ghar sansar

भीमदत्तमा कोटेशनको शौचालयले मच्चियो लफडा, जनप्रतिनिधि –कर्मचारी चर्काचर्की, उप मेयर हाकिमलाई जिम्मा दिएर मेयर टाप

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले गड्डाचौकीमा बनाएको सार्वजनिक शौचालयको काम विवादमा परेको छ । नगरपालिकाले सोझै खरिद(कोटेशन) दिएर निर्माण गरी भुक्तानी दिएपछि विवाद नगरपालिका कार्यालयसम्म पुगेको छ ।

चालु आर्थिक वर्षको योजना अन्र्तगत सोझै खरिद(कोटेशन) ९ लाखको दिएर शौचालय बनाएको हो । वडा कार्यालयलाई जानकारी नदिई निर्माण गरी भुक्तानी दिएपछि विवाद देखिएको छ ।

वडा कार्यालय नगरपालिका विरुद्ध आक्रोशित बनेको छ । दुई दिन अघि मात्रै शौचालय निर्माणको भुक्तानी भएको थियो । भीनपा ११ का स्थानीय मनिराम रावतलाई कोटेशन दिएर शौचालय निर्माण गरिएको हो ।

वडालाई जानकारी नदिई शौचालय बनाएर भुक्तानी दिएपछि आइतबार वडा कार्यालय बन्द हुन पुगेको छ । वडा अध्यक्ष प्रकाश थापाले विकास योजानमा वडालाई वेवास्ता गरिएको भन्दै जनप्रतिनिधि र सबै कर्मचारीलाई नगरपालिका पुगाएका छन् । जनप्रतिनिधि र सबै कर्मचारी नगरपालिका आएपछि वडा कार्यालय बन्द हुन पुगेको हो । नगरपालिकामा सहमछि मात्रै वडा अध्यक्ष थापा सहितका कर्मचारी वडा कार्यालय फर्किएका छन् ।

उप मेयरको कार्यकक्षमा छलफलपछि उनीहरु वडा कार्यालय गएका हुन् । छलफलमा आगामी दिनमा वडासित समन्वय गरी विकास योजना सञ्चालन गर्ने आश्वासन दिइएको छ ।

वडा अध्यक्ष थापा नगरपालिका आएपछि मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम तनावमा देखिएका थिए । वडा अध्यक्ष थापा र प्राविधिकबीच चर्काचर्की भएको छ ।

कार्यालय तनावग्रस्त हुने अवस्था आएपछि मेयर बोगटीले उप मेयर जोशी र प्रमुख प्रशासकीय अधिकृत बमलाई समस्या हल गर्ने जिम्मा दिए । उनीहरुले उप मेयरको कार्यकक्षमा लामो समय छलफल गरी समस्या समाधान गरेका छन् ।

छलफलमा उप मेयर जोशीले शौचालयको अनुगमन नगरेको विषयमा पनि कुरा उठेको सहभागीहरुले बताए । नगरपालिकामा उप मेयर जोशीको नेतृत्वमा अनुगमन समिति छ ।

समितिले अनुगमन नगरी कार्यालयले योजनाको भुक्तानी दिएको छ । अन्य योजानमा भने उप मेयरको अनुगमनपछि मात्रै भुक्तानी दिने गरिएको छ ।

भीनपा ११ का वडा अध्यक्ष थापाले शौचालयको विषयलाई लिएर केही समस्या देखिएपछि नगरपालिका कार्यालयमा छलफल गरी हल गरिएको बताए ।

‘वडासित समन्वय नगरी काम गरिएको भन्ने थियो, छलफलपछि आगामी दिनमा यसलाई सुधार गरी जाने भन्ने भएको छ’ उनले भने ।

भीमदत्त नगरपालिकाका इन्जिनियर जयराज भट्टले कार्यालयबाट योजना सम्झौता भएर काम सम्पन्न भएपछि भुक्तानी दिइएको बताए ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी लक्ष्मी भट्ट ओझाले सार्वजनिक शौचालय निर्माणलाई लिएर विवाद नगरपालिका कार्यालय पुगेको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...