उदयदेबको २६ औं स्थापना दिवसमा आयोजित अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरले आफ्नो २६ औं स्थापना दिवसको अवसर पारी आयोजना गरेको अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताका विजेता टीमलाई पुरस्कार वितरण गरिएको छ ।
कञ्चनपुर निर्माण व्यवसायी संघको सभा कक्षमा गरिएको सहकारीको तेस्रो त्रैमासिक समीक्षा गोष्ठीमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी टीमलाई सहभागिताको प्रमाण पत्र प्रदान गरियो ।
प्रतियोगितामा प्रथम युवा बचत तथा ऋण सहकारी संस्था लि.लाई नगद १० हजार र द्वितीय सृजनशिल बचत तथा ऋण सहकारीले नगद ७ हजार पुरस्कार पाए । तृतीय स्थान हासिल गर्ने उदयदेब सहकारीका दुई टीमले नगद ३÷३ हजार नगद पुरस्कार हात पारे ।
विजेता टीमलाई सहकारीका अध्यष नारा जोशी, उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट सहितले पुरस्कार र प्रशंसा पत्र प्रदान गरे ।
कबर्ड हलमा गरिएको प्रतियोगितामा प्रथम हुने युवा बचतबाट दिपेन्द्र भण्डारी र गोकुल बोहराले खेलेका थिए । सृजनशिलबाट सञ्चालक पुष्पराज भट्ट सहितले खेल खेले । यसैगरी तृतीय उदयका दुई टीमबाट सुनिल ओझा र प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द तथा अर्को टीमबाट उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट सहितले खेलेका थिए ।
प्रतियोगितामा ८ टीमले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबै टीमलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष जोशी, उपाध्यक्ष भट्ट सहित लेखा समितिका संयोजक चित्राङ्ग थापा, ऋण समितिका संयोजक डा. प्रेम सिह भाट लगायतका सहभागी भए ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले कार्यक्रम सञ्चालन गरे । शुक्रबार सहकारीको कार्यालयको २६ औं स्थापना दिवसको अवसर पारी केक काटिएको थियो ।
उदयदेब बहुउद्देश्यीय सहकारी सुदूरपश्चिममा ठूलो सहकारीको रुपमा परिचित छ । सहकारीमा हाल २५ हजार ५ सय शेयर सदस्य छन् । महेन्द्रनगरमा प्रधान कार्यालयको भएको सहकारीका कैलाली, डडेल्धुरा, बैतडीमा ११ सेवा केन्द्र सञ्चालनमा छन् ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले सहकारीमा हाल एक अर्ब ७३ करोड बचत संकलन र एक अर्ब ५४ करोड ऋण लगानी भएको जानकारी दिए ।
सहकारीको शेयर पूँजी २१ करोड पुगेको छ । सुदूरपश्चिममा २०६४ सहकारीले पहिलो पटक लघुु वित्त कार्यक्रम सञ्चालन गरेको थियो ।
विपन्न समुदायका महिलालाई आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेर लघुबित्त कार्यक्रम सञ्चालन गरिएको छ । यस अन्र्तगत समूह आवद्ध महिलालाई विना धितो तीन लाखसम्म ऋण दिने गरिएको छ ।
सहकारीले यस वर्षदेखि भीमदत्त नगरपालिका १९ बागफाँटामा राइस मिल सञ्चालनमा ल्याएको छ । राइस मिलबाट चामल उत्पादन गरी बजारमा आइ सकेको छ ।