
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले होटल आपेरा पछाडि नगर विकास समितिको जग्गा कब्जा गरी निर्माण गरिएका अवैध संरचनामा डोजर लगाएको छ । कोरोना महामारीका बेला तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरी अवैध संरचना निर्माण गरिएका थिए ।
भीमदत्त नगर विकास समितिले केही दिन अघि गरेको जेठ ५ गतेभित्र ती संरचना भत्काउने निर्णय अनुसार शनिबार डोजर लगाइएको हो । समितिले ओपेरा पछाडि निर्माणाधिन संरचना भत्काउने निर्णय गरेको थियो ।
समितिको निर्णय अनुसार ओपेरा पछाडिका संरचना डोजर लगाएर भत्काए भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदराज अवस्थीले बताए । ‘जेठ ५ गतेदेखि पिलर हालेका नहालेका, उपयोग भएका नभएका संरचना भत्काउने निर्णय गरिएका थियो, त्यस अनुसार ती संरचना डोजर लगाएर भत्काएका छौ’ उनले भने ।
यस अघि चार वर्ष अघि पनि यी संरचना भत्काउन डोजर लगाईएको थियो । राजनीतिक दलका युवा र विद्यार्थी संगठनको दवावमा डोजर लगाए पनि केही घर भत्काएर छाडिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले अवैध संरचना निर्माणमा रोक लगाएपछि निर्माण कार्य रोकिएको थियो । त्यस अघि जग्गा कब्जा गरी रात दिन लगाएर ती संरचना निर्माण गरिएका थिए ।
