
सहकारी अध्यादेश आउने भएपछि अत्तालिए दोधारा चाँदनीका मेयर, शुभकाना कृषि सहकारीका सबै बचतकर्ताको बचत फिर्ता गर्ने फेसबुकबाट घोषणा
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुभ कामना कृषि सहकारी संस्थाका बचकर्ताको रकम आफूले फिर्ता दिने घोषणा गरेका छन् ।
सरकारले सहकारीका बचकर्ताको बचत फिर्ताका लागि अध्यादेश ल्याउने तयारी गरेपछि मेयर लिम्बुले सहकारीको अध्यक्षको हैसियतमा सामाजिक सञ्जाल फेसबुकबाट सहकारीका सञ्चालकलाई जानकारी नदिएर आफूले बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।
मेयर लिम्बुले सहकारीमा आफ्नो लगानी समेत डुबेको र सहकारीका सञ्चालकहरुले पाँच वर्ष अघि सहकारी बन्द गराएको फेसबुकमा जानकारी गराएका छन् ।
सहकारीमा नियम प्रक्रिया मिचेर अध्यक्षको निर्देशनमा मनपरी ऋण लगानी भएपछि बचकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द गरिएको थियो । सहकारी बन्द भएपछि लामो समयसम्म बचतकर्ताहरु फिर्ताका लागि कार्यालय गुहार्दै आएका छन् ।
बचकर्ताले मेयर लिम्बु र सहकारीका तत्कालिन व्यवस्थापक मन्जु सुनारलाई पटक पटक गुहारेका थिए । मेयर लिम्बु र व्यवस्थापक सुनारले एकले अर्कोलाई देखाएर बचत फिर्ताका लागि आकाकानी गरेको सहकारीका एक पूर्व कर्मचारीले बताए ।
‘नियम प्रक्रिया नहेरी मनपरी गरी ऋण लगानी गरियो, त्यो ऋण उठेन, त्यसपछि सहकारी डुबेर बन्द हुने अवस्था आयो, त्यसपछि बचकर्ता कार्यालय धाउन थाले’ ती पूर्व कर्मचारीले भने,‘दैनिक धाउँदा अध्यक्षले व्यवस्थापक र व्यवस्थापकले अध्यक्षलाई देखाउँदै आनाकानी गरे, धेरै दिनसम्म बचतकर्ता गए, फिर्ता नपाएपछि पछि त जानै छाडे ।’
सहकारीका सञ्चालकले मनपरी रुपमा ऋण लगानी गरी बचतकर्ताको रकम डुबाएको सहकारीका कर्मचारीहरु बताउँछन् । सहकारीले केही कर्मचारीलाई हालसम्म तलब पनि दिएको छैन ।
सहकारीले दोधारा चाँदनी नगरपालिकाका सबै वडाबाट बचत संकलन गर्दै आएको थियो । सहकारी बन्द भएपछि केही संकलकहरु आफैं बचत फिर्ताका लागि मेयर लिम्बुसम्म पुगेका छन् । उनले बचत फिर्ता गर्ने आश्वासन दिए पनि हालसम्म फिर्ता नभएको ती संकलक बताउँछन् ।
‘फिल्डमा त हामी जान्थ्यौ, बन्द भएपछि कतिपय बचतकर्ता त घरमै आउन थाले, त्यसपछि म आफैंले पनि वहाँ अध्यक्षज्यूलाई बचत फिर्ताका लागि भेटे’ ती संकलकले भने,‘हुन्छ भन्यो तर फिर्ता भएन, अहिले ती बचतकर्ता पनि भारत गइ सकेका छन्, अब आएपछि फेरि भन्नु पर्ला ।’
सहकारी बन्द भएपछि सञ्चालकहरुले व्यवस्थापकहरुमाथि रकम हिनामिनाको आरोप लगाएका थिए । सहकारीका अध्यक्ष सहित सञ्चालकको निर्देशनमा ऋण लगानी गरिएको थियो ।
मेयर लिम्बुको विद्यालय युनिक सनराइज स्कुलको प्रवेशद्वारमा कार्यालय राखेर सहकारी सञ्चालन गरिएको थियो । तीन वर्षसम्म सञ्चालन गरी सहकारी बन्द भएको थियो ।
बचकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द भएपछि लिम्बु दोधारा चाँदनीको मेयरमा चुुनाव लडेका थिए । उनी चुनावमा पराजित भएका थिए ।
काँग्रेसले त्यहीं बेला स्थानीय तह निर्वाचनामा मेयर लिम्बु विरुद्ध सहकारी ठगीलाई चुनावी एजेण्डा बनाउने छलफल गरेको थियो ।
काँग्रेसले पछि सहज रुपमा चुनाव जितिने अवस्था भएपछि सहकारी ठगीलाई चुनावी एजेण्डा बनाउन रोकेको थियो । काँग्रेसका नेता बीर बहादुर सुनार मेयरका उम्मेदवार थिए । उनी मेयरमा निर्वाचित भएका थिए ।
स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जाल फेसबुकमा पनि सहकारी ठगीको विषय उठाइएको थियो । सहकारीका केही कर्मचारीले ठगीको विषय फेसबुकबाट सार्वजनिक गरेका थिए ।
मेयर लिम्बु २०७९ को स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित भएका हुन् । सहकारी स्थानीय सकारको क्षेत्राधिकारभित्र पर्छ । मेयर आफैं अध्यक्ष भएको शुभ कामना सहकारीका रेकर्ड भने नगरपालिका कार्यालयमा छैन् ।
मेयर लिम्बुले शुक्रबार राति फेसबुकबाट गरेको घोषणामा सबै बचकर्ताको रकम फिर्ता भई सकेको दावी गरेका छन् । उनले बचतकर्ताको रकम तिर्न बाँकी भए तिर्ने कागज बनाउने कर्मचारीलाई थाह हुनु पर्ने र बचत फिर्ता गर्न बाँकी भए आफूले तिर्ने उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद बैठकले केही दिन अघि सहकारी पीडितलाई बचत फिर्ता गराउन सञ्चालकहरूको सम्पत्ति बिक्री गर्ने लगायतको कानुनी अभाव रहेको भन्दै अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
सरकारले सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरि सकेको छ । सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि दोधारा चाँदनीका मेयर लिम्बुले सार्वजनिक रुपमा बचकर्ताको रकम फिर्ता गर्ने उद्घोष गरेका हुन् ।
