सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि तीन जना सिफारिश

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको उप कुलपतिको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समिति स्रोतका अनुसार प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम सिफारिस गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्यांकनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिसमा परेका हुन् ।

सिफारिस भएकामध्ये एक जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ । पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय गत फागुनदेखि उपकुलपति विहीन छन् ।

मंगलबार पूर्वाञ्चलमा विजुकुमार थपलिया र मध्यपश्चिममा धुव्रकुमार गौतमलाई उपकुलपतिमा नियुक्त गरिएको प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको कार्यालयले जनाएको छ । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन र गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

सम्बन्धित
Loading...