
जालसाची गरी बैंक पुगाएको आफ्नो जग्गा फिर्ताका लागि कुमारी बैंकमा धर्ना बसेका कामी परिवार
भन्छन्– बैंकले जग्गा फिर्ताका लागि १० लाख जम्मा गर्न लगायो, अचानक आनाकानी गरी अर्कैलाई दिने भन्दैछ

महेन्द्रनगर । बैंक कर्मचारी र भूमाफियाको मिलेमतोमा जालसाची गरी जग्गा लिलाम गर्न खोजिएको भन्दै कुमारी बैंकमा धर्ना बसेका भीमदत्त नगरपालिका १८ का थम बहादुर कामीका परिवार पहिलो दिन घर फर्किएका छन् । उनीहरु भोलि विहानदेखि बैंकमा धर्नालाई निरन्तरता दिने गरी पहिलो दिन घर फर्किएका छन् ।
कुमारी बैंकमा कालो ब्यानर टाँगेर उनीहरु धर्नामा बसेका हुन् । विकका धर्मपत्नि राधादेबी र छोरा प्रकाश सहित हातमा कालोपट्टी बाँधेर धर्ना बसेका छन् । यस अघि बैंकले जग्गा फिर्ता गर्ने सम्झौता गरेपछि कामी परिवारले बैंकमा १० लाख रुपैँया जम्मा गरेको थियो ।

प्रकाशका बुवा कामीको पाँच वर्ष अघि निधन भएको थियो । उनका आफन्तले दृष्टिबन्धन राखेको जग्गा नामसारी भएर बिक्री भएर तत्कालिन एनसीसी(कुमारीं) बैंकको अत्तरिया शाखामा धितो राखिएको थियो ।
प्रकाशकी आमा राधादेबीले आफूहरुलाई जानकारी नदिई जग्गा बेचेर बैंकमा राखेर लिलाम गर्न खोजिएकाले न्याय पाउन धर्ना बसेको बताइन् । उनले बंैकको अत्तरिया शाखामा गएर पनि धर्ना दिइने बताइन् ।
१२ वर्ष अघि कामीको तीन कट्टा ११ धुर जमिन उनका दाई पर्ने कमल कामीले लक्ष्मण विष्टबाट ८ लाख रकम लिएर दृष्टिबन्धक गरेका थिए । विष्टले दृष्टिबन्धकपछि आफ्नो नाममा पास गरी चन्द्र गिरीलाई १८ लाखमा बिक्री गरेपछि जग्गा बैंकमा पुगेको हो ।
केही वर्षदेखि फरार गिरीले जग्गालाई तत्कालिन एनसीसी बैंकको अत्तरिया शाखामा धितो राखेर ४५ लाख ऋण लिएका थिए । गिरीले ऋण तिर्न नसकेपछि जग्गा लिलामको प्रक्रिया अघि बढेपछि मात्रै कामी परिवारले आफ्नो जग्गा बिक्री भएर बैंक पुगेको थाहा पाएका थिए ।
त्यसपछि कामी परिवार आफ्नो जग्गा फिर्ता गराउन लागि परेका छन् । बैंकले कामी परिवारलाई जग्गा फिर्ता दिने आश्वासन दिएर लिलाम गरेको थियो ।
कामी परिवारले आफ्नो जग्गा भएको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि घर बाटो सिफारिश नपाएर जग्गा रोकिएको थियो । त्यसपछि बैंकले लिलाम प्रक्रिया स्थगित गरी कामी परिवारको नाममा जग्गा फिर्ता गर्ने सम्झौता गरेको थियो । त्यसपछि बैंकले जग्गा फिर्ताका लागि कामी परिवारलाई १० लाख रुपैँया बैंकमा जम्मा गर्न लगाएको थियो ।
बैंकले सम्झौता अनुसार जग्गा नामसारी गर्ने प्रक्रिया अघि बढाएपछि कामी परिवार बैंकमा धर्ना बसेका हुन् । बैंकले जग्गा फिर्ता दिने आश्वासन दिएर भित्री लिलाम सकारकर्ता रमेश भट्टको नाममा हाल्ने प्रक्रिया अघि बढाएपछि उनीहरु असन्तुष्ट बनेका छन् ।
