महेन्द्रनगर । बेदकोट नगरपालिकाको जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयलाई वडा नं. ३ को विद्यालय बनाउनु पर्ने माग फेरि उठेको छ । हाल बेदकोट नगरपालिका २ मा पर्ने विद्यालयको जग्गा वडा नं. ३ मा पर्ने भन्दै विद्यालय वडामा ल्याउनु पर्ने माग गरिएको छ ।
बेदकोट नगरपालिका ३ का स्थानीय बुधबार विद्यालय पुगेर ३ नम्बर वडाको बनाउनु दबाव दिएका छन् । उनीहरुले विद्यालय प्रशासनमा तालाबन्दी गरेका छन् ।
विद्यालयमा पठनपाठन भई रहेका बेला बुधबार विहान स्थानीय जय बहादुर शाहु, मोहन बहादुर सिह, प्रजापति भट्ट लगायत वडाका अगुवाको नेतृत्वमा तालाबन्दी गरिएको छ ।
तालाबन्दीले विद्यालयका प्रशासनिक कामकाज अवरुद्ध भए पनि पठनपाठन समस्या नभएको विद्यालयका शिक्षकहरुले बताए ।
बेदकोट नगरपालिकाको सबैभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने बैजनाथ मावि नमूना उन्मुख विद्यालय हो । २०३३ मा अनुमति पाएर स्थापना गरिएको विद्यालय बहुदल स्थापनापछि तत्कालिन दैजी गाविस ६ नं. वडामा थियो ।
हाल तत्कालिन सुडा र दैजी गाविस मिलेर बनेको बेदकोट नगरपालिका २ नम्बर वडामा विद्यालय छ । तत्कालिन दैजी गाविसको ६ नम्बर वडालाई नगररपालिकाको २ नम्बर वडा बनाइएको छ ।३ नम्बर वडाका वासिन्दाले विद्यालयको जग्गा आफ्नो भूगोलमा भएकोले वडाको विद्यालय हुनु पर्ने माग राखेका हुन् ।
विद्यालयका प्रधानाध्यापक थिरेन्द्रचन्द्र भट्ट छन् । यो विद्यालय शैक्षिक, भौतिक, अतिरिक्त क्रियाकलाप सबैमा अब्बल छ । विद्यालयले जग्गाको आफ्नो पूर्जा बनाउन सकेको छैन । विद्यालयले केही वर्षदेखि प्राविधिक धारको कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यालय तालाबन्दी अघि स्थानीयले बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामीलाई विद्यालय वडाको बनाउन आग्रह गरे । उनीहरुले विद्यालयलाई तीन नम्बर वडाको बनाउन पहल गर्न आग्रह गरेको वडा अध्यक्ष धामीले बताए ।
‘त्यो विद्यालयको भूगोल ३ नम्बरमा पर्छ, त्यस कारण स्थानीय भूगोल अनुसार त्यो विद्यालय हाम्रो वडामा हुनु पर्ने भन्ने माग स्थानीयको छ’ वडा अध्यक्ष गुरुधामीले भने,‘विद्यालय जान अघि वडा कार्यालयमा आएर पहल गर्न पनि आग्रह गर्नु भयो ।’
वडा अध्यक्ष गुरुधामीले विद्यालयको भूगोल ३ नम्बरमा भएकाले कानुन अनुसार विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालय पदेन सदस्य हुनु पाउनु पर्ने बताए ।
‘पहिला एक वडामा एक मात्रै हाइ स्कुल भन्ने थियो, त्यही अनुसार यो वडा तत्कालिन दैजी गाविसको ५ नं. वडामा शारदा मावि थियो, त्यही भएर दैजी ६ नंं. वडामा विद्यालय स्थापना भयो, त्यो ६ नं. वडा नै अहिलेको २ नम्बर हो’ वडा अध्यक्ष गुरुधामीले भने,‘अहिले त्यो जग्गा हाम्रो वडामा पर्छ, त्यस कारण स्थानीयको माग अनुसार वडाको विद्यालय बनाउन पहल गर्छौ ।’
वडा अध्यक्ष गुरुधामीले बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिसित छलफल गरी निकासा खोजिने बताए ।
‘२ नम्बर वडा कार्यालय र विद्यालय प्रशासनसित छलफल गरी निकास निकाल्छौ’ उनले भने,‘अब यसबारे नगरपालिकामा पनि छलफल हुन्छ ।’
वडा अध्यक्ष गुरुधामीका शारदा मावि र बेदकोट नगरपालिका २ का वडा अध्यक्ष नरेश बहादुर सिह बैजनाथ माविका अध्यक्ष छन् ।
एमालेबाट लगातार दुई पटक स्थानीय तह निर्वाचन जितेका सिह अघिल्लो कार्यकालमा नगर प्रवक्ता थिए । उनले २०७४ र २०७९ को स्थानीय तह निर्वाचन लगातार जितेका हुन् ।
काँग्रेसका वडा सभापति गुरुधामी २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी २०७४ को चुनावमा वडा सदस्यमा चुनाव लडेका थिए ।
उनीहरु दुबै बेदकोट नगरपालिका कार्यपालिका सदस्य छन् । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिहले बेदकोट नगरपालिका २ जडेपानी भनेर अनुमति लिएर विद्यालय स्थापना गरिएको बताए ।
‘बेदकोट नगरपालिका २ को क्षेत्र जडेपानी हो, २०३३ सालमा जडेपानी भनेर विद्यालय सञ्चालनको अनुमति लिएर स्थापना गरी सञ्चालन हुँदै आएको छ’ व्यवस्थापन समितिका अध्यक्ष सिहले भने,‘जडेपानी क्षेत्र २ नम्बर वडामा पर्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहले नियम कानुन अनुसार समस्या हल गरी अघि बढ्नु पर्ने र त्यसलाई आफूहरुले मान्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिहले नयाँ सीमांकन र नक्साङ्कनले समस्या देखिएको बताए । ‘त्यो विद्यालय मात्रै होइन, मेरो घर पनि ३ नम्बरमा देखिन्छ, यो बाहिर बसेर नक्साङ्कन गर्दा समस्या आएको हो’ उनले भने ।
बेदकोट ३ का स्थानीयले विद्यालय प्रशासनमा तालाबन्दी अघि आफूसित छलफल नभएको बताए । ‘विद्यालयसित यसबारे कुनै छलफल भएको छैन’ उनले भने । उनले विद्यालय सञ्चालनका लागि २ नं. वडा कार्यालय र सामुदायिक वनबाट सहयोग हुँदै आएको बताए ।
बेदकोटका निवर्तमान मेयर अशोक कुमार चन्दको कार्यकालमा पनि विद्यालयलाई ३ नम्बरको बनाउनु पर्ने माग उठेको थियो । मेयर चन्दले यसबारे छलफल गरेका थिए । विद्यालय सञ्चालन अनुमति अनुसार विद्यालय सञ्चालन हुनु दिनु पर्ने निष्कर्षमा पुगेर छलफल टुङ्गिएको थियो ।
बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले यसबारे आधिकारिक रुपमा कार्यालयमा कुनै पनि जानकारी नआएको बताए ।