
माओवादीको क्रान्तिकारी विद्यार्थी संगठनले पाँच विद्यालयमा लगाएको ताला सोमबारसम्म खोल्न प्याब्सन एन प्याब्सनको अल्टिमेटम

महेन्द्रनगर । निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पाँच विद्यालयमा लगाएको ताला खोल्न सोमबारसम्म अल्टिमेटम दिएका छन् ।
क्रान्तिकारीले आइतबार पाँच विद्यालयमा तालाबन्दी गरेपछि प्याब्सन एन प्याब्सनले संयुक्त विज्ञप्ति जारी सोमबारसम्म तालाबन्दी खोलेर पठनपाठन सञ्चालनको वातावरण बनाउन अल्टिमेटम दिएका हुन् । सोमबारसम्म तालाबन्दी नखोलिए मंगलबार विद्यालय आफैंले ताला खोलेर पठनपाठन सञ्चालन गर्ने जानकारी गराएका छन् ।

विद्यालयमा तालाबन्दीपछि प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट र एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दले संयुक्त विज्ञप्ति जारी गर्दै तालाबन्दीको विरोध गरेका हुन् ।
संयुक्त विज्ञप्तिमा दुबै संगठनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा भएकाले त्यससंग समन्वयमा शिक्षा नियमावली अनुसार शैक्षिक गतिवधि सञ्चालन गर्न सबै विद्यालयहरु तयार भएको उल्लेख गरेका छन् ।
‘विद्यालयहरु स्थानीय निकायको अधिनमा रहने भएकाले सम्बन्धित पक्षसंगको समन्वयमा शिक्षा नियमावलीको परिधिभित्र रहेर सिकाई गतिविधिहरु सञ्चालन गर्न सबै विद्यालयहरु तयार भएको र उत्पन्न परिस्थित समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै भोलि बैशाख १७ गतेसम्म तालाबन्दी नखोलेमा बैशाख १८ गते विद्यालयहरुमा ताला तोडी विद्यालय सञ्चालन गरिने सबैमा जानकारी गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारी विद्यार्थी संगठनले शुल्क वृद्धि, पाठ्यपुस्तक परिवर्तन गर्न नहुने लगायतका माग राखेर इन्टरनेशन पब्लिक स्कुल, लिटिल बुद्ध एकेडेमी, जनज्योति माध्यमिक विद्यालय, सार्क एजुकेशन र आर्दश विद्या निकेतनमा तालाबन्दी गरेको हो ।
तालाबन्दी गरिएका सबै पाँच विद्यालयमा महेन्द्रनगरमा सबैभन्दा बढी विद्यार्थी अध्यापन गराउने विद्यालय हुन् । ती सबै विद्यालयमा बैशाख १० गतेदेखि पठनपाठन सुरु गरिएको छ ।
क्रान्तिकारीले शुल्क बृद्धि खारेज गरी अघिल्र्ला वर्षको कायम गरिनु पर्ने, पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, विद्यार्थीबाट हरेक बर्ष भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनतम १० प्रतिशत छात्रबृति वितरण सार्वजनिक सूचना आव्हान गरी वितरण गरिनु पर्ने लगायतका माग अघि सारेको छ ।
भीमदत्त नगरपालिकाले संस्थागत विद्यालयलाई शुल्क वृद्धि यथावत राख्न र किताब परिवर्तन नगर्न निर्देशन सहित परिपत्र गरेको तीन दिनपछि क्रान्तिकारी विद्यार्थी संगठनले विद्यालयमा तालाबन्दी लगाएको हो ।
भीमदत्त नगरपालिकाले बैशाख १४ गते संस्थागत विद्यालयलाई निर्देशन सहित परिपत्र गरेको थियो । विद्यार्थी भर्ना अभियान सकिएर पठनपाठन सुरु भएपछि परिपत्र गरिएको भन्दै भीमदत्तको चौतर्फी आलोचना भएको छ ।
भीमदत्तमा पाँच दर्जन बढी संस्थागत विद्यालय छन् । अंग्रेजी माध्यममा पठनपाठन गरी सामुदायिक विद्यालयले विद्यार्थीबाट भर्ना सहित शुल्क अशुली गरि रहेका छन् ।
भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयको शुल्क अशुलीलाई नजर अन्दाज गरेको छ । अंग्रेजी माध्यम पठनपाठन हुने अधिकाँश सामुदायिक विद्यालय विद्यार्थीबाट शुल्क लिई रहेका छन् । सरकारले सामुदायिक विद्यालयको शिक्षा निःशुल्क बनाएको छ ।