भीमदत्त नगरपालिका १८ को वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन हुनु पर्ने उनीहरुको माग छ । १८ नम्बर वडा कार्यालयमा जग्गा फिर्ता गर्ने सम्झौता भएको थियो ।
‘वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन होस, त्यो निर्णय कार्यान्वयन हुनु प¥यो, पहिले जग्गा मलाई दिने भनियो, अहिले त्यसैका नाममा हाल्ने प्रक्रिया अघि बढेको छ’ कामीका छोरा प्रकाशले भने,‘सम्झौता अनुसार जग्गा फिर्ता हुनु पर्ने भन्ने माग हो ।’
बैंकले सम्झौता मिचेर अचानक जग्गा नामसारी गर्ने प्रक्रिया अघि बढाएको उनले बताए । प्रकाशकी आमा राधादेबीले बैंकमा १० लाख रुपैँया जम्मा गर्न लगाएर अहिले आएर अर्कैलाई जग्गा बेच्न खोजिएको बताइन् ।
‘मेरो जग्गा कसरी बैंकमा पुग्यो, कसले किन राख्यो, त्यहीं जग्गा फिर्ताका लागि भनि रहेका छौ’ उनले भनिन्,‘अहिले आएर उसैको हुन्छ, मेरो जग्गा अरु कसको कसरी हुन्छ ?’
कामी परिवारले मालपोत कार्यालयमा जालसाची र किर्ते कागजात बनाएर आफूहरुको जग्गा नामसारी गरिएको दावी गरेका छन् । जग्गा दृष्टि बन्धन राखेर विष्टले जग्गा आफ्नो नाममा नामसारी गरी १८ लाखमा गिरीलाई बिक्री गरेका थिए ।
अहिले जग्गाको चलनचल्ती मूल्य डेढ करोड बढी छ । कामी परिवारले यो जग्गा २०२२ सालदेखि भोगचलन गर्दै आएका छन् ।
गिरीलाई बेच्न अघि विष्टले कामी परिवारलाई जग्गा फिता गर्ने कागज बनाएका थिए । विष्टले कागज बनाएपछि गिरीलाई जग्गा बिक्री गरेका थिए ।
गिरीले किनेपछि तत्कालिन एनसीसी बैंक (कुमारी) बैंकको अत्तरिया शाखामा जग्गा धितो राखेर ऋण लिएका थिए ।
महेन्द्रनगरमा अल स्पोर्टस हाउस सञ्चालन गरेका गिरीलाई बैंकको अत्तरिया शाखाले जग्गाधनी पूर्जाका आधारमा ऋण दिएको थियो । गिरीले ऋण तिर्न छाडेपछि मात्रै बैंक जग्गा खोजी गर्दै गोबरैया पुगेको थियो ।
ंबंैकको अत्तरिया शाखा प्रबन्धक किसन पाल र केन्द्रीय कार्यालयमा रिकभरी अफिसर भुवन पाण्डेयले आर्थिक चलेखल गरी जग्गा लिलाम गर्न खोजेको उनीहरु बताउँछन्. ।
बैंकले कामी परिवारलाई रकम जम्मा गरे जग्गा फिर्ता गर्ने आश्वासन दिएपछि ५६ लाखको चेक बोकेर कामी परिवार बैंक कार्यालय पुगेका थिए । बैंक कर्मचारीले माथिको निर्देशन भन्दै चेक जम्मा गर्न नमानेर फिर्ता गरि दिएको थियो ।
बैंकका शाखा प्रबन्धक खडक सिह मडैले दुई पक्षबीच सहमति हुन नसकेपछि बैंकले कानुनी प्रक्रिया अनुसार जग्गा नामसारी प्रक्रिया अघि बढाएको बताए ।
‘वहाँहरुको सहमति भएन, सिडिओ कार्यालयमा पनि बसियो, मेयर सापसित पनि बसियो, सहमति भएन, त्यसपछि बंैकले कानुनी प्रक्रिया जाने कुरा भन्यो, अहिले त्यसै अनुसार अघि बढेका छौ’ उनले भने ।
