
कञ्चनपुर समन्वय प्रमुख बोहरा फेरि मुछिए अर्को गम्भीर विवादमा, पूर्व पीए चौधरीको मासिक तलबबाट पार्टीका लागि भन्दै लेबी लिएको खुलासा
चौधरीलाई हटाएपछि बुहारीलाई स्वकीय सचिव नियुक्त

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई गम्भीर आरोप लागेको छ । समन्वय प्रमुख बोहराले आफ्नै पूर्व स्वकीय सचिव भीमदत्त नगरपालिका–१ का २६ वर्षिय संजिव डंगौरा(थारु) बाट पार्टीका लागि मासिक रुपमा तलबको ९ हजार रुपैँया लिएको बाहिर आएको हो ।
बोहराले स्वकीय सचिवबाट हटाएका चौधरी भीमदत्त नगरपालिका १ का वडा सदस्य कालु चौधरीका छोरा हुन् । उनलाई मासिक ३४ हजार सुविधा दिने गरी बोहराको सचिवालयमा राखिएको थियो ।

२०८० वैशाख ११ मा समन्वय प्रमुख बोहराको स्वकीय सचिव भएका चौधरीले पार्टीका लागि मासिक नौं हजारका दरले तिरेको बैंक भौचर प्राप्त भएको छ ।
समन्वय प्रमुख बोहराले मासिक सेवा सुविधाबाट २० प्रतिशत रुपैँया आफु निर्वाचित भएको पार्टीलाई तिनुपर्छ । समन्वय प्रमुखमा निर्वाचित व्यक्तिले मासिक रुपमा ४४ हजार बढी सेवा सुविधा पाउने गरेका छन् । त्यसको २० प्रतिशतले ठ्याक्कै नौं हजार रुपैँया हुन आउछ ।
समन्वय प्रमुख बोहराका तत्कालिन स्वकीय सचिव डंगौराका अनुसार उनले जागिर खाएको छ महिनापछि मात्रै कर्मचारीले कुनैपनि पार्टीलाई लेबि रकम तिर्नु पर्दैन रहेछ भन्ने कुरा जनाकारी पाएका हुन् । बैंक मार्फत दुर्गादत्त बोहराको नामबाट पार्टीलाई नौं हजारका दरले छ महिना सम्म ५४ हजार रुपैँया जम्मा गरेको डंगौराले बताए ।
‘समन्वय प्रमुख दुर्गादत्त बोहरा ज्यूले पार्टीलाई तिमीले प्रत्येक महिना लेबि तिर्नुपर्छ भने, मलाई त्यस सम्बन्धमा थाहाँ थिएन, सोधिखोजी पनि गरेन र प्रत्येक महिना नौं हजारका दरले पैसा दिन थाले ।’
पीडित डंगौराले भने, ‘छ महिना सम्मको पैसा बुझाईसकेपछि मैले एकदिन समन्वयकै लेखा लगायतका कर्मचारीहरुलाई सोधे–हामीले पार्टीलाई कति लेबि तिनुपर्छ ? तब कर्मचारीहरुले भने हामीले किन पार्टीलाई लेबि तिर्ने ? त्यसपछि तिर्नुपर्दैन रहेछ भन्ने जानकारी भयो ।’
आफुलाई उक्त बिषयमा जानकारी भएपछि समन्वय प्रमुख बोहराको नामबाट पार्टीको नाममा पैसा पठाउन छोडेको डंगौरा बताउँछन् । बोहराले चौधरीलाई ९ महिनापछि स्वकीयबाट हटाएका हुन् ।
समन्वय प्रमुख बोहराले भने डगौरालेले गाएको आरोप निराधार भएको बताए । ‘मैले नै स्वकीय सचिवमा संजिव चौधरीलाई राखेको हुँ, तर आजभोलि मिथ्या र निराधार आरोप लगाएर हिँडिरहेको सुनेको छु’ उनले भने ।
संजिवका बुवासंग राम्रो परिचय भएका कारण आफुले गरिबको छोरालाई स्वकीय सचिवमा राखेको तर उहिबाट आज आएर मिथ्या कुरामा आफ्नो बदनाम गरिने लागेकोमा उनले आपत्ति जनाए ।
पार्टीलाई लेबि तिराउने भनेर आएको कुरा मिथ्या भएको र पैसा नतिरेपछि कामबाट निकालेको कुरामा कुनै तुक नभएको बताउदै समन्वय प्रमुख बोहराले भने, ‘स्वकीय सचिवका लागि कार्य कौशलतामा चित्त नबुझेपछि संजिवलाई जिम्मेवारी बिहिन पारिएको हो ।’ उनले प्रतिप्रश्न गर्दै भने, ‘स्वकीय सचिव राखेको व्यक्तिलाई मैले यो पैसा लगेर पार्टीको खातामा हाल्देउ भनेर त भन्न सक्छु होला नि ?’
आफुबाट महिनाको नौं हजारका दरले पैसा लिएर समन्वय प्रमुख बोहराले पार्टीलाई तिनुपर्ने लेबी हाल्दै आएको भन्ने आरोप लागेको छ । जसको प्रमाणका रुपमा बोहराका तत्कालिन स्वकीय सचिव डंगौराले बैंक भोचर समेत सुरक्षित राखेका छन् । बोहराले त्यो भौचरको रकम आफ्नो भएको दावी गर्दै आएका छन् ।
चौधरीले आफूलाई अन्याय भएको भन्दै पत्रकारसम्म पुगेका छन् । ‘जब मैले, मलाई अन्याय भयो भनेर न्यायको लागि गुहार गर्न लागे, तब मलाई पार्टीकै विभिन्न नेता तथा कार्यकर्ताहरु लगाएर त्यो कुरा कहि कतै नगर्न अर्थात चुलागेर बस्नका लागि दवाव दिन थालियो ।’ पीडित डंगौराले भने, ‘दुर्गादत्त बोहरा ज्यू ले यो बिषयमा मलाई चुप लगाउनका लागि बिहान–बेलुकै घरमै नेता कार्यकर्ता पठाउनु हुन्छ । मलाई निकै तनाव भएको छ ।’
आफुलाई लेबि भन्दै पार्टी खातामा हाल्न लगाएको पैसा पनि फिर्ता गर्ने वाचा गर्दै त्यो कुरा बाहिर नल्याउन आफ्नो घरमा साँझ–बिहानै मान्छे पठाउने गरेको चौधरीले बताए ।
चौधरीलाई हटाएपछि बोहराले गत वर्ष माघबाट उनले आफ्नी बुहारीलाई स्वकीय सचिवको नियुक्ति दिएका छन् । अहिले बोहराकी बुहारी प्रियंका भट्ट स्वकीय सचिव छन् ।
यस अघि समन्वय प्रमुख बोहरामाथि कार्यालयका कर्मचारीलाई घरायशी कामकाजमा लगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले समन्वय प्रमुख बोहरामाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।
साभार : निगरानी खबर
