मन्त्रीज्यूले सहयोगको आश्वासन दिनु भएको छ’ सचिव चन्दले भने ।
मझगाउँ विमानस्थल सञ्चालन समितिले सत्तारुढ दलका नेताहरु सहित मन्त्री तामाङ्गलाई मागपत्र बुझाएको हो ।
२०७४ को आम निर्वाचनपछि मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय सरकार सहितको साझेदारीमा निर्माण कार्य अघि बढेको हो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. दिपक प्रकाश भट्टले आफ्नो चुनावी प्रतिवद्धता अनुसार अघि बढाएको विमानस्थल पुनः सञ्चालन कार्यलाई तत्कालिन सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका तत्कालिन मेयर सुरेन्द्र विष्टले साथ दिएका थिए ।
तत्कालिन साँसद सहित स्थानीय तहको साझेदारीपछि २०७७ मा नागरिक उड्डन प्राधिकरण, सुुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तह(भीमदत्त र दोधारा चाँदनी) बीच साझेदारी भएपछि ठेक्का खोलेर झण्डै तीन वर्ष अघि निर्माण कार्य सुरु भएको थियो ।
विमानस्थल निर्माण कार्य सुरु भएपछि दक्षिणतिरको जग्गामा विमानस्थल निर्माण कार्य थालिएपछि सेनाले अवरोध गर्न थालेको थियो । त्यसपछि सेनासित छलफल गरी अघि बढेको निर्माण फेरि केही महिनादेखि ठप्प हुन पुगेको हो ।
सैनिक ब्यारेकको रतन वाटिका र खेल मैदान क्षेत्रमा विमानस्थल विस्तार गर्न नदिने भन्दै सेनाले अवरोध गरेको हो । सेनाले यी दुबै क्षेत्रलाई संरक्षित भन्दै केही महिना अघि वातावरणीय अध्ययनका लागि सिफारिश नदिएपछि निर्माण कार्य रोकिएको थियो ।
मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव चन्दका अनुसार सेनाले अहिले निर्माण अवरोध दक्षिणका क्षेत्र वाटिका र खेल मैदान २०५१ मा विमानस्थल क्षेत्र भएको राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।
अहिले सेनाले संरक्षित क्षेत्र भनेको वाटिका कित्ता नं. ५९० र ३५१३ र खेल मैदान कित्ता नं. ३५२३ मा छ । यी दुई कित्ताको जग्गामा विमानस्थल निर्माणमा सैनिक अवरोध देखिएको हो । वाटिका र खेल मैदानसम्म ६ सय ७५ मिटर विमानस्थल विस्तार हुने छ ।
सेना गत वर्ष मन्त्रि परिषद्बाट निर्णय गराए विमानस्थल विस्तारका लागि जग्गा दिने धारणा सार्वजनिक गरेको थियो । त्यसपछि जग्गा प्राप्तिका लागि फाइल मन्त्रिपरिषमा पुगेर रोकिएको छ । सत्ता गठबन्धका नेताहरुले फाइल अघि बढाउन पनि मन्त्री तामाङ्गसित आग्रह गरेका छन् ।
विमानस्थल निर्माण कार्यमा रक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समझदारी नभएर जग्गा प्राप्ति प्रक्रिया लम्बिन सरोकारवाहरु बताउँछन् ।
समितिले यस अघि बैशाख ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पत्र बुझाएर निर्देशनका लागि आग्रह गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा आएका प्रधानमन्त्री दाहालले पनि निर्माण कार्य सञ्चालनको आश्वासन दिएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धन हुने र धनगढी विमानस्थलको पुरक विमानस्थल हुने भएकाले सैनिक अवरोध हटाएर तत्काल विमानस्थल सञ्चालन कार्य अघि बढाउनु पर्ने पूर्व साँसद डा. भट्टले बताए ।
मन्त्री तामाङ्गलाई माग पत्र बुझाउन पूर्व साँसद डा. भट्ट सहित सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री मान बहादुर सुनार लगायका नेताहरु मन्त्रालय पुगेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बेदकोट नगरपालिकाका निवर्तमान मेयर एबम् एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्द, दोधारा चाँदनी नगरपालिका ३ का वडा अध्यक्ष हरि सिह धनाडी, दोधारा चाँदनी २ का वडा अध्यक्ष पदम सिह रावल, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव चन्द लगायतका टोलीमा सहभागी भएका छन् ।
विमानस्थलमा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले साझेदारी गरेका छन् । ती दुईमध्ये भीमदत्तले १५ र दोधारा चाँदनीले १० प्रतिशत रकम साझेदारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले यसमा २५ प्रतिशत रकम व्यहोर्ने साझेदारी गरिएको छ ।
सशस्त्र द्वन्द्वका कारण २०५६ देखि बन्द विमानस्थल २०२३ सालमा सञ्चालन गरिएको थियो । पहिलो संविधान सभा निर्वाचनपछि विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाए पनि बिचमै रोकिएको थियो ।
विमानस्थल दक्षिणतको ६ सय ७५ मिटर लम्बाईको रत्न वाटिका र खेल मैदानलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्र भन्दै अवरोध गर्दै आएको हो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. भट्टले विमानस्थल निर्माणमा सरकारका अन्तर मन्त्रालयबीच विमति भएकाले ढिलो भएको बताए ।
यो दुःखद हो’ ‘विकास निर्माणमा यस्तो नहुनु नपर्ने हो, सरकारी सबै निकायले समन्वय र सहकार्य गरी विमानस्थल निर्माण कार्यलाई सहज बनाउनु पर्छ’ उनले भने ।
चार वर्ष अघि २०७७ मा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको साझेदारीमा विमानस्थल निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।